कोरोनाबाट आमा गुमाएका शिशुसहित अन्यको डिस्चार्ज, सुनकोसीमा रहेको क्वारेन्टाइन्मा राखिने

काठमाडौं । कोरोना संक्रमणका कारण ज्यान गुमाएकी महिलाको नवजात शिशुसहित अन्य परिवारको सदस्यको आज डिस्चार्ज गरिएको छ । धुलिखेल अस्पतालले एक विज्ञप्ति निकाल्दै नवजात शिशुसहित सबैलाई डिस्चार्ज गरेको जनाएको छ ।
मृतक महिलाको परिवारका सदस्यहरुको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण नदेखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको विज्ञप्तिमा भनिएको छ । नवजात शिशुको दुइपटक पीसीआर मार्फत कोरोना परीक्षण गर्दा पनि नेगेटिभ रिपोर्ट आएको थियो ।
शिशुलाई जण्डिस देखिएर शरिरमा बिमिरा आएको भएपनि बाल रोग विशेषज्ञलाई देखाएको र सो निको भइसकेको अस्पतालले जनाएको छ । चिकित्सकले नवजात शिशु डिस्चार्ज गर्न योग्य भएको बताएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । अस्पतालबाट डिस्जार्च गरेसँगै उनीहरुलाई एक हप्ता सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा राख्न अस्पतालले सुझाएको छ ।
क्वारेन्टाइनबाट डिस्चार्ज गर्दा उनीहरुको पीसीआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएमात्रै घर पठाउन पनि धुलिखेल अस्पतालले भनेको छ । यो सुझावले सिन्धुपाल्चोक जिल्लाले उनीहरुलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नुपर्ने देखिन्छ ।
डिस्चार्जपछि एकहप्तासम्म सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा राख्नु भन्ने अस्पतालको सुझाव बमोजिम उनीहरुलाई सुनकोसी गाउँपालिकामा रहेको क्षेत्रीय क्वारेन्टाइन्मा राखिने जनस्वास्थ्य प्रमुख चाँपागाईले जानकारी दिए । एक हप्तापछि स्वाब संकलन गरि पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएमा उनीहरुलाई घर पठाइनेछ ।
बाह्रबिसे नगरपालिका ९ की २९ वर्षीय महिलाको जेठ १ गते कोरोना संक्रमणका कारण निधन भएको थियो । उनी नेपालको कोरोनाबाट मर्ने पहिला व्यक्ति हुन् । उनी ९ दिनकी सुत्केरी थिइन ।
क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking, #corona
तपाईको प्रतिक्रिया दिनुहोस