कोभिड–१९ संग जुध्ने कुनै पनि योजना बजेटमा नल्याउनु आश्चर्यजनकः प्रदेश सभा सदस्य लामा

चौतारा । प्रदेश सभा सदस्य निमा लामाले कोरोना महामारीको भयावह अवस्थामा सरकारी खर्च कटौती गर्ने राम्रो अवसर भएपनि बाग्मती प्रदेशले त्यो गुमाएको भन्दै सरकारको आलोचना गरेका छन् । प्रशासनिक खर्चमा लाखौ खर्च भइरहेको र सयौं अनावश्यक संरचना खारेज गरेर खर्च कटौती गर्न सक्ने सम्भावना रहेको भएतापनि त्यो ऐतिहाँसिक काम गर्न प्रदेश सरकार चुकेको उनले बताए ।
बाग्मती प्रदेश सरकार द्धारा पस्तुत आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमानको बजेट माथिको छलफलमा भाग लिदै उनले बजेट गत वर्षको कपी पेष्ट मात्रै भएको बताए । लामाले सरकारले कोभिड–१९ संग जुध्ने कुनै पनि योजना नल्याउनु आश्चर्यजनक भएको बताए । कोरोना महामारीको जटिल अवस्थामा रोग संक्रमण नियन्त्रणका लागि सरकार मौन रहेको र भौतिक संरचना निर्माणमा बढी केन्द्रित देखिएको उनको आरोप छ ।
अहिलेको विषम परिस्थितिमा कृषिमा जोड दिनुपर्ने भए पनि मानो रोप्ने बेला किसानले मलको अभाव बेहोर्नु पर्ने तर मल उत्पादन गर्ने कारखाना निर्माण गर्न सुझाव दिँदा पनि कार्यान्वयन हुन नसक्नु दुखद भएको उनले टिप्पणी गरे । कोरोना संक्रमणका कारण स्वदेशमै धेरैको रोजगार गुमेको भन्दै उनले विदेशबाट पनि जागिर गुमाएर आएका युवाको लागि रोजगार सृजना गर्ने ठोस कार्यक्रम बजेटमा नहुनुले सरकार बेरोजगार सृजना गरि देशमा भयावह अवस्था ल्याउन लागेको आरोप लगाए ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस