Techie IT
Tuesday, January 26,2021 / मंगलबार, माघ १३, २०७७
×
गृहपृष्ठराजनीतिबजेट विनियोजनमा एकलौटी नगर्न काँग्रेसको ध्यानाकर्षण

बजेट विनियोजनमा एकलौटी नगर्न काँग्रेसको ध्यानाकर्षण


चौतारा । नेपाली काँग्रेस त्रिपुरासुन्दरीले गाउँपालिकाको २०७७/७८ को निति तथा कार्यक्रममा दलगत स्वार्थ भन्दा माथि उठेर बजेट विनियोजन गर्न ध्यानाकर्षण गराएको छ । यसअघिका निति तथा कार्यक्रममा गाउँपालिका पार्टीबाट माथि उठ्न नसकेको आरोप लगाउँदै काँग्रेसले अब आउने निति तथा कार्यक्रममा सम्पुर्ण जनताको मनोभावना अनुसार बजेट ल्याउन ध्यानाकर्षण गराएको हो ।

त्रिपुरासुन्दरी गाउँपालिकाका नेपाली काँगे्रसका अध्यक्षका प्रत्यासी भक्तध्वज बोहोराको नेतृत्वको टोलीले गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठलाई आज २१ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै बजेटमा एकलौटी नगर्न ध्यानाकर्षण गराएका हुन् ।

काँग्रेसले योजना तर्जुमा, अनुगमन र भुक्तानी सिफारिसको कानुनी आधारलाई अक्षरस पालना गर्न, करार कर्मचारी नियुक्तिको निश्चित मापदण्ड बनाउन, गाउँपालिका भरका नागरिकको निशुल्क पिसीआर गर्न, गाउँपालिका भित्रका सडकहरु निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्न, स्वदेश तथा विदेशमा अलपत्र परेका नागरिकको तत्काल उद्धार गर्न ध्यानाकर्षण गराएको छ ।

साथै लकडाउनका कारण कामविहीन भई छाक टार्न मुश्किल परेकालाई राहत दिन, गाउँपालिकाभर तीनवटा एम्बुलेन्सको व्यवस्था गर्न, कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र महिला स्वयंसेविकाको सेवासुविधा थप गर्न, भोटेकोशी, सानिमा हाइड्रो, सेन्चुरी हाइड्रो, कालिञ्चोक केबलकार भोटेकोशी सुनकोशी गिट्टी लगायतबाट उठेको कर सार्वजनिक गर्न, स्वास्थ्य ल्यावको व्यवस्था गर्न पनि अध्यक्षको ध्यानाकर्षण गरिएको छ ।

पर्यटकीय स्थलको लागि बजेट व्यवस्थापन गर्न, किसान नै नभएकालाई कृषि अनुदान दिन बन्द गर्न र महिला बालबालिका र अपागंको आर्थिक सामाजिक सबलिकरणमा विशेष व्यवस्था आदि ल्याउन भनिएको छ ।

विगतका वर्षहरुमा गाउँपालिकाले विनियोजन गरेको बजेट हेर्दा जनप्रतिनिधिहरु वर्तमन संरचना व्यवस्थासँग अभ्यस्त नभएको र ऐन कानुन तर्जुमामा अलमल भएर जनअपेक्षा अनुसारका नीति तथा कार्यक्रम तर्जुमा गर्न नसकेको भन्ने लागेतापनि वर्तमानसम्म गाउँपालिका र त्यसको नेतृत्वको कार्यशैलीलाइ सुधार गर्नुको सट्टा झनै संकुचनतर्फ मोडिएको प्रतित भएको काँग्रेसको ठहर छ ।

गाउँपालिकाले टोलवस्तीमा विनियोजन गरेको बजेट कार्यन्वयनमा कानुनको खिल्ली उडाउँदै गरिएको कार्यशैली र बजेट विनियोजन पूर्व नै अध्यक्षलगायतबाट आफ्नो दलगत सदस्यता तेस्र्याउँदै बजेट विनियोजन गरिदिने प्रलोभनले गाउँसरकार पार्टीबाट माथि उठ्न नसकेको देखिएको पत्रमा भनिएको छ ।

गाउँपालिका अध्यक्ष स्थानीय सरकार भएको र यो आमजनताको साझा भएकाले पार्टीको बफादार मात्रै भएर काम गर्दा पदको गरिमालाई गिज्याएजस्तो भएको भन्दै तत्काल सुध्रिन काँग्रेसले गाउँपालिका प्रमुखलाई आग्रह गरेको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस