शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाचारबस्ती–बस्तीमै निगरानीः ‘खाद्यवस्तु नभित्र्याउने रणनीति’(भिडियो)

बस्ती–बस्तीमै निगरानीः ‘खाद्यवस्तु नभित्र्याउने रणनीति’(भिडियो)


थाङपालथाप । पाँचपोखरी गाउँपालिकाले बस्ती–बस्तीमै लकडाउनको नीति बनाएर कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलन नदिन खाद्य वस्तुको आपूर्ति सकभर बाहिरबाट नगर्ने रणनीति बनाएको छ । खाद्यवस्तु आयात गर्दा रोग भित्रन सक्ने भन्दै गापाले सकभर गाउँकै खाद्यान्न, तरकारी र मासुको प्रयोग गर्ने नीति बनाएको हो ।

स्थानीय उत्पादनलाई परिचालन गरी त्यहीबाट खाद्यन्न परिपुर्ति गर्ने योजना अनुसार गाउँपालिकाले खाद्यन्न प्रवेशमा रोक लगाएको पालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए । स्थानीय जनताले हामी जे जस्तो छ त्यही खाएर बाँच्छौ खाद्य तथा मासुजन्य पदार्थहरु भित्रिदाँ त्यही वस्तु वा मान्छेबाट कोरोना संक्रमण हुन सक्ने बताए पछि यस्तो निर्णय गरेको उनले बताए । स्थानीयले बोर्डरहरु बनाएर थुन्न आग्रह गरेपछि गापाको सीमा प्रवेशमा कडाइ गर्दै बाँसको ढाट राखेर बाटो बन्द गरिएको छ । बस्तीबस्ती छिर्ने सडक र गोरेटोमा पनि निगरानी बढाएको उनले बताए ।

स्थानीयले बाहिरबाट आउनेलाई रोक्न वडा–वडामा नै लकडाउन गर्न आग्रह गरेपनि आफूले पालिका स्तरमा भने कोहीपनि मानिस वा वस्तु प्रवेश गर्न नदिएको उनले बताए । बाहिरबाट आउनेलाई विशेष निगरानीमा राखिएको छ । विदेशबाट गापा भित्रिने प्रत्येकको घरमा पुगेर स्वास्थ्य जाँच गरिएको छ ।

‘विदेशबाट आउनेको वडाले गरेको डाटा संकलनमा केही त्रुटी होलाकी भनेर हामीले क्रसचेक गर्यौ र उनीहरुको परिवारलाई समेत विषेश निगरानीमा राख्यौ’, उनले भने । उनीहरुको स्वास्थ्य जाँचका लागि गापाका प्रतिनिधि स्वास्थ्यकर्मी र औषधिसहित घर–घरमा पुगेका छन् । गापाले स्थानीय स्तरमा २० बेडको क्वारेन्टाइन निर्माण गरेको छ । तर त्यहाँ अहिलेसम्म कोही बसेका छैनन् । तिपेनीको क्षेत्रपालेश्वरीमा २० बेडको क्वारेन्टाइन निर्माण गरेतापनि गापाले क्षेत्रीय क्वारेन्टाइनलाइ विषेश प्राथमिकता दिएको छ । सुरक्षा, स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्रीको हिसाबले मेलम्चीमा बन्ने क्षेत्रीय क्वारेन्टान नै उपयुक्त हुने उनको ठहर छ ।

गापाले निर्वाचित जनप्रतिनिधि मात्रै होइन गापाभित्र रहेका सम्पुर्ण राजनीतिक नेतृत्वको बीचमा छलफल गरेर निर्णय गर्ने र त्यसलाई कार्यान्वयन गर्दै आएको छ । यो विपद् परास्त गर्न सबै मिलेर लड्नुपर्ने भएकाले राजनीतिक दलबीच पनि सहकार्य जरुरी रहेको उनले बताए । उनले आफूले गापाभित्र रहेका सबै राजनितिक दलहरुसँग छलफल गरेको बताए ।

गापाले सचेतना कार्यक्रम चलाउँदैं फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मीको परिचालनलाई विशेष प्राथमिकतामा राखेको छ । स्वास्थ्य चौकी छेउछाउको चोक–चोकमा औषधि छर्किएको छ । गापाभित्र आठवटा स्वास्थ्य चौकी, ६ वटा वर्थिङ सेन्टर, दुइ वटा स्वास्थ्य युनिट र मानेखर्कमा चिकित्सकसहितको स्वास्थ्य संस्था छ ।

गापाले लकडाउनलाई पूर्ण रुपमा पालना गर्न प्रत्येक वडामा शसस्त्र प्रहरीसहित गस्ती गरेको छ । लकडाउनको समयमा भवितव्य रुपमा गाउँमा कोहीको मृत्यु भएमा थोरै मान्छे जम्मा भएर सामाजिक दूरी कायम गरेर संस्कार अनुसारको काम गर्न गापाले आव्हान गरेको छ । साथै ठूलो संख्यामा सडक र खानेपानीमा काम गर्न बाहिरबाट आएका एक सय ५० मजदुरलाई घर फर्काइएको छ । बाँकीलाई तथ्याकं संकलन गरेर खाद्यसामाग्रीको व्यवस्थापन गरिएको छ ।

खान नपाउने नपुग्ने नागरिकको तथ्याकं संकलन भइरहेको उनले बताए । तथ्याकं आएपछि उनीहरुलाई राहत दिने गापाको तयारी छ । गापामा रहेको विपद् व्यवस्थापन कोषलाई बलियो बनाउन खोजिएको उनले बताए । अन्य शीर्षकबाट केही रकम तानेर राख्ने र त्यहीबाट कोरोना संक्रमण नियन्त्रण र राहत व्यवस्थापन गर्ने उनले बताए । गापामा रहेका गर्भवती महिलालाई गार्हो रहेको र उनीहरुको तथ्याकं संकलन गरी आवश्यक परे उद्धारका लागि गापा तयारी अवस्थामा छ । दीर्घरोगीहरुको औषधि व्यवस्थापन र वितरण शुरु गरिएको छ ।

सरकारलाई सुझाव दिँदै उनले निजी अस्पताललाई राष्ट्रियकरण गर्नुपर्ने धारणा राखे । संवेदनशील अवस्थामा टाढा रहने हस्पिटलहरु आवश्यक नरहेको उनको जिकिर छ । उनले प्रत्येक नागरिकको स्वास्थ्य बिमा कार्यक्रम अगाडि बढाउन सुझाएका छन् । ‘शिक्षा र स्वास्थ्यलाई सामान्यीकरण गर्न यो जरुरी छ । तर काम गर्न के ले रोकेको छ बुझ्न सकिन’ उनले भने ।

सचेतना अभियानबाट कोरोना संक्रमण नियन्त्रण कार्य सुरु गरेको गापाले सुरुमा नै गापाको सीमामा हेल्थ डेस्क स्थापना गरी गापा भित्रिनेको चेकजाँच गरेको थियो ।


क्याटेगोरी : समाचार, सिन्धु खबर टिभी
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!