बाह्रबिसे बजारमा भोटेकोशी पस्ने खतरा, नदी करिडोरका वासिन्दा त्रसित

बाह्रबिसे– अविरल वर्षाका कारण भोटेकोशीको बहाव तीब्र गतिमा बढ्दै गएपछि बाह्रबिसेको पुरानो बजारमा बाढी पस्ने खतरा बढेको छ । स्थानीय प्रशासनले बाढीबाट बच्न घरको सामान सार्न र सुरक्षित स्थानमा जान आव्हान गरेको छ ।
बाह्रविसेको पुरानो बजारवासीले घरको सामान अन्यत्र सार्न थालेका छन् । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार स्थानीयलाई सुरक्षित रहन भनिएको छ । बाह्रबिसेको खोर्सानीबारीस्थित प्रहरी चौकी भन्दा करिव ३ सय मिटर तातोपानीतर्फको सडक कटान गर्दै भोटेकोशीको बाढी बढी रहेकाले थप खतरा रहेको स्थानीयको भनाइ छ ।
लामोसाँघु बजारको पश्चिम भेगका वासिन्दाले घर छाडेका छन् । सुनकोशीले तल्लोभागबाट कटान गर्न थालेपछि उनीहरुले घरको सामान सारेका छन् । लामोसाँघुको सेतीदेवी शारदा उच्चा मावि र सुनकोसी क्याम्पसको हातामा सुनकोशी पस्ने खतरा बढेको छ । बसन्तचौरमा नदी पस्न खोजेपछि त्यहाँको विद्यालय र क्याम्पसको संरचनामा क्षति पुग्ने अवस्था रहेको स्थानीयले जानकारी दिए । बलेफि स्थित कफेश्व महादेवलाई ब्रम्हायणी(जलविरे) र सुनकोशी नदीको बाढीले छोपेको छ । जलविरे भेगमा पनि नदीको बहाव बढ्दै गएकाले किनारका वासिन्दा त्रसित भएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस