अत्यावश्यक कामका लागि जिल्ला प्रशासन कार्यालयले जारी गरेको पासमा थप कडाइ

सिन्धुपाल्चोक । लकडाउनको समयमा अत्यावश्यक कामका लागि जिल्ला प्रशासन कार्यालयले जारी गरेको सवारी तथा व्यक्तिगत पासमा दुरुपयोग भएपछि थप कडाइ गरिएको छ।
आज सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले पासको माग अत्यधिक बढेसँगै संक्रमणको जोखिम समेत बढेकोले पासमा कडाइ गरेको जनाएको छ ।
एम्बुलेन्स, औषधी तथा औषधीजन्यवस्तु र स्वास्थ्य उपकरण बोकेका सवारी साधन तथा स्वास्थ्यकर्मीहरुले अनिवार्य परिचय पत्र बोक्नुपर्ने र उनीहरुलाई पास आवश्यक नभएको जिल्ला प्रशासन कार्यालयले जानकारी गराएको छ ।
त्यस्तै खाद्यान्न, तरकारी, दुध, फोहोर, पानीका ट्याङकर, इन्धन बोकेका गाडीलाई पनि पास आवश्यक नपर्ने भएको छ । तर ती गाडीले मानिस ओसार पसार गर्न भने पाइने छैन् ।
त्यसैगरी व्यक्तिगत समस्या, आफन्त बिमारी भएर कतै जान परे, काठमाडौं बस्न समस्या, आफन्त भेटघाटमा जान पर्ने भन्दै टेलिफोन तथा पत्राचार र इमेल नगर्न पनि प्रशासनले अनुरोध गरेको छ ।
तत्काल आकस्मिक मानवीय संकट, सिरियस बिमारी अस्पताल जानुपर्ने भएमा नजिकको सुरक्षा इकाइसँग समन्वय गर्न र आवश्यक परे सुरक्षाकर्मीले सहयोग गर्ने पनि सूचनामा जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस