सरकारी विद्यालयले किताबको चर्को शुल्क असुलेपछि छानबिन

चौतारा । सुनकोशी गाउँपालिका-६ मा रहेको कोल्दोङदेवी माध्यमिक विद्यालयले विद्यार्थीबाट पुस्तक वापतको चर्को शुल्क लिएको रसिद बाहिर आएपछि वडाले छानबिन गर्ने भएको छ । वडाले आज वडासदस्य रुपकाजी लामाको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।
छानबिन समितिलाई एक हप्ताभित्र अभिभावक, विद्यार्थीलगायत निकायहरुसँग छलफल गरेर सत्यतथ्य जानकारी दिन वडाले भनेको छ । यदि दोषी प्रमाणित भएमा आवश्यक कारवाहीका लागि गाउँपालिकाको शिक्षा समितिमा सिफारिश गरिने वडाले जारी गरेको विज्ञप्तिमा भनेको छ । वडाले विद्यालयले गरेको पाठ्यपुस्तक वितरणमा आफ्नो कुनै संलग्नता नभएको पनि स्पष्ट पारेको छ ।
केही दिनअघि कोल्दोङदेवी माध्यमिक विद्यालयले पुस्तक वापत पाँच कक्षाको विद्यार्थीसँग २१ सय ७० लिएको बिल सार्वजनिक भएको थियो । सरकारले विद्यालयस्तरको पाठ्यपुस्तक निशुल्क गरेको अवस्थामा पुस्तक वापत पाँच कक्षाको विद्यार्थीसँग चर्को रकम लिएको भन्दै विभिन्न संघसंस्था तथा सामाजिक सञ्जालमा विरोध भएको थियो ।
विद्यालयका प्रधानध्यापक शिव कार्कीले विद्यालयमा अग्रेजी माध्यमबाट पढाइ हुने हुँदा सोही बमोजिम किताब किन्नुपर्ने भएकाले अभिभावककै स्विकृतिमा त्यसरी पुस्तक वापत पैसा लिने गरेको बताए । उनले भने, ‘यो वर्ष मात्रै होइन यसअघि पनि हामीले यसरी पैसा लिन्थ्यो अन्य अग्रेजी माध्यमबाट पढाइ हुने विद्यालयले पनि लिन्छन् ।’ सरकारले दिएको अनुदानको रकमले अग्रेजी माध्यमबाट पढाइने पाठ्यपुस्तक नआउने र त्यसैले विद्यार्थीबाट रकम लिएको उनको तर्क छ ।
सरकारले पुस्तक वापतको खर्च प्रत्येक सरकारी विद्यालयलाई दिँदै आएको छ । सरकारले शिक्षाको हकलाई मौलिक हकमा राख्दै आधारभूत तह (१-८) को शिक्षा अनिवार्य र निशुल्क गरेको छ भने माध्यमिक तहको शिक्षा निशुल्क गरेको छ ।
यता जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख कृष्ण सुवेदीले आफूलाई त्यसबारे केही थाहा नभएको तर त्यसरी पुस्तक वापत सरकारी विद्यालयले पैसा लिन भने नपाइने बताए । यदि गाउँपालिकाबाट उजुरी आए सो सम्बन्धी कारवाही गरिने उनले जानकारी दिए ।
क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस