मेलम्चीमा अलपत्र सञ्जीवको उद्धार होला ?

मेलम्ची । मेलम्चीमा दुई मजदुरसहित चारजना अलपत्र परेका छन् । सप्तरीबाट सेनालाई तरकारी तथा खसीबोकाको ठेक्कामा काम गर्न आएका दुई मजदुरसहित उनका परिवार अलपत्र परेका हुन् । सप्तरीबाट काम गर्न भनि सञ्जीव दास चैत्र पाँच गते मेलम्ची आएका थिए । नेपाली सेनाको माछा मासु र तरकारीको ठेक्का पाएका सप्तरीकै हरि कर्णले दासलाई काम गर्न मेलम्ची ल्याएका थिए ।
उनी मेलम्ची आएको पाँच दिनपछि नै लकडाउन सुरु भयो । लकडाउन केही दिनमा खुल्छ भनेर दास बसिरहे । तर आज भोलि खुल्ला खुल्ला भन्दै ७८ दिन बितिसकेको छ । दाससहित उनका साथीले चैत र वैशाखमा पसलहरुबाट उधारो खाए । ठेकदारले पनि तिमीहरु खाउ नआतिइ बस भनेपछि उनीहरुले पसलबाट उधारो खादैँ बसे । कर्ण सप्तरी राजविराजकै थिए । त्यसैले उनले उद्धार गर्लान् भन्ने आशामा थिए । अहिले ठेक्का अर्कैले पाइसकेको छ तर सञ्जीव मेलम्चीमै अड्किएका छन् ।
यता पसलबाट उधारो रासन बन्द भयो भने घरभाडा पनि तिर्न धेरै भइसकेको छ । दुइवटा कोठाको मासिक ६ हजारमा बस्दै आएका उनीहरुको घरभाडा नै २४ हजार पुगिसकेको छ । पसलेले रासन त दिनै छाडिसक्यो । रासन बन्द भएपछि खान पनि बन्द भयो । उनीहरुको कोठामा न खाने चामल छ न पकाउने ग्याँस नै । २० दिनसम्म उनीहरुले चिउरा र दालमोठ खाएर बसे ।
सानो सात वर्षको बच्चा बेला बेला खाना खान खोज्थ्यो । तर दासलगायत उनको साथीसँग केही उपाय थिएन । उनी सधै वडा कार्यालय धाउँथे । पहिलो चरणमा वडाले केही राहत दिएको थियो । तर त्यो सकिहाल्यो । अनि फेरि चिउरा दालमोठमै उनीहरु बाँचिरहे । केही समयपछि उनी फेरि वडा धाउन लागे वडाले १५ केजीजति चामल दियो ।
चामल र दाल त दियो तर के मा पकाउने । ग्याँस सकिएको धेरै भइसकेको थियो । केही तातो खान मन नलागेको हैन तर अभावको अगाडि केही चलेन । दासलाई मेलम्चीकै कुनै मानिसले मेलम्चीका स्थानीय सागर श्रेष्ठको नम्बर दिए । उनले फोन गरे र आफ्नो कुरा राखे । सागरले दासलाई ग्याँस उपलब्ध गराए । अहिले उनी दाल र भात खादैछन् ।
तर त्यो पनि केही दिनमा नै सकिने अवस्थामा छ । उता ठेकेदारलाई उनी दैनिक फोन गर्छन् । फोन गर्दागर्दै उनको मोबाइलको पैसा जिरो भएको छ । तर कहिले ठेकेदार फोन उठाउँदैनन् कहिले म आउँछु भन्छन् त कहिले पैसा पठाउँछु भन्छन् । तर उनको भरलाग्दो कुरा केही भएन । ७८ दिनसम्म कुनै अतोपतो छैन् । तीनवटा बच्चाको बुबा दास बच्चा बिमारी भएदेखि चिन्तित छन् । आफू यता थुनिए घरमा बच्चा बिमारी छ । रुन पनि सकेको छैन् कस्तोमा फसे ।
स्थानीय प्रशासनको सहयोगमा घर जान त सकिन्थ्यो घरभाडा र पसलमा तिर्नुपर्ने ७० हजार पुगिसकेको छ । त्यो पैसा नदिएसम्म यहाँबाट जान घरबेटी र पसलेले दिदैनन् । उनलाई कहिले घर पुगु भएको छ । तर तिर्नुपर्ने पैसाले उनलाई बाँधेर राखेको छ । दास भन्छन् रोगले मरिने भएपनि घरमै गएर मर्थे ।
उनको घरमा पनि राम्रो आर्थिक अवस्था छैन् । श्रीमती पटक पटक ठेकेदारको घरमा नगएकी हैनन् । तर उसले पैसा छैन भन्दै पठाउने गरेको छ । अहिले श्रीमती ७० हजार पैसा जम्मा गर्ने धुनमा लागेकी छिन् । उनले कहिले जम्मा गर्न सक्छिन् र सञ्जीवसहित उनका अन्य साथीको उद्धार होला ?
क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस