आईतबार, असोज ३१, २०७८
गृहपृष्ठसमाचारकोरोना नियन्त्रणका लागि मेलम्ची नगरपालिकाको ‘आकर्षक’ योजना

कोरोना नियन्त्रणका लागि मेलम्ची नगरपालिकाको ‘आकर्षक’ योजना


मेलम्ची । कोरोना रोकथामका लागि मेलम्ची नगरपालिकाले २५ लाखको राहत कोष स्थापना गरेको छ । कोरोना नियन्त्रण र रोकथामका लागि नपाले छुटटै कोष नै खडा गरेर राहत जम्मा गरेको हो । त्यसमा केही बैक तथा सहकारीहरुले पनि सहयोग गरेको मेलम्चीका मेयर डम्बर बहादुर अर्यालले जानकारी दिए । नेपाल बैंक लिमिटेड,मेलम्ची शाखाले ३५ हजार ८२ रुपैयाँ जम्मा गरेको छ ।

‘पालिकाको विपत व्यवस्थापन कोषमा ७० लाख छ तर कोरोना नियन्त्रण र रोकथामका लागि मात्रै अहिले २५ लाखको राहत कोष खडा गरेका छौं सहयोग गर्न चाहनेले राहत कोषम रकम जम्मा गर्न सक्नुहुनेछ’ मेयर अर्यालले भने ।

क्वारेन्टाइन निर्माण
मेलम्ची नगरपालिकामा अट्याच बाथरुम सहितको २७ बेडका क्वारेन्टाइन निर्माण गरिएका छन् । नपाले मेलम्चीमा रहेको रिभर रिसोर्ट होटलमा २२ बेडको र नगरपालिकाको नयाँ बनेको भवनमा पाँच बेडको क्वारेन्टाइन निर्माण गरेको छ । रिभर रिसोर्ट होटलमा बनेको क्वारेन्टाइनमा सबै सुविधा रहेको छ । त्यहाँ खाना र सुरक्षाको जिम्मा सेनाले लिएको छ ।

‘रिभर रिसोर्टमा एउटा कोठामा एउटा मात्रै मान्छे राख्दा २२ जना अट्ने हो यदि २ जना राख्ने हो भने ४४ जना जति नै अट्छ अर्याललले भने, होटलका अन्य कोठा पनि प्रयोग गर्ने हो भने ५० जना जति राख्न मिल्छ ।’ नपाका अन्य वडामा पनि क्वारेन्टाइन बने पनि त्यसलाई आफूले मान्यता नदिएको अर्यालले बताए । ‘क्वारेन्टाइन भनेर बेड मात्रै राखेर भएन त्यसमा खान, बस्न र स्वाथ्यकर्मीको समेत व्यवस्था हुनुपर्छ अन्य वडामा बनेका क्वारेन्टाइन व्यवस्थित छैनन् ।’ तर क्वारेन्टाइनमा अहिलेसम्म एक जना पनि छैनन् ।
एम्बुलेन्स ‘शिल’

मेलम्ची नपामा चार वटा एम्बुलेन्स छन् । एउटा एम्बुलेन्स कोरोनाको आंशका गरिएका विमारी बोक्नको लागि ‘शिल’ गरिएको मेयर अर्यालले जानकारी दिए । अन्य तीन वटा एम्बुलेन्स भने अन्य विमारीका लागि प्रयोग गरिने छ ।

एम्बुलेन्स चालकलाई आवश्यक सुरक्षा सामाग्री नपाले नै उपलब्ध गराएको छ । केही दिनअघि जिल्ला समन्वय समितिले पनि जिल्लामा सञ्चालित एम्बुलेन्सका चालकहरुलाई सुरक्षा सामाग्री प्रदान गरेको थियो ।
स्वास्थ्य सामाग्री
स्वास्थ्यकर्मीको सुरक्षाका लागि नपामा २० वटा पीपीई सेट छन् । ती क्वारेन्टाइनमा प्रयोग गरिने हैन । आएसोलेशनमा गएपछि त्यो धेरै आवश्यक हुने हुनाले आगामी दिनमा संक्रमणको अवस्थालाई मध्यनजर गरी केही सेट पीपीई थप्ने तयारीमा नपा छ ।

‘सजिलै उपलब्ध छैनन् केही पीपीई सेटको जोहो गर्न प्रयासरत छौं तर राम्रो पाएका छैनौं,’ अर्यालले भने । आवश्यक सामान्य औषधिहरु नपाले व्यवस्थापन गरेको छ । तर भोलि महामारी नै फैलियो भने नपाका औषधि र उपकरणले थेग्न नसक्ने अर्यालको भनाइ छ ।
तीन वटा थर्मल गनको ५० हजार
जिल्ला भरि नै ज्वरो नाप्ने थर्मल गनको अभाव छ । त्यसो त मेलम्ची नपामा पनि पर्याप्त थर्मल गन छैन् । नपाभरिमा जम्मा तीन वटा थर्मल गन छन् । ती पनि धेरै महगोंमा खरिद गरिएका । सामान्य अवस्थामा एउटा थर्मल गनको पाँच हजार पर्छ । तर नपाले तीनवटा थर्मल गनको ५० हजारसम्म तिरेको छ ।

‘पाँच हजार पर्ने थर्मल गनलाई २५ हजार भन्नेरहेछन् मेयर अर्यालले भने, त्यत्रो पैसा नगरपालिकाले भुक्तानी दिन सक्ने भएन अनि व्यक्तिगत रुपमा केही पैसा हालेर ५० हजारमा तीनवटा थर्मल गन ल्याएका छौं ।’
स्वास्थ्यकर्मी
नपाभरि १६ स्वास्थ्यचौकी छ । एउटा अस्पताल छ । पाँच जना डाक्टरको दरबन्दी छ । केही समय अघिसम्म पाँच जना डाक्टर थिए । दुइ जनाले स्थायीमा नाम निकाले पछि अहिले तीन जना मात्रै डाक्टर छन् । दरबन्दी अनुसारको डाक्टर पठाइदिन स्वास्थ्य विभागमा जानकारी गराएको अर्यालले बताए ।

जरुरी हुँदा हामी पठाइदिन्छौ भन्नुभएको छ यही मितिमा पठाउँछौ नभनेको उनले जानकारी दिए । ‘नपामा यति नै स्वास्थ्यकर्मी छन् भन्ने एकिन मलाई छैन तर स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बस्दा पनि १४, १५ दिनसम्म लाई पुग्ने नपामा छन्’ उनले भने । एकजना स्वास्थ्यकर्मीले आइसोलेसनमा २४ घण्टा विरामी हेरेपछि पाँच दिन क्वारेन्टाइन्मा बस्नुपर्ने अन्तराष्ट्रिय व्यवस्था छ ।
विदेशबाट फर्केकाको अवस्था
मेलम्ची नपा भरि ४२ जना विदेशबाट आएका छन् । उनीहरु सबै होम क्वारेन्टाइनमा बसेका छन् । उनीहरु युरोप, अमेरिका, खाडी राष्ट्र र भारतबाट यही चैत्र महिनामा नेपाल आएका हुन् । विदेशबाट आएका व्यक्तिहरुको घर घरमा सुरुवाती दिनमा डाक्टर, सुरक्षाकर्मी, जनप्रतिनिधि साबुन लगायत जरुरी औषधि लिएर पुगे । उनीहरुलाई क्वारेन्टाइनमा बस्न, नियमित साबुन पानीले हात धुन र तीन मिटरको दुरी राखेर परिवारका सदस्यसँग बस्न पनि स्वास्थ्यकर्मीले भनेका थिए ।

ती मध्ये तीन जनाको दुई हप्ता नाघ्न बाँकी छ, अन्यको दुई हप्ता नाघिसकेको मेयर अर्यालले जानकारी दिए । ती सबैको स्वास्थ्यस्थिति राम्रो छ । दुई जना स्वास्थ्यकर्मीले विदेशबाट आएका व्यक्तिहरुलाई नियमित सम्पर्क गरेर स्वास्थ्य अवस्थाबारे जानकारी लिने गर्दछन् । नियमित सम्पर्क गर्दा उनीहरुलाई ज्वरो पनि आएको जानकारी नपाएको उनले बताए ।
राहत व्यवस्था
नपामा कति अशक्त, एकल महिला, छाक टार्न समस्या भएका र मजदुर छन् भन्ने तथ्याकं छैन् । वडास्तर तथ्याकं संकलनको काम भइरहेको नपाले जनाएको छ । अहिलेसम्म राहत दिएको पनि एकिन तथ्याकं नपामा छैन् । ‘तथ्याकं संकलन गर्दै राहत दिदै गर्नुभएको छ वडाअध्यक्षहरुले मेयर अर्यालले भने छिट्टै एकिकृत तथ्याकं संकलनमा तीव्र रुपमा लागेका छौं ।’ वडास्तरमा राहत बाँड्ने काम भने भइरहेको उनले बताए ।

नगरपालिका छिर्ने क्रम रोकिएन

सरकारले एउटा स्थानीय निकायबाट अर्को स्थानीय निकायमा प्रवेश निषेध गरेको छ । कति स्थानीय निकायले त वडा वडामा समेत प्रवेश निषेध भनेर घोषणा गरेका छन् । तर पनि काठमाडौंबाट गाउँ फर्कनेको लर्को उतिकै छ । केही दिनअघि नपाको सीमानाका बाहुनेपाटीबाट ३० जना व्यक्ति आइपुगे । उनीहरुले नजिकबाटै आएको भनेतापनि उनीहरुको खुट्टा सुन्निएको थियो । त्यसैले सहजै अनुमान गर्न सकिन्थ्यो उनीहरु टाढाबाट आएका थिए । प्रहरीले सोधपुछ गर्दा उनीहरु काठमाडौबाट हिडेर आएको बताएका थिए ।

त्यसपछि डाक्टरसहितको टोली लगेर उनीहरुके स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणमा उनीहरुको स्वास्थ्य राम्रो भएकाले उनीहरुलाइ नपा प्रवेश गराइएको थियो । उनीहरु हेलम्बु गापाा, चौतारा साँगाचोकगढी नपा र एक जना भने मेलम्ची नपाको थिए । घर जानका लागि लुकी लुकी उनीहरु त्यहाँसम्म आएका थिए । मानिसहरु राति पनि काठमाडौंबाट फर्कने क्रम नरोकिएको मेयर अर्यालले बताए । राति राति काठमाडौंबाट फर्कनेहरु भने के कति फर्किए नपासँग कुनै तथ्याकं छैन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!