‘जनप्रतिनिधिले बाटो देखाउँछन्, विकासको सफलतामा जनताकै हात छ’(भिडियोसहित)
हेलम्बु । हिमाली भेगमा रहेको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको सवै बस्ती र गाउँमा यातायातको सुविधा छैन । ढुवानी, आउजाउ र कर्मचारीको उपलब्धतामा समस्या देखिएपनि पनि विकास कार्यक्रम र सामाजिक क्षेत्रको सुधारमा भने अग्रपंतीको स्थानीय तहमा दाँजिन थालेको छ, हेलम्बु ।
खासगरी संघीय र प्रदेश सरकारले सञ्चालन गरेको योजनाहरु बर्सेनि अलपत्र अवस्थामा रहने र पुँजीगत खर्चको गर्नै नसक्ने परिस्थितिमा यो गाउँपालिका भने यस्ता समस्याबाट मुक्त जस्तै छ । समग्र ६० र पुँजीगत र ८० प्रतिशत खर्च जेठमै भुक्तानी भइसकेको छ । लकडाउनका कारण कतिपय योजना शुरु नै नभएको मुलुकभरीको उदाहरणलाई यो गाउँपालिकाले भने चुनौती नै दिएको छ । जनप्रतिनिधि, स्थानीय र कर्मचारीको संयुक्त प्रयास हेलम्बुको विकासमा त्यतिकै उदाहरणीय छ ।
‘शिक्षक तलव, स्थानीय तहले पाउने सशर्त अनुदानसमेत खर्चमा देखाउनुपर्ने भएकाले समग्रमा थोरै देखिन्छ,’ गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले भने,‘पुँजीगत खर्च त सन्तोषजनक छ ।’ शेर्पाका अनुसार विकासका सवै काम सकिएको बताए । निर्वाचित भएर आएको वर्षदेखि नै हामीले योजना सञ्चालनमा केही नयाँ वाटो अंगालेको उनले बताए । ‘आर्थिक ऐनमा नै गाउँसभाले छुट्याएको रकम चैतमसान्तसम्ममा योजना नसकिए अर्कोमा रकमान्तर गर्ने उल्लेख गरेका छौं,’ अध्यक्ष शेर्पाले भने ।
आफू निर्वाचित भएर आउँदा साविक सवै गाविसको रकम जेठसम्म खर्च नभएको देखेपछि आर्थिक ऐन बनाएर कडाइ गरेको उनले बताए । भदौमै उपभोक्ता समिति गठन गर्ने गरेको उनले बताए । गाउँपालिकाको योजना गाउँसभाले पारित गर्छ । उनले आगाडी भने,‘वडालाई एकमुष्ट पैसा पठाउने गरिएको छैन ।’
योजना छानौट गर्दा आफूहरुलाई थाहै नभएको भन्ने गुनासो जनस्तरबाट आएकाले नीति तथा कार्यक्रम बनाउँदा सुझाव माग्ने गरेको उनले बताए । ‘धेरै चरणमा छलफल गरेर निर्णय हुन्छ । निरन्तर कार्यक्रम छ । एक वर्ष टेण्डर गरेर योजना सक्न ४–५ वर्ष लाग्ने गर्छ । तर हामी तोकिएको समयमै सक्छौं,’ शेर्पाले भने ।
गाउँपालिका, संघ र प्रदेशका सवैजसो योजना सकिँदैछः प्राविधिक नरबहादुर भण्डारी
जनप्रतिनिधि, जनता र कर्मचारीको संयुक्त प्रयासले विकासका योजना अघि बढाउन सहज भएको छ । क्रमागत योजनाबाहेक सवै पूरा हुने उनले बताए । प्रतिफल आफैंले लिने हो भन्ने सोचको विकास हुँदा कममा सहजता आउँछ । कर्मचारीले योजनामा आर्थिक चलखेल गर्ने अवस्था छैन । यसपाली लगानी गर्यो, अर्को वर्ष भत्केर जाने समस्या रहेको उनले बताए ।
उनले भने, ‘गे्रट टेल गत वर्ष १ सय १० मिटर निर्माण गरेका छौं । कोहीमान्छे कानुनमाथि हुँदैन । एक करोडसम्मका काम उपभोक्ता समितिमार्फत भइरहेका छन् ।’ वडा कार्यालय, मोडेल स्कुल निर्माणाधिन रहेको भन्दै उनले आगामी वर्षमा बस्तीस्तरबाट आएको योजना पारित हुने बताए । योजना सञ्चालन अघि ओरिन्टेशन गराउन गरेका छौं, उनले थपे । प्रत्येक वडामा प्राविधिक कर्मचारी छन् ।
कर्मचारीको काम सन्तोषजनकः भीमराज कोईराला प्रशासकीय अधिकारी
आर्थिक र प्रशासनिक व्यवस्थापनको नेतृत्व गरिरहेका गाउँपालिकाका प्रशासकीय अधिकृत भीमराज कोईराला अन्तिम समयमा पैसा सक्ने भन्दा पनि काम सक्ने परिपाटी बसालिएको बताउछन् । कामलाई निरन्तर रुपमा चासो लिएर काममा तिब्रता दिन खोजेको उनले बताए । जनप्रतिनिधि र कर्मचारीको संयुक्त प्रयासले नै विकास अघि बढ्न सक्ने धारणा उनको छ ।
इच्छाशक्ति भयो भने समयमा काम पूरा हुन्छ, उनले भने । हेलम्बुलगायत सवै स्थानीय तहमा काम सम्पन्न गर्न र पारदर्शिताका कुरामा स्थानीको चासो हुनुपर्ने उनले बताए । ‘योजनामा कति लागत लागेको छ ? उपभोक्ता समिति मात्र होइन स्थानीयले पनि चासो लिनुपर्छ,’ उनले भने । विकास र योजना कसरी सम्पन्न भयो खोजी गर्नुपर्छ, उनले भने । काम गर्न राजनीतिक दवाव नभएको भन्दै सवै दलका नेताहरुले काममा सहयोग गरेको बताए । स्थानीय राजनीतिक दलबाट सहयोग पाएको उनले बताए ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस