शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाचारभोटेकोशी बाढी वितण्डा, मानवीय र भौतिक क्षति कहाँ कति ?

भोटेकोशी बाढी वितण्डा, मानवीय र भौतिक क्षति कहाँ कति ?


चौतारा । बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा भोटेकोशीले मच्चाएको वितण्डाका कारण ठूलो जनधनको क्षति भएको छ । भोटेकोशीमा पानीको अत्यधिक वहाब हुँदा नदी आसपासका बासिन्दा त्रसित छन् । पछिल्लो विवरण अनुसार याल्मो खोला र बुल्कोट खोलामा माथिबाट आएको पहिरोसहितको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा जम्बुका २० वर्षीय निकेश लामा र उनका तीन वर्षीय छोरी रहेका छन् ।

बेपता हुनेहरुमा भोटेकोशी गाउँपालिका–४, बुल्कोटका ६२ वर्षीय निमादोर्जे तामाङ, ११ वर्षका पासाङनोर्वु तामाङ, २७ वर्षकी मञ्जु तामाङ र सात वर्षकी शाहिल तामाङ रहेका छन् । त्यस्तै बेपता हुनेमा बाह्रबिसे नगरपालिका–५, जम्बुको बाढिमा बेपत्ता भएकाहरुमा भिमबहादुर वाइबा – ७२ वर्ष, चिनीमाया वाइबा –७० वर्ष, लिलामाया वाइबा– २९ वर्ष, पासाङडोल्मा वाइबा – ८ वर्ष, निमाडोल्मा वाइबा– २ वर्ष, लक्ष्मण वाइबा – २५ वर्ष, सुनमाला वाइबा – १३ वर्ष, जनकबहादुर थिङ – ५५ वर्ष, सविना तामाङ – २८ वर्ष, आकाश तामाङ – ४ वर्ष, हिमेश शर्मा – ३५ वर्ष (मध्यभोटेकोशी आयोजनाका कर्मचारी),आकाश केसी (दाङ) – २४ वर्ष– (जाइका परियोजनाका इन्जिनियर), तोकबहादुर तामाङ– ५७ वर्ष, सलिना तामाङ – २२ वर्ष, सुवेश तामाङ – २५ वर्ष, युक्तबहादुर तामाङ–५५ वर्ष, माइली तामाङ, नाम र उमेर नखुलेका चिनिया नागरिक एक जना छन् ।

दुवै घटनामा पाँचजना घाइते भएका छन् । भोटेकोशी गाउँपालिका ५ का फूर्वा तामाङ र उनकी १० दिनकी छोरी घाइते भएका छन् । उनीहरु दुवैलाई भोटेकोशी गाउँपालिकाले उद्धार गरी उपचारका लागि काठमाडौं ल्याएको छ । बाह्रबिसे ५ का माधवकृष्ण बस्नेत, सुवेश तामाङ, सविता बस्नेत तामाङ (मृतकका श्रीमती) र मिङ्मा तामाङ घाइते भएका छन् ।

गम्भीर घाइते भएका सुवेश र सवितालाई उपचारको लागि हेलिकप्टरबाट राजधानीको ह्याम्स अस्पताल लगिएको छ । अरु दुईको अवस्था सामान्य रहेको छ । घाइतेको उद्धार गर्न सभामुख अग्नि सापकोटा, पूर्वमन्त्री मोहन बहादुर बस्नेत, नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा, कांग्रेस नेता विष्णु खत्री र भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेल हेलिकप्टर लिएर आइपुगेका थिए । सोही हेलिकप्टरमा घाइतेलाई अस्पताल लगिएको हो । बाढी र पहिरोमा परी तीन गाउँका कच्ची र पक्की गरी ३३ घर बगाएको छ ।

सवारी साधनमा पनि क्षति 

बाह्रविसे–३ कै खागदलमा बाढीले ठूलो भौतिक क्षति पु¥याएको छ। कच्ची र पक्की गरेर ११ वटा घर बगाएको प्रहरीले जनाएको छ। केही घर बगेका छन् भने केही घरमा लेदो माटो भरिएको छ। बाढीले अरनिको राजमार्ग जोड्ने खागदल खोलाको पक्की पुल बगाएको छ । त्यस्तै राजमार्गमा रोकिराखेका एक एक बस, ट्रक, स्कार्पियो र ट्याङ्कर र एक ग्यारेज पनि बगाएको छ।

सडक अवरोध र क्षति

बाह्रबिसे ३ खुर्सानीबारीमा सडक बाढीले कटान गरेको छ । खागदल खोलाले पक्की पुल बगाउँदा आवतजावत ठप्प छ । त्यस्तै जुरेनजिक भोटेकोशीले सय मिटर सडक कटान गरेको छ । झ्यालेखोलाले ३० मिटर बाटो कटान गरेको, चाकु बजार माथिबाट पहिरो आई ३० मिटर बाटो थुनिएको, डाक्लाङमा लाकखोलाले १५ मिटर बाटो कटान गरेको, तीन किलो लिष्टीमा १० मिटर पहिरोले ढुंगामाटो थुप्रिएको गरी धेरै ठाउँका सडकमा कतै कटान, कतै पहिरो र कतै पुल भत्किदा एक ठाउँबाट अर्को ठाउँ जाने सम्र्पक टुटेको छ ।
मध्यभोटेकोसी जलविद्युत आयोजनामा क्षति

जम्बुमा आएको बाढीले निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोसी जलविद्युत आयोजनामा व्यापक क्षति पुर्‍याएको छ । आयोजना प्रमुख सुनिल लामाले बाढीले आयोजनालाई अर्बौँको क्षति पुर्‍याएको बताए । ‘बाढीस्थलमा पुग्न सकेका छैनौँ । तर आयोजनामा व्यापक क्षति पुगेको जानकारी पाएका छौँ,’ उनले भने । उनका अनुसार आयोजनाको पावर हाउसमा लेदो भरिएको छ । जम्बुमा रहेका ६ गोदाम पुरिएका छन् । गोदाममा हाइड्रोमेकानिकलका सामाग्री थिए ।

साना दुई गोदाम पूरै बगाएको प्रमुख लामाले बताए । ‘अरु सबै पुरिएका छन् । छाना मात्र देख्न सकिन्छ,’ उनले भने । गोदाममा पावर हाउसमा रहने टर्वाइन्, जेनेरेटर लगायत मेशिनरी उपकरणका सामाग्री रहेको उनले जनाए । उनका अनुसार ती सामाग्री केही पुरिएका र केही बाढीसँगै भोटेकोसीमा बगेका छन् । ‘गोदाममा पावर हाउसमा रहने उपकरणका ९० प्रतिशत सामान थिए,’ प्रमुख लामाले भने । चिनियाँ कम्पनी ग्वाङ्सी हाइड्रोले हाइड्रोमेकानिकलको काम गरिरहेको थियो । क्षतिको एकिन बिवरण आउन अझै केही दिन लाग्ने आयोजनाले जनाएको छ ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!