५० लाखको कोरोना कोषमा ईन्द्रावतीका जनप्रतिनिधि र कर्मचारीको तलब थप

नवलपुर । इन्द्रावती गाउँपालिकाका जनप्रतिनिधिले कोरोना कोषमा एक महिनाको सेवा सुविधा बापतको रकम जम्मा गर्ने भएका छन् । आइतबार गाउँ कार्यपालिकाको ४६ औं बैठकले निर्वाचित जनप्रतिनिधिले स्वेच्छिक रुपमा एक महिनाको तलब गापामा रहेको `कोभिड-१९ संक्रमण, रोकथाम र नियन्त्रण` कोषमा जम्मा गर्ने भएको अध्यक्ष वंशलाल तामाङले जानकारी दिए ।
‘गापाका सबै जनप्रतिनिधिले एक महिनाको सेवा सुविधा जम्मा गर्ने निर्णय गर्यौं गापा अध्यक्ष तामाङले भने, यो सहयोगले कोरोना संक्रमण नियन्त्रणमा थप सहयोग पुग्छ भन्ने हाम्रो विश्वास छ ।’ साथै गापामा कार्यरत सामुदायिक विद्यालयका माध्यमिक तहका शिक्षकशिक्षिकाहरुको पाँच दिनको तलब र आधारभूत तहका शिक्षकशिक्षिकाहरुको तीन दिनको तलब बराबरको रकम कोरोना कोषमा जम्मा गर्ने व्यवस्था मिलाउन गापाले पहल गर्ने निर्णय गरेको छ ।
गापामा कार्यरत कर्मचारीको तलब संघीय सरकारको निर्णय बमोजिम यसअघि नै कोरोना कोषमा जम्मा भइसकेको छ । गापाले कोरोना रोकथामका लागि पहिला नै ५० लाखको कोष निर्माण गरेको थियो । त्यही कोषमा गापाका जनप्रतिनिधिको सेवा सुविधा थप गरिएको हो ।
गापाले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, खाद्य तथा पोषण सुरक्षा आयोजनासँगको समन्वयमा किसानहरुको समस्यालाई मध्यनजर गरी रासायनिक मल ढुवानीमा अनुदान दिने भएको छ । किसानहरुलाई कृषिमा थप प्रोत्साहन गर्न गापाले उन्नत जातको खाद्यान्न तथा तरकारी बालीको बिउ बिजन वितरण गर्ने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलले जानकारी दिए ।
‘कृषि नै आर्थिक उपार्जनको प्रमुख आधारस्तम्भ भएकाले किसानलाई थप प्रोत्साहन गर्न अनुदान र मल बिउबिजन दिने निर्णय गरेका हौ उनले भने ।’ गापाले सामुदायिक विद्यालयको विद्यार्थीहरुलाई छिटोछरिता माध्यमबाट पाठ्यपुस्तक उपलब्ध गराउन पहल गर्ने जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस