Techie IT
Tuesday, October 20,2020 / मंगलबार, कात्तिक ४, २०७७
×
गृहपृष्ठसमाचार६ घाइतेका लागि ६ उडान, राजनीतिक प्रभाव देखाउन नेताहरुको हेलिकोप्टर प्रतिस्पर्धा

६ घाइतेका लागि ६ उडान, राजनीतिक प्रभाव देखाउन नेताहरुको हेलिकोप्टर प्रतिस्पर्धा


बाह्रबिसे । अरनिको राजमार्गको जम्बु र बुलकोटे खोलाको पहिरोका घाइते राजधानी लैजान नेताहरुको हेलिकोप्टर प्रतिस्पर्धा चलेको छ । घटनास्थलबाट ६ जना घाइतेको उद्धार गर्न सभामुख अग्नीप्रसाद सापकोटा सवार सेनाको हेलिकोप्टरसहित ५ पटक उडान गरिएको छ । उद्धार गरिएका घाइते ७ दिने बालिकासहित ६ जानको राजधानीको मण्डिखाटारस्थित हेम्स अस्पतालमा उपचार भइरहेको छ ।

उद्धारमा समन्वयको अभाव र राजनीतिक प्रभाव देखाउन आफैं उपस्थित हुनुपर्ने नेताहरुको सोचाइले हेलिकोप्टरमा अनावश्यक खर्च भएको छ । बुल्कोटे खेलाको पहिरोबाट घाइते भएकाको उद्धार भने हेलिकोप्टरविना सम्भव थिएन । सभामुख, प्रदेशका मन्त्री, प्रतिपक्ष दलका नेताहरु, गाउँपालिका अध्यक्ष एवं जिल्ला तहका नेताहरु हेलिकोप्टरमा सवार भएर घटनास्थल आए । सभामुख सापकोटा नेपाली सेनाको हेलिकोप्टरमा आए । घटनास्थल सापकोटाको निर्वाचन क्षेत्र हो । वागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, वन, उद्योग, पर्यटन एवं वातावरणमन्त्री अरुण नेपाल, सामाजिक विकास मन्त्री युवराज दुलाल, कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेल, नेकपा केन्द्रीय सदस्य माधव सापकोटा, नेकपा जिल्ला नेता झम्क नेपाल, कांग्रेस जिल्ला नेता विष्णुबहादुर खत्रीले हेलिकोप्टर लिएर घटनास्थल आए ।

घटनास्थल पूर्वमन्त्री बस्नेतको आफ्नो नगरपालिका र निर्वाचन क्षेत्र हो । अरुण सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित भएका हुन् । खत्री सोही क्षेत्रका कांग्रेसबाट प्रदेश सभा सदस्य उम्मेदवार हुन् । पूर्वमन्त्री बस्नेतले एक जना, नेता खत्रीले एक जना, केन्द्रीय सदस्य माधवले एक जना तथा अध्यक्ष पौडेलले तीन जना घाइतेको उद्धार गरेका छन् । पौडेलले भोटेकोशी–५ बाट उद्धार गरेको ७ दिनकी बालिका, सुत्केरी र वृद्ध छन् ।

प्रदेशमन्त्रीहरुको टिमलाई हेलिकोप्टरले हेटौंडाबाट ल्याएको हो । निजी कम्पनीको हेलिकोप्टरले प्रतिघण्टा एक लाखसम्म भाडा लिने गरेको छ । प्रदेशमन्त्रीले चढ्ने हेलिकोप्टरको भाडा प्रदेश सरकारले व्यहोर्नेछ । सभामुख चढेको हेलिकोप्टर भाडा पनि सेनाले सरकारसँग लिनेछ । सेनाले गृहमन्त्रालयको अनुरोधमा हेलिकोप्टर पठाउने गर्छ । भाडा पनि गृहले तिर्नुपर्छ । निजी खर्चमा ल्याएइका हेलिकोप्टर भाडा भने व्यक्तिले तिर्नुपर्नेछ । त्यसवापतको रकम पनि लाखौं रुपैंयाँ हुनेछ । घाइतेको उद्धार र उपचारको जिम्मेवारी सरकारको हो । नेताहरुले राहत र उद्धारका लागि सरकारी संयन्त्रको परिचालन गर्नुपर्ने दायित्व रहन्छ । राहत र उद्धारको जिम्मेवारी लिएर बसेको गृहमन्त्रालयले सेनाको एउटै हेलिकोप्टरबाट सवै घाइते लैजान सक्थ्यो ।

सिन्धुपाल्चोकका सुनकोशीका राजेन्द्र प्याकुरेल सामाजिक सञ्जालमा जिज्ञासा राख्दै लेख्छन् ,‘जम्बुमा गएको पहिरोमा विज्ञ र तालिम प्राप्त जनशक्ति गएकी गएनन् ।’ उनले लेखेका छन्,‘निजी क्षेत्रको हेलिकोप्टरको खर्च कुनै सरकारले तिर्छ की तिर्दैन ।’ सेनाको हेलिकोप्टरले सवै घाइतेलाई राजधानी लगेको भए नेता नै पिच्छे हेलिकोप्टर नचाहिने धारणा उनको छ । ‘सरकारले महंगा अस्पतालको बील तिर्छ की तिर्दैन रु’ उनले थप प्रश्न गरेका छन् ।

उनी मात्र होइन सामाजिक सञ्जालमा लेखिएका विषयलाई विकृति विरुद्धको सन्देशको रुपमा लिन सकिन्छ । स्थानीय प्रतिक्रिया दिन्छन्, ‘नेता भएपछि यस्ता घटनामा हेलिकोप्टर लिएर घटनास्थल जार्नैपर्ने परम्परा नै बसिसकेको छ ।’ मौसम प्रतिकुल भएकाले नेताहरु घटनास्थल पुग्दा मध्यान्ह भैसकेकाले घाइतेलाई त्यतिबेला काठमाडौं र बाह्रबिसे ल्याएर उपचार गर्न सकिने समय त्यतिकै बित्यो,’ स्थानीयको भनाई छ । हेलिकोप्टरमा लैजाने भन्दै घाइतेलाई उपचारै नगरी कुराएर राखिएको थियो । ‘कुनै सिकिस्त बिरामी थिए भने हेलिकोप्टर कुर्दाकुर्दै मृत्यु भइसक्थ्यो,’ प्रत्यक्षदर्शीले प्रतिक्रिया दिए ।

वागमती प्रदेससभा सदस्य रमेश पौडेल तर्क गर्छन्, ‘राजनीतिलाई विस्तारै सर्वसाधारणको पहुँचबाट टाढा लैजाने प्रयत्नको एउटा सानो घटना हो यो ।’ उनले भने, ‘पैसा र पहुँच नहुनेले राजनीतिक गर्नुुहुँदैन भन्ने सन्देश दिन खोजिएको देखिन्छ ।’ यस्ता घटनामा ‘सिष्टम’ले काम हुने परिस्थिति कहिल्यै नबनेको धारणा उनले राखे ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस