जंगली जडीबुटी खुवाई मार्ने पक्राउ

मेलम्ची । जंगली जडीबुटी सेवन गर्न दिँदा एक व्यक्तिको मृत्यु भएपछि एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पाँचपोखरी थाङ्पालधाप गाउँपालिका – ४ थाङ्पालकोटका ४२ वर्षीय जीदे तामाङलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । तामाङले ग्याष्ट्रिकको औषधि भन्दै जंगली जडीवुटी सेवन गर्न दिँदा गत वैशाख २१ गते सोही स्थानकी ३५ बर्षिय मीना तामाङ र उनका श्रीमान अविर तामाङ अचेत भएका थिए । उनीहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र मेलम्ची ल्याउने क्रममा मीनाको बाटोमै मृत्यु भएको थियो ।
अचेत अवस्थामा रहेका उनका श्रीमान अविरलाई भने मेलम्चीमा प्राथमिक उपचारपछि थप उपचारको लागि काठमाडौं लगिएको थियो । उनको चावहिलको ओम अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।
झारफुक गर्ने क्रममा झारफुक गर्ने व्यक्ति (झाँक्री) ले जडिबुटी भन्दै दिएको औषधि खाँदा दम्पति अचेत भएका थिए । मिना लामो समयदेखि ग्याष्ट्रिकको बिरामी थिइन् । रोग ठिक हुने आशामा दुवैले जंगली जडीबुटीको औषधि खाएका थिए । पक्राउ परेको जिदेलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #side
तपाईको प्रतिक्रिया दिनुहोस