हेलम्बुमा रासायनिक मलको प्रयोग सिकाउँदैं कृषि प्राविधिक

हेलम्बु । किसानले रासायनिक मलको प्रयोग सही तवरले गर्न नजान्दा उत्पादनमा कमी आएको पाइन्छ । कुन मलको प्रयोग कसरी गर्ने भन्ने ज्ञान सबै किसानमा हुँदैन । जसका कारण आर्थिक रुपमा वालीका लागि भएको लगानी भन्दा प्रतिफल कम भएको यत्रतत्र सुन्न पाइन्छ । किसानले गरेको लगानी अनुरुप प्रतिफल लिन किसानलाई मल तथा विउ विजनको सही प्रयोगबारे सचेत गराउन विभिन्न कार्यक्रमहरुको आवश्यकता देखिएको छ ।
कोरोना महामारीको यो अवस्थामा विश्व नै लकडाउनमा रहेकाले हाम्रो देशमा पनि खाद्य संकट नआउला भन्न सकिन्न । उत्पादन कम र उपभोग ज्यादा भएपछि भोकमरीको अवस्था आउनु सामान्य नै हो । नेपाल जस्तो कृषिप्रधान देशले अब किसानलाई आवश्यक मल विउ विजन निशुल्क वितरण र प्रयोगबारे जानकारी दिन ढिला गर्नुहुन्न । यस्तै हेलम्बु गाउँपालिकाले किसानलाई मल प्रयोगबारे गाउँमै पुगेर सचेतना जगाएको छ ।
गाउँपालिकाले कोरोना भाइरसका कारण खाद्यान्न समस्या नहोस भनेर उत्पादन बढाउनका लागि रासायनिक मलको प्रयोग बारे किसानलाई सचेतना जगाएको हो । कृषि प्रमुख सहितको टोली गाउँमा नै गएर मल प्रयोग बारे किसानलाई अभ्यास गराउँदै सिकाइरहेको अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । गाउँपालिकाले ४, २ र ६ वडाका किसानलाई मलको प्रयोगबारे सिकाइसकेको छ बाँकी पनि सिकाउने क्रम जारी रहेको अध्यक्ष शेर्पा बताउँछन् । गाउँपालिका भरि १९ ठाउँमा सामाजिक दुरी राख्दै किसानलाई मल प्रयोग बारे सिकाउने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकामा खाद्यान्न आपुर्ति कम गराउने र गाउँपालिकामा नै आवश्यक खाद्यान्न उत्पादन गर्ने गाउँपालिकाको लक्ष्य छ । सोही अनुसार पालिकाले किसानलाई ढुवानी अनुदानमा मल गाउँमै पुर्याएको छ । मलको प्रयोग जानी नजानी गर्दा खर्च अनुसार उत्पादन नहुने हुँदा लगानी अनुसारको उत्पादनका लागि मलको प्रयोगबारे सिकाइरहेको कृषि प्रमुख टोप बहादुर बरुवालले जानकारी दिए ।
किसानलाई डीएपी, युरिया, एसएसपी(सिगंल सुपर सल्फेट), चिनीमल(आल्मुनियम सल्फराइड) र पोटासको प्रयोगबारे जानकारी गराइएको छ । मलको प्रयोग गर्दा एक रोपनी जग्गामा डीएपी तीन किलो, युरिया एक किलो, एसएसपी आधा किलो मिसाएर सुरुमा बाली लगाउनु अघि छर्नुपर्दछ । बाली लगाएको २१ दिनमा युरिया मलको प्रयोग गर्ने । युरिया मल प्रयोग गर्दा रिङ आकारले बिरुवामा हालेर छोपिदिनुपर्छ ।
‘हामी मल हालेर त्यसै राखिदिन्छौं प्रमुख बरुवालले भने, त्यसो गर्दा विरुवालाई चाहिने मलमा भएको आवश्यक पौष्टिक तत्वहरु उडेर जान्छ । त्यसले मल हाल्नु र नहाल्नुको कुनै अर्थ राख्दैन ।’ विरुवामा मल हाल्नासाथ छोपिदिन उनी किसानलाई सुझाव दिन्छन् । मलको प्रयोग सही तरिकाले गर्न सकियो भने २५ प्रतिशत उत्पादनमा वृद्धि हुने उनको दावी छ । युरिया मल बाली लगाएपछि तीन चरणमा प्रयोग गर्नुपर्दछ । यसले विरुवामा हरियोपना वृद्धि गर्दछ ।
डीएपी मल विरुवा लगाउनुभन्दा अघि खाडल खनेको समयमा प्रयोग गर्नुपर्दछ । खनेको खाडलमा ७–८ सेन्टीमा मल हालेर पुर्ने र माथिबाट विरुवा लगाउनुपर्छ । यसो गर्न सकियो भने विरुवाले मलबाट प्राप्त गर्नेे पौष्टिक तत्व खटाइ खटाइ आवश्यकता अनुसार लिने बरुवाल बताउँछन् । डीएपी मलले विरुवा हरियो र मलिलो बनाउँछ । एसएसपी मल माटोलाई नरम र फुरर बनाउन प्रयोग गरिन्छ । वाली लगाउनु अघि माटो कडा र चिम्ट्याइलो भयो भने यो मलको प्रयोग गर्नुपर्दछ यसले माटो नरम बनाउँछ । एक वर्ष प्रयोग गरेको यो मलले अर्को वर्षसम्म माटोलाई नरम बनाइराख्छ ।
चिनीमल बिरुवा पहेलो देखियो भने प्रयोग गरिन्छ । विरुवालाई हरियो बनाइराख्न यसलाई विरुवाको फेदमा राखेर छोपिदिनुपर्छ । यसो गर्दा उत्पादन भनेजस्तो हुन्छ । त्यसैगरी गोठको मल पनि धेरै दिनदेखि खेतबारीमा लगेर सुकाइरहेको पाउँछौं कृषि प्रमुख बरुवालले भने त्यसो गर्दा मलमा भएको आवश्यक पौष्टिक तत्व उडेर जान्छ त्यसैले मल हाल्नासाथ जोतिहाल्नुपर्छ । जसले गर्दा माटोमा मलले दिने आवश्यक तत्व घुलमिल हुन्छ अनि उब्जनी बढ्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस