Techie IT
Tuesday, December 1,2020 / मंगलबार, मंसीर १६, २०७७
×
गृहपृष्ठसमाचारसिन्धुपाल्चोक छिर्ने नाका-नाकामा बन्देज, भित्रेका ४ हजार घर–घरमै

सिन्धुपाल्चोक छिर्ने नाका-नाकामा बन्देज, भित्रेका ४ हजार घर–घरमै


चौतारा । आजबाट सार्वजनिक यातायातबाट सिन्धुपाल्चोकमा यात्रु ओसारपसार गर्न बन्देज लगाइएको छ । पैदलबाटै घरजाने क्रम नरोकिएपछि यात्रुलाई सहज बनाउने हेतुले काठमाडौं, भक्तपुर र धुलिखेलका नाकाबाट छाडिएका सार्वजनिक यातयातबाट गता साता जिल्लामा चार हजार भन्दा बढी मान्छे भित्रिएका छन् ।

प्रमुख जिल्ला अधिकारी उमेश ढकालका अनुसार गृहमन्त्रालयले नाकाहरुमा कडाइ गर्न र बस रिजर्भ गरेर आउजाउ गर्न नदिन निर्देशन दिएपछि यसको कार्यान्वयनका क्रममा जिल्ला आउन बन्देज गरिएको हो । जिल्ला समन्वय समितिको संयोजनमा सोमबार सदरमुकाममा भएको सर्वपक्षीय बैठकले पनि गृहको निर्देशन अनुसारकै निर्णय गरेको थियो ।

हामी निर्देशनको पालना गर्न प्रतिवद्ध छौं,’ प्रजिअ ढकालले भने, ‘राजधानीबाट जिल्ला छिर्ने नाकामा पनि सोही अनुसार कडाइ हुनुपर्छ ।’ उताबाट आएकालाई बन्देउमा मात्र रोक्दा समस्या हुने उनले बताए ।

जिल्लाका स्थानीय तहका प्रमुखका अनुसार गत साता वडा, गाउँपालिका र आफू खुशी गाडी रिजर्भ गरेर काठमाडौं तथा अन्य विभिन्न ठाउँबाट मानिसहरु आएका थिए । धेरैजसो स्थानीय तहका प्रमुखहरुले सामाजिक सञ्जालमा नै सूचना दिएर आफ्ना नागरिकलाई काठमाडौंबाट ल्याएका थिए । कति गाउँपालिकाले उपप्रमुख वा अन्यलाई समन्वय गर्न काठमाडौं पठाएर ल्याएका थिए । कतिपय स्थानीय तहले भने लकडाउनलाई पालना गर्न नागरिकलाई जहाँ हो त्यही बस्नु भनेका थिए । लकडाउनको अवधि थपि“दा उद्धार गर्नैपर्ने बाध्यता परेको स्थानीय प्रतिनिधिहरुको भनाइ छ ।

इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङका अनुसार सकेसम्म नागरिकलाई जहाँ छन् त्यही सुरक्षित रहन भनिएको थियो । लामो समय लकडाउन हुँदा दैनिक काम गरेर खाने र विद्यार्थीहरुलाई एकदम गाह्रो भएकाले गाउँ ल्याएको उनले बताए । इन्द्रावतीमा पाँच सय बढी भित्रेका छन् ।

त्यसैगरी हेलम्बु गाउँपालिकाले ६ सय जनालाई भित्र्याएको छ । ‘काठमाडौंमा खान बस्न नै समस्या भयो भन्नुभयो राहत लिएर काठमाडौं जाने कुरा मलाई ठिक लागेन, गापा अध्यक्ष निमाग्याल्जेन शेर्पाले भने, ‘त्यसैले आफ्ना नागरिकको उद्धार गरिएको हो ।’ काठमाडौंबाट भित्रिएकाको स्वास्थ्य परीक्षण गरी घरमै सेल्फ क्वारेन्टाइनमा रहन भनिएको छ । बसेनन भने स्थानीय जनताले नै गाउँबाट खेद्ने भएकाले सबै क्वारेन्टाइनमा बस्ने विश्वास उनले गरे । भोट चाहिने बेला माग्ने अप्ठ्यारो पर्दा उद्धार नगर्ने भनेर प्रश्न गरेपछि आफूले बाध्य भएर उनीहरुलाई ल्याएको उनले बताए ।

सुनकोशी गाउँपालिका अध्यक्ष श्रवण जिसीे पनि आठ सय जति नागरिक गाउ“ ल्याएको बताउँछन् । सबै स्थानीय तहले भटाभट मान्छे ल्याउन थालेपछि आफूमाथि नैतिक दबाब परेको उनले बताए । ‘उहाँहरुलाई जहाँ हुनुहुन्छ त्यही राहतको व्यवस्था गर्छु भन्दा पनि मान्नुभएन । चार दिन आफै काठमाडौं बसेर तथ्याकं संकलन गर्दै स्वास्थ्य परीक्षण गर्दै गाउँ ल्यायौं,’ उनले भने ।’ ९९ डिग्री भन्दा मुनि तापक्रम भएकालाई गाउँ ल्याएको उनको दावी छ । बाँकी ७ जना जति बढी तापक्रम देखिएकाले काठमाडौंमा छाडिएको जानकारी उनले दिए ।

उनका अनुसार काठमाडौंबाट आएकाहरुसँग गाउँका मान्छे भने त्रसित भएका छन् । गापाले काठमाडौंबाट आएकाको सबै परिवारसहितको स्वास्थ्य परीक्षणलाई तीब्रता दिएको छ ।

मेलम्ची नगरपालिकाले सोमबारबाट आफ्ना नागरिकलाई जिल्ला भित्र्याएको छ । पहिलो दिन एक सय ५० जति नपा भित्रिएको उपमेयर भगवती नेपालले जानकारी दिइन् । ‘वडा नम्बर १,२,५,८ र १२ का एक सय ५० जति ल्याएका थियौं’ उनले भनिन् । अरु उद्धार गर्नुपर्नेको तथ्याकं संकलन गर्दै थियौं मंगलबारबाट लकडाउन थप कडाइ गर्ने कुरा आएकाले छलफल गरिरहेको उनले बताइन् ।

काठमाडौंमा होम क्वारेन्टाइन्मा बसेकाहरुलाई स्वास्थ्य सुरक्षा अपनाएर ज्वरो जाँच गरेर ल्याएकाले संक्रमणको त्रास नरहेको उनको दावी छ । साथै तत्काल स्वास्थ्य परीक्षणबारे नपामा छलफल गरेर निष्कर्षमा पुग्ने योजना बनाइएको छ ।

पाँचपोखरी थाङपालथाप गाउँपालिका अध्यक्ष टासी लामा भने अलि फरक मत राख्छन् । उनी भन्छन्, ‘लकडाउन लकडाउन नै हो यो भावनामा बग्ने बेला होइन ।’ केही मन्त्री, सांसद, गाउँपालिका प्रमुखहरुले भटाभट मान्छे गाउँ ल्याएकोप्रति उनी असन्तुष्ट छन् । त्यसले भोलि पार्ने असर कस्तो हुन्छ कोहीले नसोचेको उनले बताए । यो राजनीतिक गर्ने समय नभएको उनको भनाइ छ ।

‘जिल्लाका साथीहरुलाई उद्धार गर्न हतार नगरौं साँच्चै समस्यामा नै परेको हो कि बाहिर घुम्न हिड्ने बानीले छटपटिएको हो बुझौ भनेको थिए मान्नुभएन । खै साथीहरुले किन हतार गर्नुभएको हो ?’ उनले भने । आफ्ना वडाका वडाध्यक्षहरुलाई नागरिकको अवस्था बुझ्न काठमाडौं पठाएको बताए । साँच्चै खानै नपाएको रैछ भने उद्धार गरेर ल्याउने नत्र उनीहरुलाई गाउँ नल्याउने उनको योजना छ । ‘गाउँमा ल्याएर झन् जात्रा जस्तो हुन्छ सबै एकै ठाउँमा बस्छन् यसले झन् जोखिम बढाउँछ’ उनले तर्क गरे ।
गाउँका स्थानीयले पनि काठमाडौंबाट मान्छे नल्याउन सुझाव दिएको उनले बताए ।

यता प्रदेश सभा सदस्य निमा लामाको तर्क पनि उस्तै छ । उनी भन्छन् ‘यो रोग भावनामा बगेर परास्त गर्न सकिन्न यसका लागि सबैले अनुशासित भएर लकडाउन पालना गर्न जरुरी छ ।’ यहाँ देखासिखी अलि बढी भएको उनको तर्क छ । गाउँ ल्याउनु नराम्रो नभएपनि उनीहरुको व्यवस्थापन मुख्य चुनौती भएको विचार उनको छ ।

जिल्लामा पाँचपोखरी बाहेक सबै स्थानीय तहले सार्वजनिक सूचना नै जारी गरेर आफ्ना नागरिक गाउँ ल्याएका छन् । उनीहरुलाई दुइ हप्तासम्म क्वारेन्टाइन्मा राख्न पाएको भए डराउनुपर्ने अवस्था थिएन तर घर–घर पठाउँदा जोखिमको डर छ प्रदेशसभा सदस्य लामाले भने ।

जिल्लामा ४ सय भन्दा बढी क्वारेन्टाइन निर्माण गरिएपनि त्यहाँ ५५–६० भन्दा बढी बसेका छैनन् । व्यवस्थित क्वारेन्टाइन निर्माण गर्न नसक्दा उनीहरुलाई राख्न समस्या भएको इन्द्रावती गापा अध्यक्ष तामाङको भनाइ छ । उनी भन्छन् ‘बेड, डसना, तन्ना हालेर राख्दैमा त्यो क्वारेन्टाइन हुँदैन । त्यसका लागि आवश्यक मापदण्ड पुरा हुनैपर्छ त्यो जिल्लाका धेरै क्वारेन्टाइनमा देखिएन ।’ बाहिरबाट जानेहरु पनि सेल्फ क्वारेन्टाइन भन्दै घरमै बस्ने गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस