सिन्धुपाल्चोकका बजारहरु बिहान तीन घण्टा मात्रै खुल्ने

सिन्धुपाल्चोक । जिल्लाका खाद्यान्न, दैनिक उपभोग्य सामग्री तथा निर्माण सामग्री पसलहरु बिहानमात्रै खुल्ने भएका छन् । मुख्य तथा सहायक बजारहरुमा अब यी सामग्री रहेका पसलहरु बिहान ६ बजेदेखि १० बजेसम्म मात्रै खुल्ला हुने भएका हुन् ।
आज बसेको कोभिड-१९ विपद व्यवस्थापन केन्द्रको बैठकले मानिसहरुको जुनसुकै बेला पनि आवतजावत भइरहने हुनाले त्यसलाई नियन्त्रण गर्न व्यक्तिगत स्वास्थ्य सामग्रीको प्रयोग गरी सामाजिक दुरी कायम गरी यी पसलहरु बिहानमात्रै खोल्ने निर्णय गरेको हो ।
जिल्लामा बाहिरबाट ल्याउने मासुजन्य पदार्थहरुमा पनि रोक लगाइएको छ । स्थानीय उत्पादित मासु तथा तरकारीहरुलाई नै स्थानीय बजारमा पुर्याउने यसअघि नै निर्णय भएको थियो । यसैगरी जिल्लाका तीनवटा क्षेत्रमा रहेका क्वारेन्टाइनको क्षमता बढाइने भएको छ । कोरोना संक्रमणको तीव्र वृद्धिको अवस्थालाई मधयनजर गर्दै मेलम्ची, सुनकोसी (दुई किलो) र चौतारामा थप एक एक वटा वैकल्पिक क्वारेन्टाइन कक्षको व्यवस्थापनका लागि स्थलगत अध्ययन गरिनेछ ।
त्यस्तै जिल्लामा आउने सवारी साधनको चेकजाँचमा कडाइ गर्न सुरक्षाकर्मीका साथै सम्बन्धित स्थानीय तहका स्वयंसेवकहरु परिचालन गरिनेछ । अत्यावशयक सवारी साधनहरुपनि जिल्ला प्रवेश गर्दा निसंक्रमण गरेर मात्रै प्रवेश गराइने भएको छ ।
त्यस्तै जिल्लामा कोरोना संक्रमण नियन्त्रणका लागि अग्रभागमा खटिएर काम गर्ने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको प्राथमिकताका आधारमा कोरोना परीक्षण गरिने भएको छ । जिल्लामा सञ्चालित एम्बुलेन्सहरुलाई अझ व्यवस्थित गर्न जीपीएस जडान गरी ट्रयाकिङ सिस्टममा आबद्ध गराइनेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस