बिहीबार, असोज १८, २०८०
गृहपृष्ठसमाचारबाहिरी जिल्लाबाट सिन्धुपाल्चोकमा तरकारी फलफुल ल्याउन रोक

बाहिरी जिल्लाबाट सिन्धुपाल्चोकमा तरकारी फलफुल ल्याउन रोक


चौतारा । सिन्धुपाल्चोकमा बाहिर जिल्लाबाट तरकारी र फलफूल ल्याउन रोक लगाइएको छ । आज बसेको जिल्ला `कोभिड-१९ विपद व्यवस्थापन केन्द्र`को बैठकले कोरोना संक्रमणको जोखिम हुने भन्दै बाहिरी जिल्लाबाट आउने तरकारी र फलफूल आयातमा रोक लगाएको हो ।

अब स्थानीय गाउँहरुमा नै उत्पादन गरिएका तरकारी तथा फलफूललाई बजारमा ल्याउने र समन्वयका लागि स्थानीय तहलाई जिम्मा दिने निर्णय भएको छ । यो निर्णय जेठ ४ गतेबाट लागू हुनेछ ।

त्यस्तै अत्यावशयक सामान ढुवानी गाडीमा चालक र सहचालकबाहेक अन्यलाई बोके कारवाही गरिने भएको छ । त्यस्ता गाडीमा चढ्ने यात्रु र सवारी चालक दुवैलाई सक्रामक रोग ऐन, २०२० अनुसार कारवाही गरिनेछ ।

यसैगरी एम्बुलेन्समा बिरामी बोक्दा दुईजनासम्म मात्रै कुरुवा हुनुपर्नेछ । एम्बुलेन्स चालकले बिरामी पुर्याएर अब रितै फर्कनुपर्नेछ । यसअघि बाटोमा अलपत्र परेका मानिसहरुलाई समेत एम्बुलेन्सले बोकेर गन्तव्यमा पुर्याउने गर्दथे । अब मान्छे बोकेका पाइएमा एम्बुलेन्स चालकलाई समेत कारवाही गरिनेछ ।

यसैगरी जिल्लामा सञ्चालित विभिन्न उद्योग, प्रतिष्ठान, विकास आयोजना, कलकारखानालगायतका स्थानमा बाहिरी जिल्लाबाट कामदार ल्याएर काममा लगाउन पाइने छैन । यदि लगाएमा काममा लगाउने व्यक्ति र काम गर्ने व्यक्ति दुवैलाई कारवाही गरिनेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!