कोरोना नियन्त्रण प्रयासका लागि सिन्धु काँग्रेस कार्यकर्ताबीच भिडियो कन्फरेन्स

सिन्धुपाल्चोक । नेपाली काँग्रेस सिन्धुपाल्चोकले पार्टीबाट निर्वाचित स्थानीय तहका प्रतिनिधि र अगुवा कार्यकताबीच भिडियो कन्फरेन्समार्फत आज अन्तरक्रिया गरेको छ । नयाँ वर्ष २०७७ का अवसरमा शुभकामना तथा कोरोना संक्रमण नियन्त्रणका लागि भएका पूर्व तयारीका सम्बन्धमा गाउँ तहका प्रयास सम्बन्धमा अन्तरक्रिया भएको हो ।
अन्तरक्रियामा कार्यकर्ता तहबाट आ आफ्नो क्षेत्रमा गरिएका प्रयासहरु, जनप्रतिनिधिले स्थानीय तहमा निर्वाह गरेको भूमिका र आगामी दिनमा कसरी अगाडि बढ्ने सम्बन्धमा छलफल भएको काँग्रेस जिल्ला सभापति विकास लामाले जानकारी दिए । पार्टीको केन्द्रले गत चैत २४ मा जिल्लामा सरकारले कोरोना नियन्त्रणका लागि गरेका प्रयासका सम्बन्धमा अनुगमन गर्न निर्देशन दिएको थियो ।
अनुगमनका लागि पार्टीबाट निर्वाचित स्थानीय तहका प्रतिनिधि र पराजित उम्मेदवारहरुलाई विषेश जिम्मेवारी दिएको थियो । नेपाली काँग्रेसबाट इन्द्रावती गाउँपालिकाबाट निर्वाचित अध्यक्ष वंशलाल तामाङले पार्टीले आफूलाई स्थानीय तहमा गरेका गतिविधिबारे सोधेको बताए । साथै उनले पार्टीबाट निर्वाचित स्थानीय प्रतिनिधि र कार्यकर्ताहरुबीच पनि आफूसँग अन्तरक्रिया भएको बताए ।
हामी पार्टीकै टिकटले निर्वाचित भएकाले कतिपय विषयहरु केन्द्रीय निर्देशन बमोजिम पनि अघि बढाइएको जानकारी उनले दिए । काँग्रेस महासमिति सदस्य जिम्मी लामाको कन्फरेन्सको प्राविधिक संयोजनमा भएको उक्त अन्तरक्रियामा पार्टीका जिल्ला समिति सदस्यहरु, भातृ तथा शभेच्छुक संस्था, स्थानीय तहका पदाधिकारीको सहभागिता थियो ।
अन्तरक्रियामा कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि भएका प्रयास, अपनाउनुपर्ने सावधानी, अलपत्र परेका मजदुरहरुको उद्धार र राहत, पार्टी कार्यकर्ताले निर्वाह गर्नुपर्ने भूमिका मुख्य रुपमा उठेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस