Techie IT
Thursday, August 5,2021 / बुधबार, साउन २०, २०७८
×
गृहपृष्ठसमाचारसेनाले दिएको सातु हिउँमा मुछेर डल्लोपार्दै खाँदै गरेँ

सेनाले दिएको सातु हिउँमा मुछेर डल्लोपार्दै खाँदै गरेँ


सुरज लामा

काठमाडौं  / बैशाख १५ सम्म लकडाउन थपिएपछि मन अतालियो । अझै कति थपिने हो ठेगान छैन भन्ने सुनियो । म र साथीहरु हाइड्रोपावरबाट भाग्ने निधो गर्‍यौ । साथीहरुले पनि त्यहाँबाट भागेर हिँडेरै गन्तव्यमा जाने मनसाय बनाए । २२ जना साथी बैशाख ५ मा हाइड्रोपावर छाडेर भागे । उनीहरु दाङका थिए । म भोलिपल्ट वैशाख ६ गते हिँडे । सिन्धुपाल्चोकको म मात्रै थिएँ ।

बाटोमा रसुवाको ठूलोढुंगेका नेपाली सेनाले सोधपुछ गरे । सिन्धुपाल्चोक जान लागेको बताएपछि सेनाले ४ किलोजति सातु दिएर बाटोमा खान भने । उनीहरुले सातु थोरैथारै खान भनेका थिए । मैले सिन्धुपाल्चोक पुग्न धेरै समय लाग्छ भनेको थिए । सायद मेरो घर टाढा छ भन्ने लागेर पनि होला उनीहरुले यसो भनेको भन्ने लाग्यो ।

म त्यहाँबाट हिँडे । त्यो रात म त्यतै बसेँ । ७ गते गोसाइकुण्डसम्म आएको मलाई थाहा छ । त्यहाँबाट घर परिवारसँग सम्पर्क भएको थियो । सेनाले फोन गर्दा मात्र मोबाइल खोल्न भनेका थिए । गफ गर्दा ‘अन’ गर्नु अरुबेला ‘अफ’ गर्नु भनेकाले मैले त्यही गरेँ ।
गोसाइकुण्डबाट माथि लागेपछि हिउँ पर्नथाल्यो । त्रिसुलीधारामा हिउँ बाक्लो भएकाले म तर्न सकिन । तलतिरै फर्किएँ । लगातार हिउँ परेपछि सबै सेताम्मे भयो । म त्यहीँ बसे । हिउँ पर्न छाड्ने कुरै थिएन । त्यतै सुरुङ खोजेर बसे । भोलिपल्ट गोसाइकुण्डको पछाडिबाट हिँडे । हिउँमा सानो पैतालाको छाप देखेर त्यहीलाई पछ्याउँदै हिँडे । हिड्दा–हिड्दा सुर्यकुण्ड आसपास पुगेको अनुमान गरेँ । मसँग एउटा म्याट( प्लाष्टिकले बनेको ओछ्याउने सामान) थियो । त्यसैलाई ओढ्ने र ओछ्याउने बनाएर बसेँ । त्यसपछि लगातार हिउँ पर्यो मैले बाटो नै भेउ पाउन सकिन ।

पाँच दिनसम्म एकै ठाउँमा बसिरहे । हिउँ रोकिन्छ डाँडामा उक्लिन्छु । फेरि हिउँ आउँछ सुरुङमै फर्केर बस्छु । मैले मुखमा रुमाल बाँधे । हावा बेस्करी चल्दा मुखमा रुमाल बाँध्नुपर्छ भन्ने टे«किङका दौतरीले भनेको कुरा याद आयो । मैले त्यसै गरे । त्यसो गर्दा मलाई सास फेर्न सजिलो भयो । बेला–बेला भोक लाग्थ्यो । त्यही सेनाले दिएको सातु हिउँमा मुछेर खान्थे । मोबाइल अन गर्दा नेटवर्क थिएन । मैले कसैलाई खबर पठाउन सकिन । कति दिन भयो, कति रात भयो मैले थाहा पाउन छाडिसकेको थिए‘ । निद्रा लाग्दैनथ्यो । सुरुङमा हिउँ भित्रसम्म आउला भनेर घरी पन्छाउँथे‘ घरी बस्थेँ । हिउँले आँखा बन्द जस्तै भयो । उज्यालोमा हेर्नै सक्दैनथेँ ।

अब मलाइ कानले सुनेको भरमा सहाराले बाटो खोज्नुपर्ने भयो । तर आवाजको भरमा बाटो खोज्नु त्यति सहज थिएन । हिउँ पर्न अलि रोकियो बिहान उठेर हिँडे, त्यो १६ गते रहेछ । हिँड्दा–हिँड्दै खोला सुसाएको सुने । धेरै दिनको हिउँले खोला बढेको रहेछ । म आवाज आएतिरै गएँ । त्यसको तिरैतिर तल गएँ । पछि थाहा पाउँदा त्यो सुर्यकुण्ड खोला रहेछ । दिनभर हिँडे कानको सहारामा । धेरै हिडेपछि दिनको चार बजेतिर (पछि होटलवालाले चार बजे भनेको ) मैले मान्छेको आवाज सुने । त्यसपछि म त्यतैतिर जान खोजे । त्यहाँ होटल रहेछ । होटलको मान्छेले सोधपुछ गर्दा हराएको मान्छे भन्ने थाहा पाए । मलाई होटलवालाले त्यहीँ राखे । हिउँले मेरोे गालाको छाला उक्केको थियो । आँखा र गाला राता भएका थिए । खुट्टा हिड्न नसक्ने भएको थियो । यस्तो अवस्थामा मलाई होटलवाला भगवान भेटेजस्तो भयो । त्यसपछि मैले आफ्ना परिवारलाई खबर गरे ।

हिउँमा बाटो भुल्दा मलाई बाँच्न पाए संसार जित्छु जस्तो लाग्थ्यो । हिउँले सारा धर्ती सेतै भएपछि मेरो बाँच्ने उपाए छैन जस्तो लाग्यो । म त्यही हिउँमा बाटो भुलेर हराइरहेँ । यता जान्छु उता जान्छु बाटो कतै पहिल्याउन सकिन । जीवन यति मात्रै रहेछ भन्ने लाग्यो । बाँच्न पाए त म के के गर्थे जस्तो लाग्न थाल्यो । मैले नौ दिन त्यस्तै कहाली लाग्दो गरी बिताएँ । मलाई हिउँमा बिताएका पाँच दिन कसरी बिते अहिले पनि याद छैन् ।

रसुवागढी हाइड्रोपावरमा कुकको कामका लागि म माघमा त्यता गएका थिए । लकडाउन नहुन्जेल म ११ घण्टा काम गर्थे । खाना पनि अफिसले नै दिने गथ्र्यो । लकडाउन भएसँगै मेरो ड्यूटी समय घट्यो । मलाई आठ घण्टा काम र खाना पनि आफ्नै पैसाले खान अफिसले भन्यो । मलाइ चित बुझेन । तलबबाटै खाना पनि खानुपर्ने भएपछि मेरो कमाइ खासै नबच्ने भयो । म लगायत साथीहरुले खाना खुवाउनुपर्ने माग गर्यौपनि तर अफिसले मानेनन् । हामी २२ कर्मचारीलाई यो कुरा चित बुझेन । यता घरमा श्रीमतीको डेलिभरि समय आइसकेको थियो । उता काममा भनेजस्तो कमाइ थिएन । लकडाउन कहिले खुल्छ भन्ने ठेगान थिएन । वैशाख ३ मा खुल्ला भनेर बसे नखुलेपछि त्यहाँबाट आफूखुशी हिँड्नै पर्ने भयो । यसरी बाँच्छु जस्तो नै लागेका थिएन ।
(रसुवाको गोसाइकुण्ड आसपासको हिउँमा हराएका सिन्धुपाल्चोकको बलेफि गाउँपालिका–४ डाँडागाउँका सुरजसँग शुक्रबार सिन्धुखबरले गरेको कुराकानीमा आधारित)

‘खोज्दाखोज्दै नभेटेर फर्केका थियौं’
मलाङ्गदुङ तामाङ
(सुर्यकुण्ड फेदी दावादेवी होटल मालिक)
म त्रिशुलीमा नै बस्छु् । मेरो सुर्यकुण्ड फेदीमा दावादेवी नामको होटल छ । म केही दिन अघिमात्रै सुर्यकुण्ड फेदि आएको हुँ । लकडाउमा खाद्यान्नको गाडी भेट्टाएर माथि आए । नुवाकोटको ध्याङफेदीबाट एकदिन हिँडेर म यहाँ आए । १३ गते कुटुङसाङ ब्यारेकबाट फोन आयो मान्छे हरायो भनेर । १४ गते हामी सुर्यकुण्ड मुनिसम्म खोज्न गयौं । त्यहाँ हिउँ पर्यो उनलाई उद्धार नगरी केही खबर नपाइ हामी फर्कियौैं । भोलिपल्ट पनि हिँउ पर्यो । हामी खोज्न सकेनौं ।

१६ गते चार जति बजेको थियो । होटल मुनि मान्छे देख्यौं । उनीलाई लिएर आयौं । आँखा र गाला रातो थियो । मुख सुन्निएको थियो । गालाका मासुहरु गएका थिए । जिउँ सबै सुन्निएको थियो । एउटा खुट्टा बिमारी थियो । सोधखोज गर्दा उनी सिन्धुपाल्चोक जान लागेको थाहा भयो । हराएका व्यक्ति उनै भन्ने थाहा भयो । मैले ब्यारेकमा फोन गर्दिए । ब्यारेकबाट सबैतिर खबर भएछ ।

उनीसँग फोन रहेछ त्यसलाई चार्ज गर्यौ र उनका आफन्तलाई फोन गयौं । उनलाई सुप खान दियौं । तातोमा राख्यौं । केही औषधि पनि गर्यौ । उनी मानसिक रुपमा एकदम कमजोर अवस्थामा थिए । निकै डराएका थिए । उनलाई पठाउन गाडी या एम्बुलेन्स केही पाइन्छ कि भनेर मलाई सिन्धुपाल्चोकबाट सोधेका थिए । तर यहाँ केही आउन सम्भवै थिएन । त्यसैले उनको आज हेलिकप्टेरबाट उद्धार भयो ।

यसरी भयो उद्धार
वडाध्यक्ष – कालिप्रसाद लामा (बलेफि गाउँपालिका–४, सिन्धुपाल्चोक)


वडा कार्यालयमा १२ गते पारिवारले सुरज हराएको भन्दै निवेदन दिन आएका थिए । मैले सिडिओ सापलाई जानकारी गराएँ । खोजीको क्रममा रसुवाको सिडिओ, पत्रकार, हाइड्रोपावरका मेनेजर, लाङटाङ राष्ट्रिय निकुञ्जको आर्मीलाई जानकारी गराइयो ।

१६ गते साँझ आर्मी ब्यारेकबाट फोन आयो । सुरज होटलमा रहेको र होटलको नम्बर दिए । मैले होटलवालालाई फोन गरे । उसको बारे जानकारी लिए । त्यो ठाउँ दुप्चेश्वर गाउँपालिका १ घ्याङफेदीको सुर्यकुण्ड भन्ने ठाउँ रहेछ । त्यो समुन्द्रबाट ४७०० मिटर माथि पर्दोरहेछ ।

त्यहाँ एम्बुलेन्स, गाडी केही नचल्ने थाहा पाएपछि के गर्ने भनेर मैले नेकपाका नेता माधव सापकोटालाई फोन गरे । सभामुख अग्नीप्रसाद सापकोटाका स्वकीय सचिव गोविन्द पाठकसँग पनि कुरा गरे । राति सरसल्लाह गरेर हेलिकप्टबाट उद्धार गर्ने कुरा भयो । त्यसपछि गृहले नुवाकोटको सिडिओलाई पत्र लेख्यो ।

१८ गते हेलिकप्टर उडाउन तयारी अवस्थामा हामी थियौं । तर मौसमको खराबीका कारण उड्न सकेन । १९ गते बिहान ७ बजेर ३५ मिनेटमा हेलिकप्टर उड्यो । ८ बजे सुरजलाई काठमाडौं ल्याइयो । अहिले बानेश्वरको सिभिल हस्पिटलमा उनको उपचार भइरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!