बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाचारकोरोना रोक्न यस्तो छ चौताराका मेयर अमानसिंको सक्रियता

कोरोना रोक्न यस्तो छ चौताराका मेयर अमानसिंको सक्रियता


किशोर बुढाथोकी

चौतारा, २२ चैत ।

कहिले गाउँमा मास्क बाँड्न त कहिले सचेतना फैलाउँदै घुमिरहेका अवस्थामा भेटिन्छन् चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङ । विश्वव्यापी रुपमा फैलिरहको कोरोना भाइरस (कोभिड १९) नगरपालिकामा फैलन नदिने अभियान अन्तर्गत पछिल्ला केही सातादेखि उनको दैनिकी फेरिएको छ । विदेशबाट आएकाहरुलाई क्वारेन्टाइनमा आएर बसिदिन अपिल गर्दै उनी कोरोनाबारे चेतना प्रवाह गर्द बिहानैदेखि गाउँ छिर्छन् । अहिले उनी क्वारेन्टाइन, आइसोलेसन निर्माण, विदेशबाट आएकाहरुको अभिलेखीकरण, स्वास्थ्य सामग्री वितरणमै दिन बिताउने गरेको बताउँछन् ।
सिन्धुपाल्चोकको सदरमुकाम चौतारासमेत रहेकाले चौतारा साँगाचोकगढी नगरपालिका जिल्लाको महत्वपूर्ण स्थानीय तहमा पर्छ । जिल्लाको मध्य क्षेत्रमा पर्ने यो नगरपालिका समुन्द्री सतहबाट ६१० मिटरदेखि २२५० मिटर उचईसम्म पर्ने भएकाले हिमाल, पहाड र तराईको हावापनी अनुभव गर्न सकिन्छ । जाडो या गर्मी दुवै मौसममा फैलन सक्ने रोग, संक्रमण यो नगरपालिकाका बासिन्दामा हुन सक्ने भएकाले पनि मेयर तामाङ केही चनाखो छन्, ‘बरु विकास पछि गर्ने हो, पहिला स्वास्थ्यको ख्याल गर्नुपर्छ,’ सबै जनता कोरोना संक्रमणको त्रासमा रहेका बेला स्वास्थ्य पहिलो प्राथमिकतामा रहेको जनाउँदै उनले भने, ‘ज्यान भए विकास गरौं, जीवनको सुरक्षा हुनुपर्छ ।’
कोरोना कहर भित्रनुअगावै मेयर अमानसिंले सबै नगरवासीलाई सचेत गराएका थिए । गाउँगाउँमा कोरोना सचेतनाबारे माइकिङ गरेर उनले संक्रमण फैलन नदिने अभियानको सुरुआती गरेका हुन् । लगत्तै नगरपालिकाभित्रै मास्क उत्पादन गरेर वितरणसमेत गरे । हरेक वडामा सेनिटाइजरको व्यवस्था यिनै मेर अमानसिंले गर्न भ्याए । उनका अनुसार यो नगरपालिकामा ५१ हजार जनसंख्या छ । सदरमुकाम भएकाले कर्मचारी, प्रहरी, सेना गरेर अर्काे दुई हजार थपिन्छन् । त्यसैले पनि उनले मास्क वितरणलाई तीव्रता दिएका हुन् । अहिले हरेक वडामा स्वयमसेविका तयार गरेर गाउँवासीलाई हात धुन सिकाउने, भीडभाड नगर्न लगाउने, भोजभतेरको आयोजना गर्न नलगाउने, जस्ता कोरोनाबारे चेतना प्रवाह गर्न खटाएका छन् ।
नगरभित्र रहेका १८ वटा स्वास्थ्य केन्द्र सबैमा उनले पीपीइ पुर्याइसके । आवश्यक स्वास्थ्य सामग्रीको जोहो पनि भइसकेको उनको दाबी छ । सेनालाई पनि पीपीइ दिइएको छ । संक्रमण नहोस् भन्ने हेतुल नगरपालिकाकै पहलमा क्षेत्रीयस्तरको क्वारेन्टाइन मेलचौरमा बनाइएको छ । जुन १४बेडको छ । अहिले त्यहाँ विदेशबाट आएका ५ जना बसिरहेका छन् । यो नगरपालिकामा बसोबास गर्नेहरु हालसम्मको तथ्यांकमा ४२ जना विदेश बसेर गाउँ फिरेका छन् । क्वारेन्टाइनमा बसेकालाई सबै सुविधा प्रदान गरेका छन् । फ्रि वाइफाई, सुरक्षित शौचालय, हेरचाह अनि खाना बनाइदिने मान्छेको समेत व्यवस्था उनले गरेका छन् । क्वारेन्टाइनलाई समय समयमा निगरानीसमेत गर्न उनी सक्रिय बनेका छन् । नगरभित्र जिल्ला अस्पतालमा ६ बेड र जिल्ला समन्वय समितिमा ४ बेडको आइसोलेसन कक्ष निर्माण भएको छ । वडा वडामा क्वारेन्टाइन भने अहिले नराखिएको उनले बताए । ‘धेरै ठाउँमा राख्दा सरकारले तोकेको मापदण्डअनुरुप बनाउन सकिदैन’ उनी भन्छन्, ‘सुरक्षाकर्मी, स्वास्थ्यकर्मी अनि स्वास्थ्य सामग्री पुग्दैन ।’ उनले पछि संक्रमित भेटिएको र आवश्यक परेको अवस्थामा वडाहरुमा पनि क्वारेन्टाइन र आइसोलसन कक्ष स्थापना गरिने सुनाए ।
भूकम्पपछिको पुनर्निर्माण होस् या अन्य कामका लागि बाहिरी जिल्लाबाट आएका मजद्रहरुलाई घर जाने चाहे फर्काउन सहयोग गर्ने उनको भनाई छ । बाहिरी जिल्लाबाट आएका मजदुरहरुको पनि अभिलेख जारी रहेको उनले बताए । यहीं रहन चाहनेलाई आवश्यक परे नगरपालिकाले राहत प्याकेजसमेत दिने मेयर तामाङ बताउँछन् ।
कुनै पनि बेला आपतकालीन बैठक बस्नुपर्ने या कतै संक्रमित भेटिने र गाउँवासीलाई केही वस्तु या सामग्री आवश्यक पर्न सक्ने सम्भावना भएकाले उले नगरभित्रका (सबै) १४ वटै वडाका अध्यक्षहरुलाई वडा नछाड्न निर्देशन दिएका छन् ।
संक्रमण फैलन नदिन नगरभित्रका प्रमुख चोकर नगर प्रवेश गर्ने नाकाहरुमा किटनाशक विषाधी छर्किएको छ । बिहानदेखि मेयर आफै सुरक्षित रुपमा विभिन्न गाउँ पुगेर जनताको स्वास्थ्यबारे जानकारी लिइरहेका पनि छन् । अहिले नगरपालिकाले कोरोना रोकथाम कोष खडा गरेको छ । चौतारामा रहेको नेपाल बैंक लिमिटेडमा रहेको खाता नं. ०५७००१०६४२०४११०००००१ मा जो कसैले पनि रकम जम्मा गर्न सकिने उनले जनाए । उनले सबै जतालाई आफू सुरक्षित रहन र घरभित्रै बस्न सुझाएका छन् ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!