`एक कल फोन गर्नुस खाद्यान्न र औषधि घर-घर पुर्याउँछौं`(भिडियोसहित)

सुनकोसी । सुनकोसी गाउँपालिका वडा नम्बर ७ ले आवश्यक परे खाद्यान्न र औषधि घर घरमै पुर्याउने व्यवस्था वडाले गर्ने तर लकडाउन उल्लघंन नगर्न सबै वडावासीलाई आग्रह गरेको छ । कोरोना भाइरस संक्रमण रोक्ने एउटै उपाय र उपचार लकडाउन भएकाले यसलाई पुर्ण पालना गर्न वडावासीलाई आग्रह गरेको वडाअध्यक्ष ईश्वर तिमल्सिनाले जानकारी दिए ।
‘आवश्यक पर्दा एक कल फोन वडा कार्यालय वा मलाई गर्नुस आवश्यक खाद्यान्न र औषधि घरमा नै पुर्याउने व्यवस्थापनमा लागेको छु सिन्धुखबरसँग कुरा गर्दै उनले भने, बाहिर निस्केर आफ्नो स्वास्थ्य जोखिममा नपार्नुस ।’ बाहिर निस्केर जथाभावी हिड्दा आफ्नो मात्रै होइन परिवारकै स्वास्थ्य जोखिममा पर्ने उनको भनाइ छ । वडाले लकडाउनका कारण दिर्घरोगीहरुले खाने औषधि घर घर पुर्याउने व्यवस्था गरिरहेको छ ।
औषधिका साथै वडाले राहत वितरणको कामलाई तीव्र बनाएको छ । वडामा रहेका विपन्न, अशक्त, एकल महिला, वृद्धवृद्धालाई वडाले राहत वितरण गर्ने जनाएको छ । त्यसको लागि राहत दिन आवश्यक देखिएका परिवारको पहिचान गर्ने काम भइरहेको उनले बताए । ‘वडामा धेरै जनसंख्या दलित र जनजातिको छ उनीहरुले दैनिक काम नगरे खान पाउँदैनन् त्यसैले पनि वडामा राहत वितरण तीव्र रुपमा गर्नुपर्ने छ’ उनले भने ।
विश्व नै आक्रान्त भएको यस कोरोना संक्रमण नियन्त्रणका लागि आकस्मिक अवस्थामा सबै तयारी पुर्याउन नसके पनि काम गर्दै सिक्दै अघि बढ्न जरुरी रहेको उनले बताए । विदेशबाट आउनेलाई घर घर पुगेर होम क्वारेन्टाइन बसाईको अनुगमन र सचेतना जगाउने कुरालाई वडाले प्राथमिकता दिएको छ ।
वडाको छुट्टै आर्थिक अधिकार र कोष नभएकाले आफूले चाहेको कतिपय काम गर्न नसकेको उनले गुनासो गरेका छन् । वडाले काठमाडौं तथा अन्य जिल्लाबाट आएकाको स्वास्थ्य परीक्षण गरेर मात्रै भित्र्याएको उनले दाबी गरे ।
क्याटेगोरी : समाचार, सिन्धु खबर टिभी
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस