आजदेखि सिन्धुपाल्चोक आउजाउमा कडाई, विकास कार्यक्रमलाई निरन्तरता दिइने

चौतारा । सिन्धुपाल्चोक आउजाउमा मंगलबारदेखि थप कडाई गरिने भएको छ । पछिल्लो समय अरनिको राजमार्ग भएर आउजाउ गर्नेको भीड बढ्दै गएको र केन्द्रीय सरकारले डकडाउनको समय थप गरेको सन्दर्भमा आउजाउमा कडाइ गरिएको हो । अव जहाँ बसेको छ त्यही रहने वातावरण मिलाउने निर्णय बैठकले गरेको छ । त्यसैगरी लकडाउनलाई पूर्ण पालना गर्दै जिल्लामा सञ्चालन भइरहेका विकास निर्माणका कामलाई सुचारु गरिने भएको छ ।
जिल्ला समन्वय समितिको संयोजनमा सोमबार जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद शेर बहादुर तामाङ, प्रदेशसभा सदस्य निमा लामा, काँग्रेस सभापति विकास लामा, नेकपा अध्यक्ष झम्क नेपाल, प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, एसपी प्रज्वल महर्जन, स्थानीय तहका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारीहरु, कार्यालयका प्रमुखलगायतको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । समितिका प्रमुख कृष्ण गोपाल तामाङका अनुसार छलफलमा लकडाउनको पालना गर्दै सामाजिक दुरीलाई ख्याल गर्दै विकास निर्माणका काम सञ्चालन गर्ने निर्णय भएको हो ।
विकास निर्माणका काम सञ्चालन गर्न सम्बन्धित स्थानीय तहले समन्वय गरी पास उपलब्ध गराउने र त्यस कामका लागि आवश्यक निर्मााण सामग्री ल्याउन परे निर्माण कार्यको निरन्तरताका लागि सहजिकरण गर्ने उप समितिले पास उपलब्ध गराउने निर्णय भएको छ । बैठकले जिल्लामा सञ्चालित क्रसरहरु सुचारु गर्ने निर्णय पनि गरेको छ ।
स्थानीय तहहरुसँग समन्वय गरेर सामाजिक दुरीलाई कायम गर्दै क्रसर सञ्चालन गर्न अनुमति दिने भएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । ‘जुन स्थानीय तहमा क्रसरहरु सञ्चालित छन् त्यही स्थानीय तहसँग समन्वय गरेर क्रसर पुनःसञ्चालन गर्ने सहमति भयो, त्यसका लागि आवश्यक सुरक्षा विधि भने अनिवार्य रुपमा अपनाउन पर्नेछ’ उनले भने ।
त्यसैगरी कृषि सामग्री (मल, बिउ) लगायत आवश्यक अन्य सामाग्री साल्ट ट्रेडिङसँग सहकार्य गरेर स्थानीय तहले ल्याउने र कृषकको माग अनुसार वितरण गर्ने निर्णय भएको छ ।
गाउँपालिका महासंघका महासचिव तथा इन्द्रावती गाउँपालिकाका अध्यक्ष वशंलाल तामाङका अनुुसार जिल्लामा पठनपाठनलाई नियमित रुपमा अगाडि बढाइने भएको छ । कक्षा एक देखि नौ सम्मको परीक्षाफल तुरुन्त प्रकाशन गरिनेछ । नयाँ शैक्षिक सत्रका कक्षा स्थानीय रुपमा उपलब्ध स्रोत साधनबाट सञ्चालन गरिने छ । ‘इन्टरनेट, एफएम रेडियो, तथा टेलिभिजन के मार्फत सकिन्छ स्थानीय उपलब्धतालाई हेर्दै पठनपाठन सञ्चालन गर्ने निर्णय भयो अध्यक्ष तामाङले भने, त्यसको लागि स्थानीय तहहरुलाई जिम्मेवारी दिइएको छ ।’
प्रमुख कृष्णगोपालका अनुसार कोरोना संक्रमणको त्रासले जिल्लामा भएका गतिविधि र भविष्यमा विकास योजनालाई अघि बढाउन गर्न सकिने प्रयासमा छलफल गर्न बैठक बोलाइएको थियो । कोरोनाको त्रास र यसबाट सिर्जित समस्याका विषमा व्यापक छललफ भएको उनले बताए । बैठकले स्थानीय गतिविधिमा स्थानीय तहलाई बढी जिम्मावार बनाएको छ । उनका अनुसार बैठकले १० वटा निर्णय गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #side
तपाईको प्रतिक्रिया दिनुहोस