गाउँपालिका अध्यक्ष तामाङको व्यक्तिगत खर्चमा जनप्रतिनिधिको `कोरोना बिमा`

चौतारा । महामारीको जोखिम मोलेर काम गरिरहेका जनप्रतिनिधि र कर्मचारीको इन्द्रावती गाउँपालिकाले बिमा कम्पनीसँग सम्झौता गरेको छ । इन्द्रावती गाउँपालिकाभित्र रहेका ५७ जना जनप्रतिनिधि र ७२ जना कर्मचारीको बिमा कम्पनीसगँ कोरोना बिमा सम्झौता गरेको हो ।
गाउँपालिकामा रहेका ५७ जना जनप्रतिनिधिको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले व्यक्तिगत खर्चमा बिमा गरेका हुन् भने कर्मचारीको बिमा गाउँपालिकामा रहेको कोरोना कोषबाट गरिएको हो । आइएमई जनरल इन्स्युरेन्समा कर्मचारी र जनप्रतिनिधि गरि एक सय २९ जनाको एक लाख बराबरको एक वर्ष अवधिको बिमा गरेको अध्यक्ष वंशलाल तामाङले जानकारी दिए । वडा नम्बर १० का जनप्रतिनिधिको भने वडाध्यक्ष जीवन थापामगरले बिमा गरिसकेकाले बाँकी ५७ जना जनप्रतिनिधिको बिमा गरिएको हो ।
गाउँपालिका र बिमा कम्पनीबीच भएको सम्झौता अनुसार फिल्डमा खटिएर काम गर्ने क्रममा कुनै जनप्रतिनिधि र कर्मचारीलाई संक्रमण भएमा बिमा कम्पनीले एक लाख रुपैयाँ सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउने छ । त्यसका लागि संक्रमित व्यक्तिले अनिवार्य रुपमा पीसीआर परीक्षणमा पोजेटिभ देखिएको रिपोर्ट पेश गर्नुुपर्नेछ ।
कोरोना संक्रमण नियन्त्रण र रोकथाममा अग्रपंक्तिमा खटिएका जनप्रतिनिधि र कर्मचारीको मनोबल उच्च बनाइराख्न उनीहरुको बिमा गरेको अध्यक्ष तामाङले बताए ।
इन्द्रावती गाउँपालिकामा दुई जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु दुवै भारतबाट फर्केका हुन् ।
क्याटेगोरी : समाचार, स्वास्थ्य/शिक्षा
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस