शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाचारगोली प्रहारबाट घाइते गर्भिणी घोरलको उद्धार

गोली प्रहारबाट घाइते गर्भिणी घोरलको उद्धार


सिन्धुपाल्चोक । लाङटाङ राष्ट्रिय निकुञ्जको हेलम्बुस्थित तिपेनी जंगलमा गोली प्रहारबाट घाइते भएकी गर्भिणी घोरललाई नेपाली सेनाले शनिबार उद्धार गरेको छ । घोरलको टाउको र दाँया खुट्टाको पातोमा गोली लागेको छ । घोरलको अम्बाथान नजिकै जंगलबाट उद्धार गरिएको हो ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाका अनुसार घाइते घोरलको अहिले स्थानीय तिम्बुस्थित निकुञ्जको पोष्टमा उपचार भइरहेको छ । चोरी शिकारीेले गोली प्रहार गरेको अनुमान स्थानीयले गरेका छन् । उपचारमा संलग्न हेलम्बु गापाका भेटेनरी अधिकृत तोपबहादुर बरुवालका अनुसार करिव ३ वर्षकी घोरललाई २–३ दिन अघि नै गोली लागेको अनुमान छ । टाउकोमा लागेको गोलीले बाहिरसम्म छेडेको देखिन्छ । तिघ्रामा लागेको गोली भने भित्रै रहेको अनुमान छ ।

घोरलको घाउको ड्रेसिङ गरेर औषधि खुवाएर सुरक्षित स्थानमा राखिएको छ । धेरै दिनदेखि भोकै रहेकाले खानेकुरा दिइएको छ । मान्छेदेखि धेरै डराउने भएकाले भिडभाड कम गरेर केही समय आराम गर्न दिइएको बरुवालले जानकारी दिए । घोरललाई सर्वसाधारणले जंगली भेडाबाख्राको रुपमा लिन्छन् । यो नेपालको चार हजार मिटरसम्मको उचाइमा पाइन्छ । तराइमा भने चुरे क्षेत्रमा मात्र पाइन्छ ।

हेलम्बु हिमाली र मध्यपहाडी क्षेत्रमा पर्ने राष्ट्रिय निकुञ्जको क्षेत्र हो । बुद्धधर्मका अनुयायीको बसोबास रहेको हेलम्बु क्षेत्रमा काटमार र शिकार गर्न धार्मिक रुपमा पनि बन्देज छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण सम्बन्धी कानुनले पनि निकुञ्ज क्षेत्रमा शिकार गर्न पाइँदैन । यसको मासु खानका लागि चोरी शिकारी हुने गरेको छ । यो लोपोन्मुख जाती भने होइन । गोली प्रहार गर्नेको खोजी भइरहेको निकुञ्जले जनाएको छ ।

 


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!