शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाचारयस्तो छ सिन्धुका स्थानीय तहको आउँदो कार्यक्रम

यस्तो छ सिन्धुका स्थानीय तहको आउँदो कार्यक्रम


चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाले आगामी आर्थिक वर्षको लागि १ अर्ब ५ करोड २३ लाख ८९ हजारको बजेट प्रस्तुत गरेको छ । नगरले आज आयोजना गरेको ८ औं नगरसभामा उक्त बजेट प्रस्तुत गरेको हो । बजेटमा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा दिईएको छ । २ करोड ६० लाख स्वास्थ्य क्षेत्रमा विनियोजन गरिएको छ । कृषि क्षेत्रमा २ करोड ५० लाख, नगर गौरवको योेजनामा २ करोड, शिक्षामा १ करोड ८० लाख, लक्षित वर्गको लागि १ करोड ५० लाख, पशु विकासका लागि १ करोड, रोजगारमा १ करोड विनियोजन गरिएको छ ।

त्यस्तै बजेटमा प्रत्येक वडाको लागि ७५ लाखको दरले बजेट विनियोजन गरिएको छ । नगरपालिका भित्र १४ वटा वडा रहेका छन् । युवा तथा खेलकुद, खानेपानी, युवा तथा खेलकुद, पर्यटन, लघु उद्यम, सडक, सहकारी, न्यायिक समितिमा समेत उल्लेख्य बजेट विनियोजन गरिएको छ ।

सभामा बजेट प्रस्तुत गर्दै नगर उपप्रमुख जानुका पराजुलीले कोभिड– १९ का कारण नगरबासीमा पर्न गएको असरलाई ध्यानमा राख्दै बजेट विनियोजन गरिएको बताईन् । ‘हामीले आगामी आर्थिक वर्षमा नगरबासीलाई मालपोत करमा पूर्ण छुट प्रदान गरेका छौं’, पराजुलीले भनिन् ‘नगरबासीको भावनालाई सम्बोधन गर्दै यो बजेट ल्याएका हौं ।’ बजेट अभावका कारण आगामी आ।ब।मा वडास्तरीय योजनाको लागि भने बजेट घट्न पुगेको छ ।

आ।ब। २०७७र०७८ को लागि नगरले १६ वटा नीति अख्तियारी गरेको भन्दै नगर प्रमुख अमानसिं तामाङले सो नीति भित्र रही आफूलाई सहज हुने गरी काम गर्न नगरबासीलाई आग्रह गरे । उनले नागरिकको आवश्यकतालाई मध्यनजर गर्दै स्वास्थ्य, कृषि, रोजगार, पर्यटन, विकास, सञ्चार लगायतका नीतिहरु ल्याईएको बताए ।

सभामा आर्थिक वर्ष २०७६÷७७ मा हाँसिल गरेको उपलब्धीको समिक्षा समेत गरिएको थियो । जेठ मसान्तसम्म नगरले नदीजन्य पदार्थबाट १८ करोड ६४ लाख २० हजार राजश्व संकलन गरेको जनाएको छ । त्यस्तै अन्य राजश्व वापत ५४ लाख ८८ हजार ७ सय ५४ रुपैंया संकलनन भएको सभामा जनाईएको छ । त्यस्तै ८ सय ४६ व्यवसायीलाई करको दायरामा ल्याईएको, ३ हजार २ सय ६२ मिटर सडक कालोपत्रे गरिएको, ५ सय २० जनालाई वेरोजगार परिचयपत्र प्रदान गरिएको जनाईएको छ ।

हेलम्बु गाउँपालिकाले गत वर्षदेखि दिँदै आएको एकल पुरुष भत्तामा शतप्रतिशत वृद्धि गरी एक हजार बनाएको छ । अन्य समुदायका ६० वर्ष र दलित समुदायका ५० वर्ष नाघेका एकल पुरुषका लागि भत्ता उपलब्ध गराउँदै आएको छ ।

यसअघि कक्षा ५ सम्मका विद्यार्थीका लागि खाजा कार्यक्रम सञ्चालन हुँदै आएकामा आगामी आर्थिक वर्षबाट कक्षा १० सम्मका विद्यार्थी तथा शिक्षकहरुका लागि समेत खाजाको व्यवस्था गरिने बुधबार अध्यक्ष निमाग्याल्जेन शेर्पाद्वारा सार्वजनिक नीति तथा कार्यक्रममा उल्लेख छ ।

चर्चित हेलम्बु हिमालय ग्रेट ट्रेल निर्माण कार्यलाई पनि गाउँपालिकाले प्राथमिकतामा राखेको छ । बुद्धपार्क– सेर्माथाङ– ज्योमथाङ– आमायाङ्ग्री– ढुक्पु्– भेमथाङ– पासाङसिरी– गुफुपोखरी– जलंसा– दवालाङगुफा– सेमिसिदाङ– भेयस्री– सोली– ठाडेपाटी– पाकेडाँडा– घोप्टेघ्याङसम्म हेलम्बु हिमालयन पदमागनिर्माण कार्य गत आ।व २०७५/०७६ मा वडा नं ६ घोप्टेघ्याङबाट १०५ मिटर निर्माण सम्पन्न भइसकेको र चालु आ.व २०७६/०७७ मा वडा नं २ शेर्माथानबाट १०० मिटर, प्रदेश सरकार र वडा नं ३ बुद्धपार्कबाट १०० मिटर गाउँपालिकाबाट निर्माण अवस्थामा रहेकामा त्यसलाई निरन्तरता दिदै लगिने उल्लेख छ ।

छिमेकि गाउँपालिका, देशै भरि रहेका स्थानीय तहहरु, पर्यटन व्यवसायी, उद्योग वाणिज्य संघ, राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा रहेका हेलम्बुवासी तथा अन्य सम्पूर्ण नेपालीहरुलाई पनि सो गौरवको आयोजनामा लगानीका लागि हात बढाउन आह्वान गरिएको छ ।

कृषकहरुका लागि रासायनिक मलमा अनुदान, सुत्केरी पोषण भत्ताजस्ता विगतका लोकप्रिय कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ । साना किसानहरुले कृषि, पशु तथा पर्यटन व्यवसायका लागि हेलम्बु गाउँपालिकाभित्रका बैँकबाट लिएको ऋण कोभिड १९ को कारणले व्याज तिर्न नसकेका कृषकहरुका लागि ३ महिनाको व्याज गाउँपालिकाले तिरिदिनको व्यवस्था पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

आर्थिक बर्ष ०७७÷०७८ का लागी झण्डै ४४ करोडको बजेट पारीत गर्दै बलेफी गाउँपालिकाको सातौं गाउँसभा सम्पन्न भएको छ । बुधबार गउँसभामा प्रस्तुत संघीय सरकार, प्रदेश सरकार र आन्तरिक श्रोतबाट गरि ४३ करोड ४६ लाख ९१ हजारको बजेट सर्वसम्मतले पारीत गरेको हो ।

कोरोना कहरकाबीच ल्याइएको बजेट स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार विकास र सामाजिक विकासमा केन्द्रित रहेको छ ।

कोरोना र लकडाउनको मारमा परेका नागरिकका समस्यालाई मध्यनजर गर्दै बलेफीले करको दर घटाएको छ । सम्पती तथा व्यवसाय करमा ५० प्रतिशत घटाईएको छ । ‘व्यवसाय सबै डामाडोल छन्, लकडाउनको मारमा परिरहेका नागरिकको अवस्था मध्यनजर गर्दै व्यवसाय कर ५० प्रतिशतले घटाईएको छ’, गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले भने ।

कोरोना कहरकाबीच कृषकहरुलाई बिषादीरहित उत्पादनमा प्रोत्साहन गर्ने बलेफी गाउँपालिकाले नीति लिएको छ । बिषादीरहित तरकारी, फलफुल उत्पादन तथा पशुपालनमा किसानलाई प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

कृषि उत्पादनमा जोड दिँदै बलेफीले बाँझो जग्गा उपयोगको नीति लिएको छ । स साना र टुक्रे योजनामा बजेट खर्च हुने र काम नदेखिनेगरेको स्मरण गर्दै बलेफीले हरेक वडाका मुख्य सडक स्तरोन्नतीका लागी एकमुष्ट बजेट छुट्याएको छ । वडागत रुपमा ६४ लाख बजेट मध्ये सबै वडाले ५० लाख बजेट मुख्य सडक स्तरोन्नतीमै छुट्याएका छन् ।

गाउँपालिकाभित्रका सडक छेउमा वृक्षारोपण गर्दै बलेफीले ‘ग्रीन रोड’ को नीति पनि सार्वजनि गरेको छ । गाउँपालिका उपाध्यक्ष कमला कायस्थले प्रस्तुत गरेको नीति कार्यक्रममा ग्रीन रोड र ग्रीन सीटीको योजना उल्लेख छ । विकास योजनाका काम प्रभावकारी बनाउन बैशाखभित्रै काम सम्पन्न गर्ने नीति पनि गाउँसभाले पारीत गरेको छ । माघ मसान्तसम्म योजना सम्झौता र बैशाख मसान्तसम्म सम्पन्न गर्ने नीति पारीत भएको हो ।

ईन्द्रावति गाउँपालिकाले आगामि आर्थिक वर्षको लागि कुल ८३ करोड ५० लाख २ हजारको वजेट प्रस्ताव पेश गरेको छ । इन्द्रावती गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममा कृषिलाई विशेष जोड दिएको छ ।

आज अध्यक्ष वंशलाल तामाङद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा खाली रहेको जमिनलाई अधिकतम उपयोगमा ल्याउन भूमि बैकको स्थापना गरिने, व्यावसायिक कृषि उत्पादनमा जोड दिँदै उत्पादित वस्तुहरुको व्यवस्थापन तथा विक्री वितरणका लागि कृषि संकलन केन्द्र तथा ‘एक वडा एक हाट बजार, एक घर पाँच फलफूलका विरुवा, एक घर एक करेसाबारी’को नीति अवलम्बन गरिने साथै सार्वजनिक तथा निजी खाली जग्गामा पुष्पखेती र फलफूल खेतीलाई प्राथमिकता दिइने उल्लेख छ ।

डिजिटल मोबाइल माटो ल्याव स्थापना गरिने, रैथाने कृषि उत्पादन फापर, कोदो, मकै, सखरखण्ड आदिलाई प्रोत्साहन गरिने, इन्द्रावती कोरिडोरमा मास उत्पादनलाई विशेष जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । किसानलाई समयमा नै सुलभ, सहज र सहुलियतपूर्ण बीउबिजन उपलव्ध गराउनका लागि वडा नं. ७ मा प्रदेश सरकारसँगको साझेदारीमा ५०० मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण सम्पन्न गरी सञ्चालनको व्यवस्था मिलाइने जनाइएको छ ।

परम्परागत सीप र ज्ञानको प्रवद्र्धन गर्दै ढाका बुनाइ, गलैंचा बुनाइ उद्योग एवं गाउँघरमा सञ्चालनमा रहेका साना उद्योगहरुलाई प्रोत्साहित गरी पाँच सय युवालाई सीपमूलक तालिमको व्यवस्था गरिने, स्थानीय सहकारी नीतिलाई कार्यान्वयनमा ल्याई ‘एक टोल एक सहकारी, घर घरमा रोजगारी’ अभियानलाई प्रभावकारी बनाई दुई वर्षभित्र युवाहरुलाई स्वरोजगारको व्यवस्था गरिने, कोभिड १९ का कारण जनजीवनमा परेको आर्थिक, सामाजिक शैक्षिक असरलाई मध्यनजर गर्दै सबै खालको सेवा शुल्क, व्यवसाय कर न्यूनतम दरमा लगाइने, गत आर्थिक वर्षमै सुरुवात गरिएको आ.व वर्ष २०७६/०७७ भन्दा आगाडिको मालपोत कर पूर्ण रुपमा मिनाहा गरिएकामा यसै आर्थिक वर्षमा पनि मिनाहा गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै उत्कृट कर्मचारीका रुपमा पुरस्कृत गाउपालिका प्रमुख प्रशासकिय अधिकृत श्री कृष्ण पौडेलले पुरस्कार रकम २० हजार कोरोना कोषमा जम्मा प्रदान गरेका छन् ।

लिसंखुपाखर गाउँपालिकाले पनि आगामी आर्थिक वर्षको लागि ५१ करोड ५६ लाख ६३ हजार ८ सय १० बजेट ल्याएको छ । विशेषगरी बजेटले कोरोना रोकथाम तथा नियन्त्रण र कोरोना प्रभावित व्यक्तिलाई राहतमा जोड दिएको प्रमुख प्रशासकिय अधिकृत पुर्ण प्रसाद दुलालले जानकारी दिए । यस्तै कृषि उत्पादन, साविकका पुर्वाधारका योजना ,शिक्षा , स्वास्थ्य चौकि ब्यवस्थापनमा जोड दिएको छ ।

पालिका अध्यक्ष कमल नेपालका अनुसार बाझो जग्गा राख्न नपाईने , एक घर एक धारा, काठको पोलमुक्त बनाउने अभियानमा जोड दिनुका साथै पालिका भित्रका सडक १२ महिना नै चलाउन मिल्ने गरी जोड दिएको छ । अध्यक्ष उद्यमशील विकास कार्यक्रमको रुपमा पालिकाले नया कार्यक्रम समेत ल्याएको छ ।

बाह्रविसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका ,पाचपोखरी थाङपाल गाउँपालिका , भोटेकोशी गाउँपालिकाले तथा जुगल गाउँपालिकाले पनि आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट पस्तुत गरेको छ । जुगल गाउँपालिकाले ६० करोड १० लाख ३० हजार ४ सय ७० रुपैयाँको बजेट प्रस्तुत गरेको छ । कोरोनाको लागि २ करोड विनियोजन गरिएको छ भने बजेटले सडक, कृषि ,शिक्षा, रोजगारीलाई प्राथमिकता दिएको छ ।

यता सुनकोसी गाउँपालिकाले भने कर्मचारी अभाव देखाउदै निर्धारित समयमा कार्यक्रम प्रस्तुत गरेन । लेखा अधिकृत नभएको कारण कार्यक्रम गर्न नसकिएको बताउँदै गाउपालिका प्रमुख श्रवण जिसिले केहि दिनमा कार्यक्रम गर्ने जानकारी दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!