हिजो नेगेटिभ, आज पोजेटिभ: घर जाँदै गरेका संक्रमितलाई बाटैबाट फर्काइयो

चौतारा । पाँचपोखरी थाथाङपालधाप गाउँपालिका ६ का कोरोना संक्रमित दुई पुरुषसहित १० जना गत जेठ ११ गते दोलखाबाट मेलम्ची आएका थिए । उनीहरु दोलखा गौरीशंकर गाउँपालिकामा रहेको खानेखोला हाइड्रोपावरमा काम गर्न गएका थिए । लामो लकडाउन भएपछि उनीहरु ११ गते १० जना मेलम्ची आए ।
विदेश तथा बाहिरी जिल्लाबाट आउनेलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने निती अनुरुप उनीहरुलाई मेलम्चीमा रहेको क्षेत्रीय क्वारेन्टाइनमा राखियो । २३ गते उनीहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरि टेकु प्रयोगशाला पठाएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । हिजो आएको रिपोर्टमा उनीहरु सबैमा कोरोना देखिएन । उनीहरुको पीसीआर नेगेटिभ आयो । सबैजनाको रिपोर्ट नेगेटिभ आएपछि आज उनीहरुलाई बिदाई गर्ने नगरपालिकाको योजना थियो ।
बिदाइ गर्न मेयर डम्बर अर्यालले आफै आउने बताएका थिए । तर अन्तिममा उनी आउन पाएनन् । ‘म आएपछि बिदाइ गरुला भनेर भनेको थिए मेयर अर्यालले भने, म जान ढिलो भएछ उहाँहरुको सवा तीन तिर बिदाइ गरिएछ ।’ उनीहरुलाई उपप्रमुख भगवती नेपालले खादा लगाएर बिदाइ गरेको मेयर अर्यालले बताए । उनीहरुलाई लिन पाँचपोखरी थाथाङपालधाप ६ का वडाध्यक्ष आफै आएका थिए ।
आफ्ना स्थानीय तहका नागरिकलाई लिन पाँचपोखरी गाउँपालिकाका अध्यक्ष टासी लामा आफै आउन चाहन्थे । तर उनको गाडीमा सबै अटाउने नदेखिएपछि वडा नम्बर ६ का वडाध्यक्ष मात्रै वडावासीलाई लिन आएका थिए ।’गाउँपालिका अध्यक्ष गाडी लिएर आउने कुरा थियो मेयर अर्यालले भने, सबैजना गाडीमा नअट्ने भएपछि अध्यक्ष नआई वडाध्यक्ष मात्रै आउनुभएछ ।’
लकडाउनका कारण गाडी नचल्ने र गाउँपालिकाले गाडीको व्यवस्था नगरेका कारण उनीहरु बिदाइ भएर हिड्दै गएका थिए । उनीहरु बिदाइ भएर हिडेको केही समयमा नै स्वास्थ्य मन्त्रालयले भन्यो सिन्धुपाल्चोकका दुई जना पुरुषमा कोरोना संक्रमण देखियो । पहिला त कहाँको को थपिए भन्नेमा स्थानीय प्रशासन, चौतारा अस्पताल अलमलिएको थियो । जनस्वास्थ्य कार्यलयका प्रमुख दुर्गादत चाँपागाइ, मेयर अर्याललगायतले स्वास्थ्य मन्त्रालयमा बुझ्दा हिजो नेगेटिभ भनेर पठाएको रिपोर्ट मध्येकै दुई जनाको कोरोना संक्रमण देखिएको जवाफ आयो ।
त्यसपछि बिदाइ गरिएका व्यक्तिहरुको खोजी गर्न प्रहरी सक्रिय भयो । उनीहरु मध्ये केहीको सम्पर्क नम्बर भएको र वडाध्यक्ष पनि सँगै भएकाले फोन सम्पर्क गर्दा उनीहरु तिपेनी पुगेको थाहा भयो डीएसपी माधव प्रसाद काफ्लेल भने । उनले त्यहाँका प्रहरीलाई उनीहरुलाई रोकिराख्न निर्देशन दिए । मेलम्चीबाट उनीहरुलाई लिन अहिले गाडी त्यसतर्फ गएको छ । उनीहरुलाई ल्याएर मेलम्चीकै आइसोलेसनमा राख्ने तयारी भएको डीएसपी काफ्लेले बताए ।
स्वास्थ्य मन्त्रालयको गलत सूचनाले घर गएकाहरु पनि फर्काइए । स्वास्थ्य मन्त्रालयले नै गलत जानकारी दिनु राम्रो नभएको मेयर अर्यालले बताए । हिजो एउटा रिपोर्ट आयो हामीले छाड्यौं आज भुल भयो भने अर्को रिपोर्ट आयो यो कस्तो गैरजिम्मेवारीपन हो ।
यसअघि मेलम्चीकै क्वारेन्टाइनमा बसेका दुई युवामा कोरोना संक्रमण भएको थियो । उनीहरुको काठमाडौंको टेकु अस्पताल र मेलम्ची नगरपालिकाको आइसोलेसनमा उपचार भइरहेको छ । उनीहरु दुवै इन्द्रावतीका हुन् । बाह्रबिसे नगरपालिकाकी संक्रमित महिलाको भने मृत्यु भइसकेको छ । सिन्धुपाल्चोकका तीन स्थानीय तहमा कोरोना संक्रमण देखिएको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य/शिक्षा
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस