‘लकडाउन तोड्न खोज्दै हुनुहुन्छ ? म्यान क्याचमा पर्नुहोला’

चौतारा । लकडाउनलाई प्रभावकारी बनाउन अग्रमोर्चामा खटिएका प्रहरी संक्रमणको उच्च जोखिममा छन् । उनीहरुको स्वास्थ्यलाई ध्यान दिँदै विभिन्न सुरक्षा विधि अपनाइएको छ । प्रहरीले पनि आफू सुरक्षित रहन विभिन्न प्रविधि र विधिहरुको खोजी गर्दै आएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले म्यान क्याचको प्रयोग गरी मानिस नियन्त्रणमा लिने अभियान सुरु गरेको छ ।
लकडाउन उल्लघंन गर्नेलाई सामाजिक दुरी कायम गर्दै नियन्त्रणमा लिन म्यान क्याचको प्रयोग गरिएको प्रहरी नायव उपरीक्षक (डीएसपी) माधव काफ्लले जानकारी दिए । प्रहरीको स्वास्थ्यलाई ध्यान दिँदै संक्रमणको जोखिमबाट प्रहरी र लकडाउन उल्लघंनकर्ता दुवैलाई बचाउन यो विधि प्रयोग गरिएको उनले बताए ।
बिहीबार म्यान क्याचको प्रयोग गरी जिल्लामा प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले नियन्त्रणमा लिएकालाई दुई घण्टासम्म राखी कोरोना संक्रमण रोकथामका विभिन्न जनचेतनामुलक कुराहरु सिकाउने गर्दछ ।
हात धुने तरिका, मास्कको प्रयोग , सामाजिक दुरी कायम राख्ने, सरसफाइमा ध्यान दिने लगायत सचेतनामूलक कुराहरु सिकाउन प्रहरी सक्रिय भएर लागेको छ । अति आवश्यक काम र पास लिएर हिडेका बाहेकलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ । ‘लकडाउन भएकोे यतिका दिन भइसक्यो तर पनि लकडाउनलाई वेवास्ता गर्दै हिड्ने धेरै छन् उनले भने, लकडाउनलाई वेवास्ता गर्न सक्नुहुन्छ तर रोगले तपाइहरुलाई वेवास्ता गर्दैन त्यसैले घरभित्रै बस्नुस ।’ जिल्लामा लकडाउन उल्लघंन गर्ने ३४ सय ८९ लाई नियन्त्रणमा लिइ सम्झाइ बुझाइ गरी छाडिएको छ ।
नेपाल प्रहरीले म्यान क्याचको प्रयोगबाट मानिस नियन्त्रणमा लिएको कुराको प्रशंसा गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले पनि प्राथमिकताका साथ समाचार सम्प्रेषण गरेका थिए । काठमाडौंमा भने म्यान क्याचको प्रयोग अलि पुरानो भएको छ ।
यसैबीच प्रहरीले कोरोना संक्रमण भइ मृत्यु भएकाको शव व्यवस्थापनका लागि १० जनाको टोली तयारी अवस्थामा राखेको छ । आवश्यक तालिमसहित शव व्यवस्थापनका लागि प्रहरीले १० जनाको टोली तयारी अवस्थामा राखेको काफ्लेले जानकारी दिए ।
‘संक्रमण फैलिएपछि अवस्था के हुन्छ कसैलाई थाहा छैन् उनले भने, त्यसैले जिल्लाभरको शव व्यवस्थापन गर्ने टोलीलाई तालिम सहित तयारी अवस्थामा राखेका छौ ।’ं कोरोनाबाट मृत्यु हुनेको शव उनीहरुले मात्रै व्यवस्थापन गर्छन् । कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेबाट कोरोना सर्न सक्ने हुँदा कोरोनाबाट मर्नेको शव व्यवस्थापन संसारभर सरकारले नै गर्ने गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस