बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाचारहेलम्बु र इन्द्रावतीको गाउँ–गाउँमा डाक्टरद्वारा परीक्षण

हेलम्बु र इन्द्रावतीको गाउँ–गाउँमा डाक्टरद्वारा परीक्षण


चौतारा, २२ चैत ।
कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण फैलिन नदिन सिन्धुपाल्चोकको हेलम्बु र इन्द्रावती गाउँपालिकाका टोलमा डाक्टरले स्थानीयवासीको स्वास्थ्य परीक्षण गर्न थालेका छन् । पछिल्लो सातादेखि गाउँमा कोरोना भाइरस भित्रिन नदिन औषधिसहितका डाक्टरले गाउँवासीको स्वास्थ्य परीक्षा गर्न थालेका हुन् ।
विदेशबाट फर्केकाहरुमा कोरोना भाइरस संक्रमण हुन सक्ने सम्भावित खतरालाई गाउँमा फैलन नदिन दुई गाउँपालिकाले स्वास्थ्य सामग्रीसहित गाउँमा डाक्टर खटाएका हुन् । गाउँवासीको घरमै पुगेर डाक्टरले स्थानीयको ज्वरो, रुघालगायत परीक्षण गर्ने गरेका छन् । डाक्टरसँगै गाउँपालिका अध्यक्षसहित जनप्रतिनिधिसमेत गाउँ पसेर स्थानीयको स्वास्थ्य समस्याबारे जानकारी लिने गरेका हुन् ।
इन्द्रावतीमा चार दिनदेखि नवलपुर प्राथमिक अस्पतालका डा. धर्मेन्द्र झा खटिरहेका छन् । विशेषगरि विदेशबाट आएका र बृद्धबृद्धालाई स्वास्थ्य परीक्षण गर्ने गरिएको छ ।
अहिलेको मौसम रुघाखोकीको हो । मौसमी रुघाजस्तै कोरोनाको लक्षण पनि उस्तै भएकाले बेलैमा सचेतना अपनाइएको इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए । इन्द्रावती गाउँपालिकामा मात्रै विदेशबाट गाउँ फिरेका २४ जना छन् । विदेशबाट फिरेकासहित अन्य स्थानीयको स्वास्थ्य परीक्षण गरिएको उनले जानकारी दिए ।
तत्काल समस्या नदेखिएपनि विदेशबाट आएकाहरुलाई छुट्टै बस्न र छिमेकी तथा परिवारसँग सामाजिक दुरी कायम गर्न आग्रह गरिएको गाउँपालिका राष्ट्रिय महासंघका महासचिवसमेत रहेका इन्द्रावतीका अध्यक्ष तामाङ बताउँछन् । ‘हामीले उहाँहरुको नियमित निगरानीका साथै स्वास्थ्य परीक्षण गरिरहेका छौं ।’ उनले भने । इन्द्रावतीमा ६ बेडको आइसोलेसन निर्माण गरिएको छ । इन्द्रावतीसहित हेलम्बु, पाँचपोखरी थाङपाल र मेलम्ची नगरपालिकाले सामुहिक रुपमा मेलम्ची बजारमा क्वारेन्टाइन राखेको छ । त्यो क्षेत्रीय स्तरको क्वारेन्टाइन हो ।


लकडाउन अवधिभर गाउँवासीको स्वास्थ्य परीक्षण गर्ने अभियानमा रहेको हेलम्बु गाउँपालिकाले हालसम्म साढे तीन सयको स्वास्थ्य परीक्षण गरिसकेको छ । गाउँपालिकाले उपलब्ध गराएको औषधिसहित यहाँका दुई डाक्टर स्थानीयको स्वास्थ्य परीक्षणमा खटिएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए । ‘गाउँवासीमा संक्रमणको डर भएको अनुभव पायौं,’ उनी भन्छन्, ‘सुरक्षित रहेको आभाष दिलाउन र थप सुरक्षा सतर्कताका लागि डाक्टरलाई गाउँ पठाएर स्वास्थ्य परीक्षण थालेका हौं ।’
हेलम्बुमा पासाङछिरिङ लामा र कान्छाबाबु लामा खटिएका छन् । गाउँपालिकाको अनुरोधमा पासाङले नेपाल र कान्छाले बेलायतमा चिकित्साशास्त्र अध्ययन गरेका थिए । गाउँपालिकाको अनुरोधमा उनीहरु स्वयमसेवी बनेर गाउँ पसेका हुन् । उनीहरु दुवै हेलम्बु गाउँपालिकाकै स्थानीय भएको अध्यक्ष शेर्पाले जानकारी दिए ।
हेलम्बुमा मात्रै विदेशबाट फर्किएका १८ जना छन् । उनीहरुसहित छिमेकी र परिवारमा त्यस्तो कुनै लक्षण देखिएको छैन । ‘उनीहरु बिदेशबाट फर्केको दुई साता पूरा भइसकेको छ । स्वास्थ्यमा कुनै समस्या देखिएको छैन । नेपाल लकडाउन हुनुअघि उनीहरु भारत र खाडीमुलुकबाट फर्केका हुन् । स्वास्थ्य परीक्षण र औषधीको साथमा चिकित्सकको टोलीले साबुन, मास्क लगायत स्वास्थ्य सचेतनाका सामागं्री बाँड्दै कोरोना भाइरसबारे जनचेतनासमेत फैलाइ रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!