सिन्धुपाल्चोकमा कैदी बन्दीसहित दुईमा कोरोना संक्रमण, संक्रमितको संख्या ३२ पुग्यो

चौतारा । सिन्धुपाल्चोकमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला कारागार कार्यालयमा बन्दी रहेका चौतारा साँगाचोकगढी-१० का ७२ वर्षीय एक पुरुष र इन्द्रावती गाउँपालिका-१ की २४ वर्षीय एक महिलामा संक्रमण पुष्टि भएको हो ।
कारागारमा रहेका पुरुषको असार १४ गते स्वाब संकलन गरि परीक्षणका लागि पठाइएको थियो । आज आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत चापागाईले जानकारी दिए । उनी जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका व्यक्ति भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी माधव प्रसाद काफ्लेले बताए । उनी २०७६ फागुन १८ गते पूर्पक्षका लागि थुनामा परेका थिए ।
कैदीबन्दीको कानमा एजेरु देखिएको र काठमाडौंको कारगारमा पठाउने तयारी भएको थियो । काठमाडौंबाट पीसीआर परीक्षणको रिपोर्ट नभएसम्म कैदीबन्दी नलिने बताएपछि उनको परीक्षण गरिएको डीएसपी काफ्लेले बताए । परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो । कारागारमा अहिले १ सय २२ जना कैदीबन्दी छन् ।
इन्द्रावतीकी युवती भने कुवेतबाट आएकी हुन् । उनी असार ६ गते चौतरा पुगेकी थिइन् । उनलाई सोही दिन बाहुनेपाटीको जाल्पा माविको क्वारेन्टाइनमा राखिएको थियो । असार १२ गते स्वाब संकलन गरि परीक्षणका लागि पठाइएकोमा आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको हो । योसँगै सिन्धुपाल्चोकमा संक्रमितको संख्या ३२ पुगेको छ ।
चार जना संक्रमित निको भएर घर फर्किसकेका छन् । भने बाँकी संक्रमितको मेलम्ची र काठमाडौंको आइसोलेसनमा उपचार भइरहेको छ । एक संक्रमितको मृत्यु भएको छ ।
जिल्ला प्रशासनले जारी गरेको पछिल्लो तथ्याकं अनुसार अहिलेसम्म जिल्लामा ७ सय ४९ को स्वाब संकलन गरिएको छ भने ६ सय २३ को स्वाब परीक्षण गरिएको छ । जिल्लाका क्वारेन्टाइनमा हाल २ सय ६४ जना छन् भने आइसोलेसनमा २३ जना रहेका छन् । कोरोना संक्रमणको आशंका लागेकालाई राख्न जिल्लमा ८ सय ८८ वटा क्वारेन्टाइन बेड तयारी अवस्थामा राखिएको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य/शिक्षा
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस