रातारात सिन्धुपाल्चोक आउनेहरु क्वारेन्टाइनमा नबस्दा त्रास

चैतारा । कोरोना भाइरस(कोभिड–१९) संक्रमण रोक्न गरिएको लकडाउनलाई उल्लंघन गर्दै गाउँ र नगारपालिकाले राजधानीलगायत ठाउँबाट बस रिजर्भ गरेर जिल्लावासीलाई घर ल्याउन थालेका छन् । अप्ठेरोमा परेका र घर आउन अति आवश्यक ठानिएकाहरुलाई उद्धार गर्नु उपयुक्त ठानिए पनि उनीहरुको व्यवस्थापन सही रुपमा नहुँदा यसबाट उत्पन्न असहज परिस्थितिप्रति भने सावधानी अपनाइएको छैन । बुधबार पनि बस चढेर जिल्ला आउने क्रम रोकिएको छैन ।
राजधानीबाट सामूहिक रुपमा आएकाहरुबाट संक्रमण फैलन सक्ने त्रास एकातिर छ भने स्थानीय तहले जथाभावी रुपमा अनुमति दिएर यसबाट हुन सक्ने खतरालाई न्यूनिकरण गर्न भने खासै चासो दिएको देखिँदैन । कतिपय स्थानीय तहले त क्वारेन्टाइन कै आवश्यकता नरहेको बताउँदै आएका छन् ।
मंगलबार मात्रै १२ वटा गाडीमा तीन सय बढी मान्छे जिल्ला भित्रेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक(डिएसपी) माधव प्रसाद काफ्लेका अनुसार ३ सय ४३ जना जिल्ला भित्रिएका छन् । गाउँ र नगरपालिकाका प्रमुखहरुले दिएको जानकारी अनुसार पनि तीन सय भन्दा बढी भित्रिएको देखिन्छ ।
सबैभन्दा बढी त्रिपुरासुन्दरी गाउँपालिकामा ५ वटा बसमा स्थानीय आएको जानकारी गापा अध्यक्ष भुपेन्द्र श्रेष्ठले दिए । गापाका वडा नम्बर ५ र ६ मा गरी पाँच बस मानिस भित्रेका छन् । गापामा भित्रिने मानिसलाई दुइ ठाउँ ड्यामसाइट र सुनकोसीमा स्वास्थ्यकर्मी र प्रहरी समेत राखेर स्वास्थ्य परीक्षण पछि मात्रै भित्र्याएको उनले दावी गरे । ‘उनीहरुको यात्राको सबै विवरण राखिएको छ सिन्धुखबरसँग कुरा गर्दै उनले भने इन्फ्रा–रे थर्मोमिटरबाट ज्वरो जाँच गरेर मात्रै उनीहरुलाई गाउँपालिका छिर्न दिएका छौं ।’
प्रहरीको तथ्याकंमा त्रिपुरासुन्दरीमा १ सय ३० जना भित्रिएको देखिन्छ । गापा भित्रिएका कोही पनि क्वारेन्टाइनमा नबसेको उनले बताए । ‘स्वास्थ्य परीक्षणमा कोहीमा पनि शंकास्पद लक्षणहरु देखिएनन त्यसैले उहाँहरु सबैलाई घरमा नै सेल्फ क्वारेन्टाइनमा बस्न भनेर पठाएका छौ’ उनले भने ।
सुनकोसी गाउँपालिकामा पनि भित्रिनेको संख्या उल्लेखनीय छ । सुनकोसीको वडा नम्बर ७ र ५ मा तीन वटा बसमा स्थानीय आएका छन् । तर उनीहरु आएको बारे आफूलाई केही थाहा नभएको गाउँपालिका अध्यक्ष श्रवण जिसीले बताए । ‘केही गाडी मानिस भित्रिए भनेर मैले नि सुने गाउँपालिकाले केही समन्वय नै गरेको छैन खै कसरी आए अचम्ममा छु’ उनले भने ।
आफूलाई त्यसरी मानिस आउने बारे केही थाहा नभएकाले स्वास्थ्य परीक्षणको व्यवस्थापन गर्न नसकेको उनले स्विकार गरे । ती मानिसहरु आ आफ्नो घर पुगिसकेका छन् । ‘काठमाडौंमा बस्नेलाई खाद्यान्न समस्या भए भन्नुस हामी त्यही आइपुग्छौं खाद्यान्न लिएर तर अहिले जहाँ हुनुहुन्छ त्यही बस्नुस भनेको थियौं उनले भने, ‘यता ल्याउने बारे केही सोचेका थिएनौं कसरी आए कसले ल्याए म बुझ्दैछु ।’ यसरी गाउँमा भद्रगोल मानिस आउँदा थप त्रास फैलने उनले बताए । सुनकोसीमा मंगलबार मात्रै ९० भन्दा बढी स्थानीय भित्रेका छन् ।
लिसंखुपाखरमा पनि तीन बस स्थानीय भित्रेका छन् । मंगलबार राति तीन वटा बसमा ९० भन्दा बढी स्थानीय भित्रिएको गाउँपालिका अध्यक्ष कमल नेपालले जानकारी दिए । ‘हामीले समन्वय गरेर ल्याउने भनेका थियौं खै उहाँहरु कसरी आउनुभयो आएपछि मलाई पनि थाहा भएको हो’ उनले भने । दुइ वटा गाडी स्थानीयकै भएकाले उनीहरु आएको र थप एक गाडी आएको उनले बताए ।
आएकामध्ये १५ जना भने क्वारेन्टाइनमा बसेको उनले जानकारी दिए । गापाको वडानम्बर ७ मा रहेको बन्धन आधारभूत विद्यालयमा रहेको क्वारेन्टाइन्मा उनीहरु बसेका छन् । ठूलो बन्धनका उनीहरुलाई गाउँलेले क्वारेन्टाइनमा दुइ हप्ता नबसे गाउँ पस्न नदिने भनेका थिए । स्थानीयको दबावमा उनीहरु क्वारेन्टाइनमा बसेका हुन् । उनीहरुको खाने व्यवस्था सबै गापाले गर्ने अध्यक्ष नेपालले जानकारी दिए ।
त्यसैगरी वडा नम्बर ७ ठूलोपाखरमा काठमाडौंबाट आएकाको बुधबार स्वास्थ्य परीक्षण गरिएको छ । ‘मंगलबार उहाँहरु आफ्नै घर–घर जानुभएछ बुधबार वडाध्यक्षको पहलमा सबैलाई स्वास्थ्य परीक्षण गरिएको उनले जानकारी दिए । उनीहरु कोही पनि शंकास्पद देखिएका छैनन् । तर अर्को एक बस स्थानीय भने घरमा गएको र उनीहरुको बारे विवरण संकलन गर्ने प्रयास भइरहेका उनले बताए । उनले भने, ‘आउनेहरु सबैलाई क्वारेन्टाइनमा दुई हप्ता बसेर मात्रै घर जानु भनेका थियौं मान्नुभएन हामी पनि के नै गर्न सक्छौं र ।’ जसका कारण गाउँमा त्रास भने बढेको उनले स्विकारेका छन् ।
यता बाह्रबिसे नगरपालिकामा पनि एक बस स्थानीय भित्रेको प्रहरीको तथ्याकं छ । नगरपालिकाका मेयर निमफुञ्जो शेर्पा भने यसलाई स्विकार गर्दैनन् । हाम्रो नगरपालिकावासी बुधबार आउने कुरा छ उनले भने, ‘मंगलबार कोही आएको छैन् ।’ प्रहरीको तथ्याकंमा प्रदेश ३–०१००६ स ५७१ नम्बरको गाडीमा बाह्रबिसे ६ का २५ जना भित्रेका थिए ।
बुधबार आउनेलाई स्वास्थ्य परीक्षण गरेर मात्रै नगरपालिका भित्र्याएको उनले बताए । ‘खाने कुरा पानी केही छैन् भनेर फोन आइरहेको छ । त्यही राहत ल्याइदिन्छौं भन्दा पनि मानेनन त्यसैले अति विपन्न, ज्यालादारी, अशक्त, एकलको पहिचान गरी चार वटा बसमा नगरवासीलाइ भित्र्याएकोे हो’ शेर्पाले भने । त्यसका लागि प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसे, बसपार्क र प्रहरी कार्यालय छेउ तीन ठाउँमा स्वास्थ्य परीक्षणका लागि हेल्थ डेस्क स्थापना गरिएको छ । स्वास्थ्य परीक्षण गरेर मात्रै उनीहरुलाई भित्र्याउने नपाको योजना छ । काठमाडौंमा मजदुर, अशक्तहरुको तथ्याकं संकलन गर्न उपमेयर सुशीला पाख्रिनको संयोजकत्वमा समिति नै गठन गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल भने विपद व्वयवस्थापनको सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई नै दिइएको बताए । उहाँहरुले के कसरी व्यवस्थापन गरेर ल्याउनुभयो आफूलाई थाहा नभएको उनले बताए । स्थानीय तहले काठमाडौं लगायत देशका विभिन्न भागबाट आउनेलाई क्वारेन्टाइन्मा राख्छौं भनेको छ ।
तर धेरैले क्वारेन्टाइनमा राखेका छैनन् । लामो समय लकडाउन हुँदा मजदुरी गरेर दैनिक गुजारा चलाउनेलाई समस्या परेको र लामो दुरी हिडेरै गाउँ जाने नरोकिएपछि सरकारले लकडाउनलाई केही खुकुलो बनाएको थियो । तर खुकुलोको मौका छोपेर स्थानीय तहले सूचना नै जारी गरेर जिल्लावासीलाई गाउँ लैजाने जानकारी गराएपछि घर आउनेको संख्या ह्वात्तै बढेको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस