लिसंखुपाखरमा १० लाखको राहत कोष, परामर्शका लागि हटलाइन सेवा

सिन्धुपाल्चोक । लिसंखुपाखर गाउँपालिकाले कोरोना भाइरस(कोभिड–१९) संक्रमण नियन्त्रण र रोकथामका लागि १० लाखको कोष खडा गरेको छ । कोषमा जनप्रतिनिधिले आफूले पाउने भत्ता र कर्मचारीले तलवको निश्चित प्रतिशत रकम जम्मा गरेका छन् । पालिकाले स्वास्थ्यकर्मीको मनोबल बढाउन प्रोत्साहन स्वरुप ६० प्रतिशत भत्ता दिने निर्णय गरेको छ ।
पालिकाले कोरोना नियन्त्रणको प्रयास स्वरुप १० बेडको क्वारेन्टाइन निर्माण गरेको छ । लिसंखु पाखरमा रहेको प्रहरी चौकीको नवनिर्मित भवनमा पाँच र स्वास्च्य चौकीमा पाँच बेडको क्वारेन्टाइन निर्माण गरिएको पालिकाका अध्यक्ष कमल नेपालले जानकारी दिए ।
गापाले खडा गरेको राहत कोषमा जनप्रतिनिधिहरुले स्वेच्छिक रुपमा १० देखि १५ हजार जम्मा गरेका छन् । पालिकाका कर्मचारीहरुबाट ५ देखि ७ दिनको तलब जम्मा गरिएको छ ।
प्रदेश तथा संघीय सरकारलाई पनि कोषमा सहयोग गर्न आग्रह गरेको नेपालले बताए । राहत प्याकेज अन्तर्गत स्वास्थ्य कर्मचारीलाई चैत र बैशाखको तलव स्केलमा ६० प्रतिशत भत्ता थप गरिनेछ । पालिकाभर ६ स्वास्थ्यचौकी र एक स्वास्थ्य क्लिनिक छ ।
‘जरो नाप्ने थर्माेगन नै छैन’
नेपालले गापाभरका सबै स्वास्थ्य दरबन्दीमा कर्मचारी अपुग रहेको बताए । स्वास्थ्य संस्थामा औषधि र स्वास्थ्य सामाग्री पर्याप्त भएता पनि ज्वरो नाप्ने थर्मोगनको अभाव छ । ‘
जताततै खोजिसक्यौं कतै पाएनौं त्यसैले थर्मोमिटर नै धेरै ल्याएर काम चलाइरहेका छौं’ उनले भने । थर्मोमिटरले ज्वरो नाप्दा स्वास्थ्यकर्मी र विरामी दुवैलाई संक्रमणको जोखिम रहन्छ । स्वास्थ्यकर्मीको सुरक्षाका लागि आवश्यक पीपीई पालिकाभर १५ वटा छ ।
केही ठाउँमा मास्क वितरण गरेको पनि देख्यौं तर हामीले मास्क वितरण गरेनौं नेपालले भने । मास्कको अभावका कारण मास्क वितरण नगरेपनि स्वास्थ्यचौकीमा चेकअप गर्न आउनेलाई भने मास्क लगाएर पठाउने गरेको उनले बताए ।
क्वारेन्टाइन अहिलेसम्म कोही बस्न नआएको उनले बताए । संक्रमण भइहाल्यो भने तत्काल व्यवस्थापनका लागि तयारी अवस्थामा केही क्वारेन्टाइन बेड निर्माण गरिएको छ । थप क्वारेन्टाइन आवश्यक पर्दा तत्काल क्वारेन्टाइन बनाउनकालागि केही विद्यालयहरुबारे अध्ययन गरिरहेका उनले बताए ।
हालसम्म गापाभर विदेशबाट १५ जना आएका छन् । उनीहरु आएदेखि नै घरमै क्वारेन्टाइनमा बसेका छन् । उनीहरुलाई १९ दिनसम्म स्वास्थ्यकर्मीले नियमित निगरानीमा राखेका थिए । गापाले मुख्य बजारमा किटनाशक औषधी छर्केको छ । डाँडापाखर देखि मुडेसम्म, लिसंखुलगायत मुख्य बजारमा औषधि छर्केको हो ।
सुझावका लागि हटलाइन
गापाले कोरोना भाइरस सम्बन्धी परामर्श तथा जानकारीका लागि मोबाइल हटलाइन नम्बर पनि सञ्चालनमा ल्याएको छ । ९८१०१८५३४२ मा सम्पर्क गरी परामर्श लिन सकिनेछ । त्यसैगरी पछिल्लो समय काठमाडौंबाट गाउँ आउनेको संख्या अत्यधिक बढेकोले त्यसको नियन्त्रणमा लागिरहेको उनले बताए । ठाउँ–ठाउँमा जम्मा भएर हो हल्ला गर्ने प्रवृत्ति बढेकोमा उनले चिन्ता व्यक्त गरे ।
राहतको तयारी
पालिकाले दैनिक काम गरेर खानुपर्ने मजदुर, विपन्न वर्ग, वृद्धवृदा, एकल महिला र अशक्तको खोजी थालेको छ । माथिको निर्देशन बमोजिम तिनीहरुको खोजी गरेर राहत उपलब्ध गराउन गापा तयारी अवस्थामा रहेको जानकारी उनले दिए ।
त्यस्ता व्यक्तिहरुको पहिचान गरि तथ्याकं संकलनका लागि ७ वटै वडाअध्यक्ष एवं सवै सदस्यलाई निर्देशन दिइसकेको उनले बताए । उक्त गापा लामोसा“घु–जिरी सडकको आसपास दोलखाको सीमा क्षेत्रमा रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस