बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाचारविदेशबाट आएका सवैलाई क्वारेन्टाइनमा नराख्दा चुक्यौं- सिडिओ ढकाल (भिडियोसहित)

विदेशबाट आएका सवैलाई क्वारेन्टाइनमा नराख्दा चुक्यौं- सिडिओ ढकाल (भिडियोसहित)


चौतारा । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी(सिडिओ) उमेश कुमार ढकालले विदेशबाट आएका सवै जिल्लावासीलाई क्वारेन्टाइनमा राख्न नसक्दा हामी चुकेको बताएका छन् । उनीहरु सवैलाई क्वारेन्टाइनमा राख्न सकेको भए संक्रमित हुन वा होइनन् भनेर छिट्टै र सरल तरिकाले पत्ता लगाउन सहज हुने धारणा उनले राखेका छन् ।

संक्रमितसँगै नेपाल आएकामध्ये केही व्यक्ति यस जिल्लाका पनि रहेको तथ्याकंमा देखाउँछ । तर तिनीहरु जिल्ला आएको भने देखिदैन उनले भने । ती सबै जिल्ला प्रवेश नगरी काठमाडौंमा नै रहेकाले उनीहरुबाट संक्रमणको जोखिम जिल्लामा नरहेको ढकालको दावी छ ।

‘हामीले विदेशबाट आएकालाई धमाधम क्वारेन्टाइनमा नै राख्न सकेको भए बनिरहेका क्वारेन्टाइन व्यवस्थित हुने थिए उनले सिन्धुखबरसँग भने त्यो कुरामा चुक्ता संक्रमणको त्रास भने कायम नै छ ।’सुरुमा क्वारेन्टाइन व्यवस्थित नहुँदा सबैलाई घरमा नै सेल्फ क्वारेन्टाइनमा रहन भनिएको थियो ।

सिन्धु खबरसँगको अन्तर्वार्तामा उनले कोरोना भाइरस(कोभिड–१९) को नियन्त्रण र रोकथामका सन्दर्भमा अहिलेसम्म जिल्लाको परिस्थिति सहज रहेको बताए । उनका अनुसार हालसम्म ७३ जना क्वारेन्टाइनमा रहेकोमा ५६ जना बिरामी नभइ घर फर्केका छन् ।मंगलबारसम्मको तथ्यांक अनुसार अहिले १७ जना क्वारेन्टाइनमा छन् । क्वारेन्टाइनमा १४ पुरुष र तीन जना महिला रहेका छन् । दुई जना सुनकोशी गाउँपालिकाको ग्रामीण महिला सीर्जनशील परिवारमा र १५ जना मेलचौरस्थित क्वारेन्टाइनमा छन् ।

हालसम्म ८ जना आइसोलेसनमा रहेर डिस्चार्ज भएको उनले बताए । विभिन्न मुलुकबाट फर्किएका उनीहरुको स्वाब टेष्ट गर्दा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको हो । उनीहरु कोरोनाको आशंका लागेर स्वास्थ्यसंस्थाको सम्पर्कमा गएका थिए ।चैत १ गतेदेखि विदेशबाट जिल्लामा भित्रिएका दुई सय ४९ जनाको पनि द्रुत परीक्षण टेष्ट (आरडीटी) शुरु गरिएको छ । बुधबारसम्म आरडीटी गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको प्रजिअ ढकालले बताए ।

जनप्रतिनिधि र प्रशासनको संयुक्त पहलमा खोजी गर्दा विदेशबाट दुई सय ४९ जना जिल्ला भित्रिएका छन् । ती सबैको आरडीटी परीक्षणका लागि किटहरु सम्बन्धित गाउँपालिका वा नगरपालिकाकाको तोकिएको स्थानमा पुगिसकेको उनले बताए । संक्रमण नियन्त्रणको पूर्व तयारी अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा र क्षेत्रीय रुपमा पनि तीन ठाउँमा क्वारेन्टाइन निर्माण भएका छन् । तर ती क्वारेन्टाइनलाई व्यवस्थित गर्न नसकिएकोमा भने ढकालले चिन्ता व्यक्त गरे ।

अझै पनि बाहिरी जिल्लाबाट जिल्ला भित्रिने क्रम रोकिएको छैन् । वीरगञ्ज, भारतदेखि मानिसहरु रातारता जिल्ला भित्रिएका छन् त्यसकारण पनि संक्रमणको त्रास कायम नै छ । लकडाउनलाई सवैले पालना नगर्ने हो भने भयावह अवस्था आउने चेतावनी उनले दिए । स्थानीय परिस्थितिलाई संवेदनशील रुपमा लिन पनि उनले जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।

काठमाडौंबाट आउनेलाई बढी अनुशासित भइदिन उनले आग्रह गरे । ‘गाउँ टोलमा शंकास्पद देखिएका व्यक्तिलाई तत्काल क्वारेन्टाइनमा राख्न सबै वडा अध्यक्षलाई अनुरोध गर्दछु’ उनले भने । कोरोना संक्रमण अझै तीव्र रुपमा फैलिरहेकोप्रति इगिंत गर्दै ढकालले क्वारेन्टाइन र आइसोलेसनलाई व्यवस्थित गर्न सबै स्थानीय तहलाई आग्रह गरे । विकास नहुने हो कि भन्ने स्थानीय जनप्रतिनिधिमा चिन्ता देखियो उनले भने ‘हामी रहे विकास फेरि गरौंला’ ।

 


क्याटेगोरी : समाचार, सिन्धु खबर टिभी
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!