शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठसमाचारतातोपानी नाका नियमित गर्न मितेरी पुलमा दुई देशका सुरक्षा अधिकारीको बैठक

तातोपानी नाका नियमित गर्न मितेरी पुलमा दुई देशका सुरक्षा अधिकारीको बैठक


तातोपानी । तातोपानी नाका नियमित रुपमा सञ्चालन हुने भएको छ । नाकाबाट मेडिकल सामाग्री तथा खाद्यान्न वस्तुको आयात नियमित रुपमा हुने भएको हो । आज मितेरी पुलमा बसेका दुई देशका सुरक्षा अधिकारीबीचको बैठकले आवश्यक सुरक्षा विधि अपनाएर सामान आयात गर्नेे सहमति गरेको छ ।

सहमति अनुसार चीनले सामान चीनको सीमासम्म ल्याइदिने र यताबाट कन्टेनर गएर सामान ल्याउने सहमति भएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए । यताबाट २० जना कन्टेनर चालकलाई तयारी अवस्थामा राख्ने र आवश्यक पर्दा ती २० जनामात्रै कन्टेनर लिएर पारि जाने ढकालले बताए । तर पारि जानेको स्वास्थ्य परीक्षण भने अनिवार्य गरिएको छ । सीमामा चीन र नेपाल दुवैतर्फ हेल्थ डेस्क स्थापना गरिएको छ ।

बैठक सामाजिक दुरीलाई कायम गर्दै मितेरी पुलको बीचमा बसेको थियो । नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारी ढकाल, प्रहरी प्रमुख एसपी प्रज्वल महर्जन, अनुसन्धान अधिकृत, जनस्वास्थ्य प्रमुख लगायत नौ जना सहभागी थिए भने चीनका तर्फबाट तिब्बतको न्यालम जिल्लाका सिडियो मिस्टर फेङ लि वीलगायत सातजना सहभागी थिए ।

यसैबीच न्यालम जिल्लाका सिडियो फेङ लि वीले सिन्धुपाल्चोक जिल्लालाई स्वास्थ्य सामाग्री सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । स्वास्थ्य सामाग्रीमा के के छन् भन्ने उल्लेख भने नगरिएको उनले बताए ।

चीनतर्फको नाका खुलाउने निर्णय सरकारले पहिले नै गरेको थियो । कोरोना भाइरस संक्रमणको डरका कारण नाका खुलाउने भनिएतापनि सामान आयात निर्यात सुचारु हुन भने सकेको थिएन । केही समयअघि केही स्वास्थ्य सामाग्री चीनबाट आएर नाका पुन सुचारु भएको भएतापनि त्यसलाई अझ व्यवस्थित र सुरक्षित बनाउने विषयमा छलफल गर्न आजको बैठक बसेको थियो । चीनको वुहानमा कोरोना संक्रमण देखिएपछि गत माघ देखि नाका बन्द गरिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!