बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाचारस्वास्थ्यकर्मी र सुरक्षाकर्मी सहित इन्द्रावतीले राख्यो २४ सै घण्टा ‘हेल्पडेस्क’

स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सहित इन्द्रावतीले राख्यो २४ सै घण्टा ‘हेल्पडेस्क’


चौतारा । इन्द्रावती गाउँपालिकाले गाउँपालिका प्रवेश गर्ने नाका भीमटार पुल छेउ रहेको सीपाघाटमा २४ सै घण्टा हेल्पडेस्क राख्ने निर्णय गरेको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वंयसेवक सहितको संयुक्त टोली २४ सै घण्टा परिचालन गर्ने भएको हो । कोरोना संक्रमणको तीव्र वृद्धिसँगैं गाउँपालिकालाई सुरक्षित राख्न इन्द्रावतीको आज बसेको कोभिड-१९ नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले काभ्रेसँग सीमा जोडिएको सीपाघाटमा २४ घण्टे हेल्पडेस्क राख्ने निर्णय गरेको अध्यक्ष वंशलाल तामाङले जानकारी दिए ।

यसैगरी गाउँपालिकाले अत्यावश्यक बाहेक अन्य सामान तथा यात्रु बोकेका गाडीलाई आवागमनमा रोक लगाएको छ । गाउँपालिकाले अन्य जिल्लाबाट आउने तरकारी, फलफुल तथा मासुजन्य पदार्थमा रोक लगाएको हो । गाउँपालिकाभित्र भित्रने निर्माण सामग्री बोकेका गाडी र सामान दुवैलाई सीमामा नै निसंक्रमण गरेर मात्रै गाउँपालिका भित्र्याइने छ ।

संक्रमणले विश्वभर पारेको असरलाई मध्यनजर गरी वैदेशिक रोजगार तथा अध्ययनका लागि गएका विद्यार्थी फर्किन सक्ने गाउँपालिकाको आँकलन छ । त्यसरी फर्किएकाहरुको सबै विवरण राख्ने र उनीहरुलाई राख्न आवश्यक क्वारेन्टाइनको व्यवस्था गरिनेछ । क्वारेन्टाइनमा बसेकालाई मानसिक समस्या आउने भन्दै योगाभ्यास तथा मनोरञ्जनको व्यवस्था गर्ने गाउँपालिकाले निर्णय गरेको अध्यक्ष तामाङले बताए ।

साथै लकडाउनलाई प्रभावकारी बनाउन गाउँपालिकाभित्र रहेका खाद्यान्न पसलहरु बिहान मात्रै खुल्नेछन् । स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै सामाजिक दुरी कायम गर्दै बिहान ६ बजेदेखि १० बजेसम्म मात्रै खाद्य तथा दैनिक उपभोग्य सामानका पसलहरु खोलिने प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलले जानकारी दिए ।

त्यस्तै गाउँपालिकाले कोभिड-१९ का शंकास्पद बिरामी ल्याउन तीन सदस्यीय टोली गठन गरेको छ । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र एम्बुलेन्सचालक रहने गरी टोली गठन गरिएको हो । गाउँपालिकाभित्र रहेका विभिन्न सामाजिक संस्थाहरुलाई कोभिड १९ व्यवस्थापन कोषमा सहयोगका लागि आग्रह गर्ने गाउँपालिकाले जनाएको छ ।

आर्थिक विपन्न र असहाय नागरिकलाई एकद्धारप्रणालीमार्फत राहत वितरण गरिनेछ । दीर्घरोगीहरुलाई डाक्टरले दिएको प्रेस्क्रिप्सनको आधारमा स्वास्थ्यकर्मीहरुबाट औषधि उपलबध गराइने भएको छ । संक्रमणको महामारीलाई मध्यनजर गर्दै इन्द्रावतीले अन्य रोगका बिमारीका लागि नवलपुर अस्पतालमा शसुल्क फार्मेसी सञ्चालन गर्ने जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!