आईतबार, फागुन ४, २०८१
गृहपृष्ठपर्यटनयसरी पत्ता लगाए सिन्धुपुत्र कसजूले विश्वमै नयाँ वनस्पति

यसरी पत्ता लगाए सिन्धुपुत्र कसजूले विश्वमै नयाँ वनस्पति


चौतारा ।
१३ अगस्ट २०१६ मा घुम्दै पर्यटकीय क्षेत्र नगरकोट पुगेका सिन्धुपाल्चोक चौताराका सरोजकुमार कसजूले एउटा ‘सानो लहरे’ विरुवाको फोटो क्लिक गर्दा सोचेका थिएनन् होला कि यही वनस्पति विश्वमै नयाँ जातिको हुनसक्छ ।
सानैदेखि नौला खाले विरुवाप्रति शौख राख्ने कसजूले खिचेको त्यही फोटोले अहिले विश्व किर्तिमानी राखेको छ, ‘संसारमै नयाँ वनस्पति’ को ।
वनस्पति विज्ञानमा रुचि राख्ने वैज्ञानिक सरोजकुमार कसजूले नगरकोट क्षेत्रमा फेला पारेका विरुवा विश्वमै नयाँ भएको पुष्टि भएको हो । कसजूले पत्ता लगाएको विरुवाको नाम ‘थुनबर्जिया कसजूआना’ राखिएको छ । बेलायतको रोयल बोटानिक गार्डन एडिनबरा (आइबीजीई) ले विरुवाको नाम राखेको हो ।
झण्डै दसकदेखि विरुवाको फोटो खिचेर विभिन्न वनस्पति परीक्षण गर्ने स्थानमा उनले थालेका थिए । सन् २०११ बाट आफूले विरुवाको फोटो खिच्न थालेको उनी बताउँछन् । २०१४ साल माघ २५ गते जिल्ला सदरमुकाम चौताराको पुरानोबजारमा जन्मिएका उनले श्रीकृष्ण विद्याश्रम प्रारम्भिक शिक्षा सुरु गरेका थिए । सानै उमेरदेखि वनस्पति प्रेममा झुम्मिने गरेका सरोजकुमारले राजधानीस्थित पद्मोदय माविबाट एसएलसी उत्तीर्ण गरे । अमृत साइन्स क्याम्पसमा अध्ययन गर्दैगर्दा उनमा झन् विरुवाप्रति उत्सुक बढेको थियो ।
‘इच्छा धेरै हुन्थ्यो, तर त्यतिबेला खर्च धान्न सकिएन,’ उनी विगत स्मरण गर्छन्, ‘रिल सिस्टमको क्यामेरा हुने र खिचिएका सबै फोटो धुलाउनु पर्ने हुँदा निकै गाह्रो हुन्थ्यो ।’ उनले विरुवाको फोटो खिच्थे अनि रमाउथे मात्रै । खप्तड बाबाको पुस्तक ‘विचारको ज्ञान’ उनले अध्ययन गरेपछि उनको विरुवाप्रतिको शौख मात्रै नभई वनस्पति जीवनले ‘यूटर्न’ लियो । सो पुस्तकमा औषधिजन्य विरुवाहरुको बैज्ञानिक नामहरु थियो । उनले त्यतिबेला सोचे, ‘नेपालमा हजारौं विरुवा छन्, पहिचानको जरुरी छ ।’ यही सोचलाई पूर्णतामा बदल्दै सरोजकुमारले विभिन्न विरुवाहरु पहिचान गरेर नेपाली र अंग्रेजी नामको सूची तयार गरे । विरुवाको तस्वीर प्रेममा रमाएका कसजूले त्यतिबेला सोनीको डिजिटल क्यामेरा किनिसकेका थिए ।
विरुवाको फोटो खिचेर संक्लन गर्नृे मात्रै नभई उनले विभिन्न पुस्तकलगायतहरु अध्ययन, अनुसन्धान गर्न थाले । अध्ययनकै क्रममा विरुवाहरुको पहिचान गर्ने अनलाइन साइट उनले फेला पारे । भारतबाट सञ्चालित ‘इफोरा इन्डिया गुगल ग्रुप’को उनी सदस्य बने । उनी २०१४ मा यो ग्रुपको सदस्य बनेका हुन् । यो ग्रुपमा वनस्पति विज्ञान अध्ययन गर्नेहरु मात्रै हुने गर्दछन् । इफोरा ग्रुपमा नियमित नयाँ नयाँ विरुवाका फोटोरु पठाउने र पोस्ट गर्ने गरेका कसजूले यो नयाँ प्रजातिको विरुवालाई थुनबर्जिया लुथिया भनेर फेस्ट गरेका थिए । संसारभर वनस्पतिमा अध्ययन गर्नेहरुको साझा फोरमजस्तै रहेको यो ग्रुपमा कसजूले पोष्ट गरेको फोटोप्रति चर्चा भयो । कसजू विरुवाहरुको फोटो पोष्ट गर्ने र अनुसन्धान गर्नेमा यो ग्रुपमा रहेका संसारभरका बैज्ञानिकमा तेस्रो वरियतामा पर्छन् ।
उक्त ग्रुपमा थिए नेपाली डाक्टर भाष्कर अधिकारी । थुनबर्जिया नामक वनस्पतिका विशेषज्ञसमेत रहेका अधिकारीले कसजूसँग सम्पर्क गरे । उनले त्यतिबेला भनेको शब्द कसजू स्मरण गर्छन्, ‘यो विश्वमै नयाँ प्रजातिको विरुवा हुन सक्छ ।’ इफोरा ग्रुपबाटै चिनजानमा आएका डा. अधिकारीको यो भनाईले उनमा थप उत्सुकता बनायो । फलस्वरुप उनी उक्त लहराको फोटो लिएको स्थानमा पटक पटक पुगे । २०१६ मा फोटो पोष्ट गरेपछि पछिल्लो चार वर्षका अधिकांश समय उनले यही विरुवालाई समय खर्चिएका थिए । उनले यस विरुवाबारे अध्ययन अनुसन्धानमै चार वर्ष बितेको बताए ।

नयाँ पत्ता लागेको वनस्पतिमा फुलेको फूल

विश्वमै नयाँ प्रजातिको हुन सक्ने सम्भावना बढेसँगै कसजूले त्यसको फूल, फल, पात, डाँठलगायत सबैको फोटो खिचेर पठाए । नयाँ हुनसक्ने भएपछि सन् २०१९मा विशेषज्ञ डा. अधिकारी स्वयम् नगरकोट आइपुगेको कसजू बताउँछन् । ‘उहाँ आफै आएर हेर्नुभयो, अनि आवश्यक डकुमेन्ट तयार गरियो ।’ डा. अधिकारी स्वयम्ले वनस्पति अवलोकन गरेर फर्केपछि विश्वभरमै रहेका अन्य परीक्षणकर्ता र बैज्ञानिकहरुले यसबारे अनुसन्धान गरेको कसजू बताउँछन् । डा. भाष्कर अधिकारी र जोन उडले त्यस विरुवाको थप अध्ययन गरेर बेलायतबाट प्रकाशित हुने ‘क्यू बुलेटिन’ नामक जर्नलमा लेख छपाएपछि विरुवाको औपचारिक पहिचान मिलेको थियो ।
विभिन्न स्थानबाट यो थुनबर्जियाकै नयाँ प्रजाति भएको पुष्टि भएको हो । यसलाई बेलायतमा रहेको रोयल बोटानिक गार्डेनल अफ् क्यूले नयाँ जाति रहेको यो साता पुष्टि गरेको हो ।
यो विरुवा ५ मिटरसम्म लामो हुन्छ । सुरुमा कसजूले फोटो खिच्ने बेला सिंगो नगरकोटमा यसको एउटा मात्रै विरुवा थियो । दुई वर्षपछि झण्डै ३, ४ सय मिटरको फरकमा थप तीन विरुवा फेला परेको उनको भनाई छ । अगस्ट महिनामा फूल फुल्ने यो विरुवाबाट हुन सक्ने औषधिबारे परीक्षण भइरहेको छ ।
‘संसारको विभिन्न देशमा नागरिक वैज्ञानिकहरुले वनस्पतिशास्त्रको अध्ययनमा निकै योगदान पुर्याएका हुन्छन्’, आइबीजीईमा कार्यरत डा. अधिकारीले भने– ‘तर नेपालमा नागरिक वैज्ञानिकले नयाँ प्रजातिको विरुवा भेट्टाउने कुरा विरलै हो । हामी कसजूप्रति आभारी छौं ।’ अधिकारीका अनुसार एसियाको भारत र भुटानमा पनि पाईने सो जातिका विरुवा नगरकोटामा फेला पारेकोजस्तो प्रजातिको नभएको र पहिचान समेत गरिएको थिएन । कसजूले त्रिभूवन विश्वविद्यालयबाट डीपीए र एमपीए गरेका छन् । २०३३ सालबाट नेपाल बायुसेवा निगममा संलग्न कसजू त्यहाँको वाणिज्य विभागको निर्देशक समेत भए ।


क्याटेगोरी : पर्यटन, समाचार, समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!