सिन्धुपाल्चोकमा लकडाउनमा १२ वर्षे बालकसहित १९ ले गरे आत्महत्या

सिन्धुपल्चोक । कोरोनाभाइरस(कोभिड–१९) को संक्रमण फैलिने भयले लकडाउन गरिएको अवधिमा जिल्लामा १२ वर्षे नाबालकसहित १९ जनाले आत्महत्या गरेका छन् । गत साउनदेखि फागुनसम्म अर्थात ८ महिनामा ६२ जनाले आत्महत्या गरेका थिए । तर लकडाउनमा विगतको तुलनामा आत्महत्या गर्नेको संख्या बढेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार पछिल्लो पटक गत २४ गते जुगल गाउँपालिका–५ का १२ वर्षे बालक ङेमा तामाङले नाम्लोको डोरीको पासो लगाएर आफ्नै घरमा आत्महत्या गरेका थिए । प्रहरी नायव उपरीक्षक (डिएसपी) माधव प्रसाद काफ्लेका अनुसार आर्थिक अवस्था, वैदेशिक रोजगार, दीर्घरोगी, डिप्रेसन, शारिरीक रुपमा अस्वस्थ, पारिवारिक कलह, भविष्यप्रतिको आशा नहुनु, लागूऔषधको प्रयोग, यौन दुव्र्यवहार, सामाजिक सञ्जालको दुरुपयोग जस्ता कारणले आत्महत्या हुने गरेका छन् ।
‘लकडाउनको समयमा भने दीर्घरोगी, लागू औषधको प्रयोग गर्ने, एकान्तपन, पारिवारिक कलह, मानसिक तनाव, सामाजिक सञ्जालको दुरुपयोग, खान लाउन नै समस्या भएका कारण मानिसहरुले आत्महत्या गरेको देखिन्छ’ डीएसपी काफ्लेले भने ।
यस अवधिमा जबरजस्ती करणीको ४ वटा घटना भएको छ । मेलम्चीका एक किशोरी बाबुबाट बलात्कृत भएकी छिन् । ४३ वर्षीय बाबुमाथि १८ वर्षीया छोरी बलात्कार गरेको आरोप लागेको छ । गत चैत ११ गतेदेखि हालसम्म ज्यान मार्ने उद्योगमा ४ वटा मुद्दा दर्ता भएको छ ।
हेलम्बुकी अस्मिता तामाङलाई उनकै पति रामबहादुर स्याङ्ताङ तामाङले किलोले हानेर हत्या गरेका थिए । डिएसपी काफ्लेका अनुसार हातहतियार तथा खरखजानामा ३ वटा मुद्धा दर्ता भएको छ । अभद्र ५, गौवध २, कालोबजारी २, बहुबिवाह २ वटा लगायत यस अवधिमा ६० वटा मुद्धा दर्ता भएको छ ।
क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस