Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठसमाचार‘गर वा मर’ को अवस्थामा लिस्ती सडकका कामदार

‘गर वा मर’ को अवस्थामा लिस्ती सडकका कामदार


सिन्धुपाल्चोक । संघीय सरकारले काम सकिएपनि लाखौं रकम भुक्तानीमा आलटाल गरेपछि भोटेकोशी गाउँपालिकाको लिस्ती सडक निर्माणमा संलग्न कामदार तथा व्यवसायी ‘गर वा मर’को अवस्थामा पुगेका छन् । रातदिन सडकमा पसिना बगाएको ज्याला नपाएपछि उनीहरु लामो समयदेखि अन्यौलमा छन् । व्याजमा ऋण लिएर सडक निर्माण पूरा गरेका व्यवसायी आफुहरु ‘गर या मर’ को अवस्थामा पुगेको बताउँछन् ।

काम गरेको रकमसमेत नपाएको र दैनिक ज्याला गरेर जीविका चलाउने आफूहरु पसिनाको मुल्यको खोजीमा रहेको स्थानीय अगुवा बताउँछन् । कामदार तथा स्थानीय निर्माण सामाग्री सप्लायर्सहरु सडक निर्माणको ठेकेदारले आफूहरुले पाउने रकम नदिएको बताउँछन् । सडकमा काम गरेका ६० भन्दा बढी मजदूरले रकम पाएका छैनन् ।

निर्माणमा संलग्न ठेकेदार कम्पनी महालक्ष्मी÷शुभकामना जेभीले भने जिल्ला पूर्वाधार कार्यालयले बीलको रकम भुक्तानी नदिएपछि आफू अप्ठेरोमा परेको जानकारी दिएको छ । कम्पनीले भुक्तानीका लागि करिव १ करोडको बीलभर्पाइ पूर्वाधार कार्यालयमा पेश गरेको छ । स्थानीय सप्लायर्स र कामदारको झण्डै ६० लाख भन्दा बढी रकम भुक्तानी गर्नुपर्ने देखिन्छ ।

स्थानीय अगुवा तेम्बो लामाका अनुसार मेशिन भाडा, कामदारको ज्याला र निर्माण सामाग्रीको रकम भुक्तानी भएको छैन । सरकारले दिएको छैन भनेर कामदारहरु कतिन्जेल बस्ने, उनले भने, ‘व्याज तिर्दातिर्दै पाउने रकम भन्दा बढी खर्च भइसकेको छ ।’ काम लगाएपछि भुक्तानी दिनु ठेकेदारको दायित्व भएको भनाई उनको छ । स्थानीय डाकलाङदेखि लिस्ती खण्डको करिव १५ किमि सडक निर्माणका लागि मुल्यअभिवृद्धि कर (भ्याट) बाहेक ८ करोड ८ लाखमा २०७४ सालमै टेण्डर स्विकृत भएको हो । २०७५ जेठमा संघीय सरकारले उक्त ठेक्काको सडक प्रदेश सरकारलाई हस्तान्तरण गरेपछि यो समस्या झन् जटिल बन्दै गएको हो ।

ठेकेदार कम्पनीका सञ्चालक इश्वर बाँस्कोटाका अनुसार हस्तान्तरण अघि झण्डै ५ करोड रुपैयाँको काम सकिएको छ । उक्त रकम हस्तान्तरण अघि नै भुक्तानी पनि भइसकेको उनले बताए । ठेकेदारले काम गरेकोभन्दा बढी रकम पहिले नै भुक्तानी लिएकाले अहिले समस्या परेको बुझाई स्थानीयको छ । स्थानीयले कामको गुणस्तर नभएको आरोप पनि लगाएका छन् । अगुवा लामाले भने, ‘गाउँलेको धेरै गुनासो आएको छ ।’

बाँस्कोटाका अनुसार २०७४ भदौदेखि काम गरेको बीलभर्पाइ पूर्वाधार कार्यालयमा गत पुसमा पेश गरेको हो । ‘स्थानीयले ठेकेदारले पैसा नदिएको भनिरहेको छन् । तर पूर्वाधार कार्यालयले भुक्तानी नदिएकाले म नै समस्यामा छु,’ उनले भने ।‘उहाँहरु (स्थानीय) ले व्याजमा पैसा लिएर मेरो काममा सघाउनुभएको हो । मर्कामा हुनुहुन्छ भन्ने पनि बुझेको छु । पैसा आउँछ, आउँछ भन्दाभन्दै लामो समय बित्यो,’ बास्कोटाले भने ।

स्थानीय अगुवाहरु तेम्बो र अर्जुन सापकोटाले समन्वय गरेर निर्माण सामाग्री सप्लाई गरेको, डोजर भाडामा लिएको र कामदारलाई सडक निर्माणम लगाइएको हो । सापकोटाका अनुसार लकडाउनको बेलामा पसिना बगाएको पैसा पनि पाइएन भन्दै कामदारले दबाव दिइरहेका छन् । ‘ काम छिटो सक्नका लागि आफूहरुले व्याजमा लिएर ठेकेदारलाई सघाएको पैसाको अत्तोपत्तो छैन,’ उनले भने,‘सरकारी निकाय पनि कस्तो हो, काम गरेको पैसा पनि नदिने ?’ उनले आफू र कामदार धेरै मर्कामा परेको बताए ।

पूर्वाधार कार्यालयका प्रमुख राजु श्रेष्ठका अनुसार सिन्धुपाल्चोक र दोलखामा सडकको कामको चालू आर्थिक वर्षका लागि मात्र २६ करोड भन्दा बढी रुपैंयाँ भुक्तानी दिनुपर्छ । यसका लागि प्रदेश पूर्वाधार मन्त्रालयमार्फत संघीय सरकारको अर्थमन्त्रालयमा फाईल पेश गरिएको छ ।

सिन्धुपाल्चोकको पूर्वाधार कार्यालयले दुवै जिल्लाका प्रदेश सडकको योजना हेर्दै आएको छ । यस अन्तर्गत सिन्धुपाल्चोकमा ५ र दोलखामा ४ वटा सडक योजना छन् । सिन्धुपाल्चोकका सवै सडकको समग्रमा ८० प्रतिशत काम सकिएको छ । ‘डकडाउन नभएको भए दुवै जिल्लाका सवै योजना पूरा हुन्थ्यो,’ श्रेष्ठले भने । हस्तान्तरण अघि यी आयोजनाहरु सडक डिभिजन कार्यालय चरिकोटबाट सञ्चालन हुने गथ्र्यो ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!