शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाचारसिन्धुपाल्चोकका ३४ जना क्वारेन्टाइनमा, तीन जना आइशोलेसनमा

सिन्धुपाल्चोकका ३४ जना क्वारेन्टाइनमा, तीन जना आइशोलेसनमा


सिन्धुपाल्चोक । कोरोन भाइरस (कोभिड १९) को सम्भावित संक्रमण फैलिन नदिन सिन्धुपाल्चोकमा ३४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । जिल्लाका विभिन्न स्थानमा रहेका क्वारेन्टाइन वार्डमा उनीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको हो।

क्वारेन्टाइनमा राखिएकाहरु विदेशबाट फर्केका र विभिन्न जिल्लाबाट घर आएका श्रमिक रहेको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले बताए।

उनीहरुलाई दुई सातासम्म क्वारेन्टाइनमा राखिनेछ । विदेशबाट फर्केकालाई मात्र नभएर मुलुककै अन्य जिल्लाबाट घर आएका श्रमिकलाई पनि क्वारेन्टाइनमा राख्न सरकारको निर्देशन रहेको चापागाईँले जानकारी दिए।

स्वास्थ्य कार्यालयका अनुसार सुनकोसी गाउँपालिकास्थित ग्रामीण महिला सिर्जनशील परिवारको क्वारेन्टाइनमा सबैभन्दा बढी २४ जना राखिएको छ। उनीहरु विभिन्न जिल्लाबाट घर फर्केका श्रमिक हुन्।

त्यस्तै बलेफी गाउँपालिकाको जलवीरेस्थित क्वारेन्टाइनमा पाँच र चौतारा साँगाचोकगढी नगरपालिकास्थित मेलम्चौर क्वारेन्टइनमा अरु पाँच जनालाई निगरानीमा राखिएको छ।

उनीहरु विदेश र मुलुकका अन्य जिल्लाबाट फर्किएका हुन्। क्वारेन्टाइनमा उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको वरिष्ठ जनस्वास्थ्य अधिकृत चापागाईँले बताए।

जिल्लाको १२ मध्ये सात स्थानीय तहका विभिन्न स्थानमा दुई सय ४२ शैयाको क्वारेन्टाइन वार्ड सञ्चालनमा ल्याइएको छ। स्थानीय तहमार्फत संकलित प्रारम्भिक तथ्यांकअनुसार चीनको उहानमा कोरोना संक्रमण देखिएयता जिल्लामा विदेशबाट फर्कँनेको संख्या साढे दुई सय भन्दा बढी छ।

तथ्यांक संकलन भइरहेकाले यो संख्या बढ्ने स्थानीय प्रशासनले जनाएको छ। उनीहरु अधिकांश जनप्रतिनिधिको निगरानीमा सेल्फ क्वारेन्टाइनमा बसेका छन्। फ्रान्सबाट फर्किएकी दोस्रो कोरोना संक्रमित युवतीसँग एउटै बिमानमा आएका जिल्लाका तीन जना पनि सेल्फ क्वारेन्टाइनमा बसेका छन्।

आइसोलेसनमा तीन जना
कोरोना भाइरसको लक्षणसँग मिल्ने रुघाखोकी र ज्वरो देखिएपछि तीन बिरामीको आइसोलेसन वार्डमा उपचार भइरहेको छ। उनीहरुको बाह्रविसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको हो।

केन्द्रका डा. किशोर सुब्बाका अनुसार आइसोलेसन वार्डमा उपचाररतमा बाह्रविसे नगरपालिकाका २४ वर्षीय रोशन शेर्पा, रेनु बिक र उनकी बहिनी १४ वर्षीया सुष्मा बिक रहेका छन्। रोशन र रेनु बिदेशबाट फर्किएका हुन्। उनीहरुमा रुघाखोकी र उच्च ज्वरो देखिएको छ। रेनुको सम्पर्कमा रहेकाले बहिनी सुष्मालाई समेत आइसोलेसनमा भर्ना लिइएको डा. सुब्बाले बताए।

उनीहरुको स्वाब नमूना परीक्षणका लागि राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएको छ। ‘रिपोर्ट आइसकेको छैन। आउँन एक–दुई दिन लाग्ला,’ डा. सुब्बाले भने।

उनका अनुसार औषधि चलाइएकाले रोशन र रेनुको स्वास्थ्यमा केही सुधार देखिएको छ। रोशन बहराइन, ओमन हुँदै गत चैत १ गते नेपाल आएका थिए भने रेनु लेबनानबाट कतार ट्रान्जिट हुँदै चैत ४ गते आइपुगेकी थिइन्।

यसअघि केन्द्रकै आइसोलसनमा उपचार गरेर तीन जना घर फर्किसकेका छन्। रुघाखोकी र ज्वरो देखिएपछि आइसोलसनमा भर्ना भएका उनीहरु स्वाब परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका थिए। उनीहरुमध्ये एक विदेशबाट फर्किएकी महिला हुन्।

यो समेत जिल्लामा कोरोना संक्रमणको आशंकामा आइसोलेसनमा उपचार गराउनेको संख्या ६ पुगेको छ। स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका विभिन्न स्वास्थ्य संस्था र स्थानमा ४९ शैयाको आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!