अब तातोपानीबाट सबै सामान भित्रने

तातोपानी । चीनसँग जोडिएको तातोपानी नाकाबाट अब सबै व्यापारिक सामान भित्रने भएको छ । यसअघि सरकारले स्वास्थ्य सामग्री र अत्यावश्यक खाद्यवस्तु भित्र्याउने निर्णय गरेको थियो । तर आज व्यवसायी, स्थानीय तहका जनप्रतिनिधि र भन्सारबीच भएको छलफलमा नाकाबाट सबै व्ययापारिक सामान ल्याउने सहमति भएको हो ।
नाकाबाट अत्यावश्यक मेडिकल सामग्री भन्दा अन्य सामान ल्याएको र त्यसबाट कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै स्थानीय जनप्रतिनिधिलगायत स्थानीयले विरोध गर्दै आएका थिए । उनीहरुले चामल, दाल, नून र मेडिकल सामग्री ल्याउन दिने तर स्याउ लसुन जस्ता सामान ल्याउन नदिने भन्दै विरोध गरेका थिए । चीनबाट ल्याइएका स्याउ र लसुनबाट कोरोना संक्रमणको जोखिम रहेको उनीहरुको तर्क थियो । भन्सार र स्थानीय जनप्रतिनिधिबीच तीव्र विवाद भएपछि भन्सारले सबैसँग आज छलफल गरेको हो ।
भन्सार प्रमुख लाल बहादुर खत्रीका अनुसार सामान आयात गर्ने तर त्यसको लागि सुरक्षा पहिलो सर्त रहेकाेे उहाँहरुले बताउनुभयो सोही अनुसार सुरक्षा अपनाइ सामान आयात गर्न भन्सार तयार छ । त्यसको लागि भन्सार कार्यालय र भोटेकोशी गाउँपालिकाले सुरक्षाका लागि आवश्यक समन्वय गर्नेछन् । नाकामा स्वास्थ्य सुरक्षाको उचित व्यवस्था गरि सामान ल्याएमा अवरोध नगरी सामान ल्याउन दिनेमा सबै सहमत भएको उनले जानकारी दिए । अब बजारमा बिक्री हुने र आवश्यक सामानहरु सबै आयात हुनेछन् ।
भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले सरकारले निर्णय गरे अनुसार सबै सामान आयात हुने बताए । ‘स्थानीय जनप्रतिनिधि र संघसंस्थासँग समन्वय गरेर अगाडि बढ्ने सहमति भएको छ उनले भने, सबैसँग महिनामा एक पटक छलफल गर्ने र त्यसको लागि भन्सारले समन्वय गर्नेछ ।’ उद्योग वाणिज्य संघका अध्यक्ष वेद बहादुर श्रेष्ठ भने भन्सार र स्थानीय तहहरुले समन्वय गरेर अघि बढ्नुपर्ने तर्क राख्छन् । ‘सबै व्यवसायीहरु नाका खोल्न सहमत छौ उनले भने, त्यसका लागि सबैसँग समन्वय हुन जरुरी छ ।’ साथै सुरक्षा विधि अपनाएर नाकाबाट सहज रुपमा आयात निर्यात गर्नुपर्ने उनको भनाइ छ । त्यसका लागि कन्टेनर, सामान र त्यसमा संलग्न चालक र लोडरलार्ई क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नुपर्ने उनी बताउँछन् ।
नेपाल हिमालय सीमापार वाणिज्य संघका महासचिव होमनाथ तिमल्सिनाको पनि उस्तै तर्क छ । ‘नाका सहज रुपमा सञ्चालन गर्ने एउटै निर्णय भयो सिन्धुखबरसँग कुरा गर्दै उनले भने, त्यसका लागि स्थानीय वडाध्यक्ष, गाउँपालिका प्रमुख र भन्सार प्रमुखले सुरक्षाको व्यवस्था गर्नुपर्दछ ।’ चीनको वुहानमा कोरोना देखिएपछि सरकारले चीनसँग सीमा जोडिएका रसुवागढी र तातोपानी नाका बन्द गरेको थियो । अत्यावश्यक सामानको आयात गर्ने भन्दै तातोपानी नाका खोल्ने सरकारको निर्णय पछि चैत २६ देखि तातोपानी नाका सञ्चालनमा छ । भूकम्प पछि तातोपानी नाका तीनवर्ष देखि बन्द रहेको थियो । त्यही कारण यहाँका धेरै जनाको रोजीरोटी गुमेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस