सिन्धुपाल्चोकका `एसइई` परीक्षार्थीहरुका लागि निबन्ध प्रतियोगिता हुने

चौतारा । एसइईको तयारी गरेर बसेका सिन्धुपाल्चोक विद्यार्थीहरुका लागि निबन्ध प्रतियोगिता हुने भएको छ । सिन्धुपाल्चोकका सबै विद्यालयका १० कक्षा उतीर्ण गरेका विद्यार्थीहरुले यस प्रतियोगितामा भाग लिन सक्नेछन् । हेलम्बु एजुकेशन एण्ड लिभ्लीहुड पार्टनरसीप (हेल्प) ले विधार्थीको सृजनशीलतालाई थप निखारता दिन निबन्ध प्रतियोगिताको आयोजना गरेको जनाएको छ ।
एसइई दिन सेन्टरमा पुग्दा एसइई नहुनु, सरकारले आन्तरिक परीक्षाबाटै एसइईको मुल्याकंन गरेर नतिजा निकाल्ने निर्णय गर्नु, कोरोनाले जनजीवन अस्तव्यस्त हुनु, शैक्षिक कार्यक्रम बन्द हुनु र लामो लकडाउन हुनुले विद्यार्थीका मनमा अनेक सवाल हुनसक्ने भन्दै उनीहरुको मनमा लागेका कुराहरुबारे मौलिक रुपमा आफ्ना भावना व्यक्त गर्न सकुन भन्ने हुेतुले निबन्ध प्रतियोगिताको आयोजना गरेको हेल्पका अध्यक्ष जिम्मी लामाले बताए ।
निबन्ध बन्दाबन्दीमा आफ्नो जीवन र अनुभव, एसइई पछिको आफ्नो योजना र बन्दाबन्दीको असर र यस बन्दाबन्दीको दौरानमा आफुमा पाएको परिवर्तन जस्ता विषयमा लेख्न सकिनेछ । निबन्ध ५ सय शब्दको हुनुपर्नेछ । निबन्ध अँग्रेजी र नेपाली दुवै भाषमा लेख्न सकिनेछ । पाँच सय शब्द भन्दा बढी भएमा र कतैबाट साभार गरेको पाइएमा सो निबन्ध स्वतः रद्द गरिनेछ । उत्कृष्ट पाँच निबन्धलाई जुम अन्तर्वातामा बोलाइनेछ । साथै निबन्ध प्रतियोगितामा सहभागी दुई जना उत्कृष्ट विजेताहरुलाई १० हजार सम्मको पुरस्कारको व्यवस्था गरिएको छ ।
निबन्ध २६ जुन (असार १२) सम्म पेश गरिसक्नुपर्नेछ । विजेताहरुको अन्तिम नतिजा प्रकाशित हुने दिन नेपाली सिनेमा जगतका महानायक राजेश हमालसँग सहभागीहरुले अनलाइन कुराकानी गर्नेछन् । साथै सहभागी उत्कृष्ट छात्रछात्रालाई ११, १२ अध्ययनका लागि छात्रवृत्तिको लागि प्राथमिकता राखिने हेल्पले जनाएको छ ।
प्रतियोगितामा सहभागी उत्कृष्ट पाँच निबन्ध विभिन्न पत्रपत्रिका र अनलाइनमा प्रकाशित गरिनेछ । थप जानकारीका लागि ९८१३७११७७२२ मा सम्पर्क गर्न सक्नेछन् । आवेदन पठाउन यो लिंक प्रयोग गर्न सकिनेछ । http://help.org.np/web/welcome/static_page/76
क्याटेगोरी : समाचार, समाज
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस