शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाचारसिन्धुका सहकारी दैनिक तीन घण्टा खुल्ने

सिन्धुका सहकारी दैनिक तीन घण्टा खुल्ने


चौतारा । जिल्लामा सञ्चालित बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरु खुल्ने भएका छन् । वाग्मती प्रदेश सरकारको परिपत्र बमोजिम जिल्लाको कोभिड-१९ विपद व्यवस्थापन केन्द्रको आज बसेको बैठकले जिल्लामा रहेका सहकारी खोल्ने निर्णय गरेको हो । सहकारी संस्थाहरुलाई आवश्यक सुरक्षा विधि अपनाएर बढीमा तीन जना कर्मचारीहरु खटाइ दैनिक तीन घण्टा कार्यालय खुला गर्ने व्यवस्था मिलाउन स्थानीय तहहरुलाई निर्देशन दिएको छ । सहकारीका सदस्यहरुलाई आर्थिक समस्याबाट बचाउन यस्तो निर्णय गरिएको हो ।

त्यसैगरी बैठकले जिल्लामा बनेका क्वारेन्टाइन तथा आइसोलेशनहरु मापदण्ड नपुगेका पाइएकाले मापदण्ड पुर्याउन पनि निर्देशन दिएको छ । मापदण्ड नपुगेकामा प्राथमिक स्वास्थ्य केन्द्र जलविरेको आइसोलेशन, इन्द्रावती गाउँपालिकामा रहेको प्राथमिक अस्पतालमा रहेको आइसोलेशन, भोटेकोशी गाउँपालिकामा स्थापना गरिएको क्वारेन्टाइनलाई तुरुन्त मापदण्ड पुर्याउन सम्बन्धित स्थानीय तहलाई निर्देशन दिइएको हो । मापदण्ड नपुगेको खण्डमा संख्या घटाएर विपद व्यवस्थापन केन्द्रलाई दैनिक जानकारी गराउन समेत निर्देशन दिइएको छ ।

केही समय अघि जिल्लामा रहेका क्वारेन्टाइन र आइसोलेशनको जिल्ला समन्वय समिति प्रमुख कृष्ण गोपाल तामाङ, सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनाल, स्वास्थ्य कार्यालयका प्रमुख दुर्गानाथ चापागाईले अनुगमन गरेका थिए ।

तातोपानी सीमानाकाबाट आवतजावत हुने सवारी साधनहरुलाई रेडक्रसको सहयोगमा डिसइन्फेक्सन गरिने भएको छ । तातोपानी नाकाबाट अत्यावश्यक सामान ल्याउने सरकारको निर्णयपछि त्यहाँ कोरोना संक्रमण नहोस् भन्नका लागि डिसइन्फेक्सन आवश्यक भएको हो ।

त्यसैगरी सुनकोशी गाउँपालिकामा रहेको क्षेत्रीय क्वारेन्टाइनलाई तार जालीले घेर्ने, सञ्चार सुविधा पुर्याउने, क्षेत्रीयस्तरमा रहेका क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई मनोसामाजिक परामर्श, योगा तथा रोगप्रतिरोधात्मक शक्ति वृद्धि गर्ने आयुर्वेदिक औषधि वितरण गर्ने व्यवस्था मिलाउने बैठकले निर्णय गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!