बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाचारकुवेतबाट आएका २३ जनालाई सिन्धुपाल्चोक ल्याउन सात वटा गाडी

कुवेतबाट आएका २३ जनालाई सिन्धुपाल्चोक ल्याउन सात वटा गाडी


चौतारा । बिहीबार कुवेतबाट काठमाडौं हुँदै जिल्ला आएका सिन्धुपाल्चोकका २३ जनालाई ल्याउन सातवटा गाडीको प्रयोग भएको छ । आठवटा स्थानीय तहका उनीहरुलाई लिन सातवटा गाडीको प्रयोग भएको हो । विदेशबाट आएकाको उद्धार कसले गर्ने भन्ने अन्योल भएपछि अबेर स्थानीय तहहरुले नै आफ्ना नागरिक ल्याउन गाडी पठाएका थिए । बिहीबार दिउँसो नै काठमाडौं आएका उनीहरु अबेर सम्म वाग्मती प्रदेशकोे होल्डिङ सेन्टरमा बसेका थिए । बिहीबार राति मात्रै उनीहरु जिल्ला आइपुगेका हुन् ।

शुक्रबार उनीहरु सबै आफ्ना स्थानीय तहले तोकेको क्वारेन्टाइनमा पुगेका छन् । हिजो आएका २३ मध्ये १० जना मेलम्चीको क्षेत्रीय क्वारेन्टाइनमा, तीन जना मेलचौरको क्वारेन्टाइनमा, दुई जना सुनकोशी गाउँपालिकाको दुई किलोमा रहेको क्षेत्रीय क्वारेन्टाइनमा र आठ जना जुगल गाउँपालिकाको रत्न राज्यलक्ष्मी माविको क्वारेन्टाइनमा रहेको डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

उनीहरुलाई विभिन्न स्थानीय तहका सात वटा गाडी र एम्बुलेन्समा जिल्ला ल्याएका थियो । उनीहरुलाई कसले जिल्ला ल्याउने भन्ने समन्वय अभावका कारण उनीहरुलाई लिन स्थानीय तह नै पिच्छे छुट्टाछुट्टै गाडी र एम्बुलेन्स पठाउन परेको थियो । विदेशबाट आएका व्यक्तिहरुको व्यवस्थापन गर्न केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहसम्म विभिन्न समिति तथा उपसमितिहरु बनेका छन् । तर पनि कसले विदेशबाट आएका व्यक्तिलाई उनीहरुको जिल्लासम्म पुर्याउने भन्ने अन्योलताले हिजो सिन्धुपाल्चोकका चेलीहरु जिल्ला आइपुग्न ढिला भएको हो ।

जिल्ला ल्याउने विषयमा प्रशासन र स्थानीय तहहरु नै दुविधामा देखिन्थे । प्रदेश सरकारले ट्राफिक महाशाखा र यातायात व्यवस्था विभागको समन्वयमा गाडी खोजेर जिल्लाका स्थानीय तहका क्वारेन्टाइनसम्म पुर्याउने कार्यविधिमा भएपनि प्रदेश सरकारको को सँग समन्वय गर्ने भन्ने अन्योलता स्थानीय तह र स्थानीय प्रशासनलाई भएको थियो । विदेशबाट आएका व्यक्तिहरुको व्यवस्थापन गर्न बनेको उपसमितिका सह-संयोजक तथा डीएसपी काफ्ले भन्छन्, ‘प्रदेश सरकारलाई जिम्मा दिएको छ तर प्रदेश सरकारको कसलाई कहाँ सम्पर्क गर्ने भन्ने बारे केही उल्लेख छैन्, न त प्रदेशबाट नै हामीलाई त्यस्तो जानकारी आएको छ ।’

अन्तिममा जिल्लाका सबै स्थानीय तहहरुले नै आफ्ना नागरिकको उद्धार गरेका थिए । स्रोतका अनुसार जिल्लामा विदेशबाट आउने व्यक्तिको व्यवस्थापन गर्न उपसमिति बनेपनि आर्थिक अभावका कारण त्यसले काम गर्न सकेको छैन् । स्थानीय तहहरुलाई समन्वय गर्दा हाम्रा मान्छे हामी आफै ल्याउँछौं भन्ने जवाफ आएपछि उपसमितिले स्थानीय तहलाइ नै बाहिरबाट आएका व्यक्ति लिन काठमाण्डौं नै जान भनेको थियो ।

हेलम्बु गाउँपालिका अध्यक्ष निमा लामा भने प्रदेश र संघीय सरकारको रवैयाप्रति आक्रोश पोख्छन् । ‘सबै स्थानीय तहले नै गर्नुपरेको छ अझ विदेशबाट आएका मानिस लिन पनि हामीलाई नै जा भन्छ उनले भने, भोलि एक जना मात्रै आएपनि लिन गाडी पठाउने त यसले झन खर्च मात्रै बढाउँछ ।’ जिल्लामा समन्वय गर्ने निकाय भए सबै स्थानीय तहका नागरिकलाई एकैचोटि जिल्ला ल्याउन सके आर्थिक बोझ कम हुने उनको जिकिर छ ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!