Techie IT
Saturday, December 5,2020 / शनिबार, मंसीर २०, २०७७
×
गृहपृष्ठसमाचारजनताको सेवा गर्न कोरोनाले छेकेन हेलम्बुका अध्यक्षलाई

जनताको सेवा गर्न कोरोनाले छेकेन हेलम्बुका अध्यक्षलाई


दुर्गा आचार्य।

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोको दैनिकी बिहान ५ बजे बाटै सुरु हुन्छ । उनी ५ बजे उठ्छन् । आधा घण्टा ध्यान गर्छन् । आधा घण्टा योगा गर्छन् । तातो पानी र हट लेमन पिउँछन् । उनीलाई चिया कहिले मन परेन । उनी चिया अरुलाई पनि नखान भन्छन् । चियाले फाइदा नगर्ने ह्योल्मोको तर्क छ । बिहान ८ बजे उनी फ्रेस भइसक्छन् ।

अनि लाग्छन् नागरिकका समस्याहरु सुन्न गाउँतिर । यो उनको सधै जसोको दैनिकी हो । तर आजकाल उनको दौडधुप अलि बढेको छ । हुन् त लकडाउनको यो समयमा सारा देश नै घरमा छ । तीन करोड नेपालीको दैनिकी घरबाट सुरु हुन्छ र घरमा नै अन्त्य हुन्छ । कोरोना संक्रमण बाट कसरी गाउँपालिकालाई जोगाउने र लागि हालेमा के गर्ने भन्ने पुर्व तयारीमा उनी व्यस्त छन् । उनी जस्तै जिल्लाका थोरै पालिका अध्यक्षहरु अहिले व्यस्त छन् । तर धेरै क्वारेन्टाइनमा नै आफ्ना परिवारसँग बसिरहेका छन् ।

लकडाउनमा उनी पनि क्वारेन्टाइनमा बसिरहेका छन् कि के गर्दै छन् भनेर बुझ्न उनलाई मैले आइतबार साँझ फोन गरे । मैले साँढे साततिर फोन गर्दा उनी गाउँमा नै रहेछन् । उनलाई मैले घर फर्किसकेपछि मलाई फोन गर्नुस दाई भने । सोमबार राति अबेर फर्किएपछि उनले मलाई फोन गर्ने आँट गरेनछन् ।

मंगलबार बिहान उनले नित्यकर्म सिध्याएका मात्रै के थिए मैले आफै फोन गरे । यो आपतकालीन अवस्थामा गाउँपालिकामा के के काम भइरहेका छन् ? कोरोना भाइरस नियन्त्रण गर्ने कस्ता योजना छन् ? भनेर मलाई बुझ्नु थियो । तर उनी यति व्यस्त रहेछन् कि लकडाउन भएदेखि एकदिन पनि परिवारसँग बस्न पाएका रहेनछन् ।

बहिनी तपाइहरु क्वारेन्टाइनमा सुरक्षित हुनुहुन्छ म त सधै गाउँमा नै छु के पो हुने हो उनी अलि चिन्तित भए । मैले ढाडस दिँदै भने राम्रो कर्म गर्नेलाई राम्र्रै हुन्छ दाई आफ्नो ख्याल राख्नुस् ।

उनी म सँग कुरा गर्दा गर्दै गाउँ पुगिसकेका थिए । उनी एक दिनमा के के गर्दा रहेछन् मलाई जान्ने इच्छा लाग्यो । अन्य नेताहरु जस्तै चुनावमा भोट माग्ने अनि नागरिकलाई गाहृो पर्दा मुख लुकाएर हिड्ने धेरै नेतागण हाम्रा सामु छन् । अझ यस्तो लकडाउनको समयमा घरमा बस्ने हो जनताको घरमा जाने हैन भनेर मत विमत पनि देखिन्छ । तर असल नेताले गर्ने जनतालाई अप्ठेरो परेको अवस्थामा साथ, भरोसा, विश्वास दिने हो । जति सकिन्छ गर्ने नसकिएपनि म तिमीसँगै छु है भनेर सँगसँगै रहने हो । एकदिनमा उनी के के मा व्यस्त हुँन्छन् त ?

चैत १७ गते सोमबा बिहानको ८ नबज्दै उनीलाई मेलम्ची खानेपानी आयोजनामा काम गर्ने मजदुरको फोन आयो । उताबाट भने हामीलाई पास बनाएर घर पठाइदिनुहोस् । त्यसपछि उनी ती कामदारलाई घर पठाउन मजदुर संख्या, तिनीहरुको घर, नाम आदि संकलन गर्नै व्यस्त भए । तिनीहरुलाई घर पठाउन के के गर्न सकिन्छ, कहाँ भन्नुपर्ने त्यसको व्यवस्थापनमा उनी लागे ।

लकडाउनको यत्रो दिनसम्म मेलम्ची खानेपानी आयोजनामा काम गर्ने कामदारहरु अहिलेसम्म घर जान पाएका छैनन् । उनीहरुलाई अहिलेसम्म आयोजनाको काममा नै व्यस्त छन् । कोरोना संक्रमणको यो महामारीमा न उनीहरुलाई सुरक्षित रहने सामाग्री नै छन् । उनीहरु सामाजिक दुरीलाई बेवास्ता गर्दै काम गर्ने र बस्ने गर्दै आएका छन् ।

उनीहरुलाई लकडाउनभरि पनि काममा नै लगाउने आयोजनाले केही दिन अघि बताएको थियो । आफूहरु त्यहाँ सुरक्षित नभएकाले घर जान पाए हुन्थ्यो भन्ने लागेर उनीहरुले गाउँपालिका अध्यक्ष ह्योल्मोलाई गुहारेका थिए । आइतबार बिहान उनी आयोजना क्षेत्रमा गएर आयोजना प्रमुखसँग कुराकानी गरी मजदुरहरुलाई घर पठाउन सहमति गरेर आएका थिए ।

उनी एक घण्टासम्म यही व्यवस्थापनमा व्यस्त भए । सधै ९ देखि साँढे नौ बजे उनी खाना खाइसक्छन् । मंगलबार पनि साँढे नौ बजे उनले खाना खाए । खाना खादाँ खाँदै उनको मोबाइलमा फोन आयो हेलम्बु १ डोङ्दीङबाट । त्यहाँ दुईजना बिरामी रहेछन् । रुघाखोकी, ज्वरो आयो भने तुरुन्त सम्पर्क गर्नु भनेपछि गाउँपालिका भरिबाट उनलाई बिमारी भएकाको खबर आउँथ्यो । रुघाखोकी र ज्वरो आएका उनीहरुलाई स्वास्थ्यचौकी बोलाउनु उनलाई खतरा लाग्यो ।

अहिलेको भयावह अवस्था, विदेश र काठमाडौंबाट फर्कनेको गाउँमा लर्कोले कोरोना संक्रमणको अवस्था के हुने हो भन्ने चिन्ता उनीलाई सधै छ । त्यसैले उनी आफ्नो गाडीमा केही स्वास्थ्यकर्मी बोकेर डोङ्दीङ पुगे । त्यहाँ एक जना बिमारीसँग उनको भेट भयो । अर्कोसँग भएन । बिरामीलाई चेकजाँच गराएर औषधि दिइयो ।

विषम परिस्थितिमा स्वास्थ्यकर्मी गाउँमै देखेपछि चेकअफ गर्नेको भिड लाग्यो । गाउँका धेरैले ज्वरो र प्रेसर चेक गराए । चेकजाँचका क्रममा धेरैमा उच्च प्रेसर देखियो । उनीहरुलाई औषधि लेखेर खान भनियो । वृद्धवृद्धा र बालबालिकाको स्वास्थ्यमा लागि उनी एकदमै सचेत छन् । जहाँ जाँदा पनि तिनीहरुबारे उनी विषेश ख्याल राख्दछन् । त्यहाँ पनि बालबालिका र वृद्धवृद्धालाई रुघाखोकी अलि बढेको पाएपछि उनीहरुलाई मास्क र औषधी दिएर उनी लोक्पासी गाउँ पुगे ।

लोक्पासी पुग्दा तीन बजिसकेको थियो । हीमाली ठाउँ एउटा गाउँ देखि अर्को गाउँ पुग्न एक डेढघण्टा लागिहाल्छ उनी भन्दै थिए । लोक्पासीमा एकजना बिमारी सिकिस्त थिए । उनलाई भित्र दुखिरहेको थियो । आवश्यक स्वास्थ्य जाँचको उपकरण नभएपछि बिमारीको भनाइ अनुसार स्वास्थ्यकर्मीले एपेन्डिक्सको शंका गरे । उनीलाई तुरुन्त एम्बुलेन्स बोलाएर धुलिखेल अस्पताल पठाइयो । मंगलबार बिहान फोनमा कुरा हुँदा ती बिमारी ठिक रहेको र उनको रिपोर्टहरु आउन बाँकी रहेको ह्योल्मोले बताए ।

त्यसपछि अध्यक्ष ह्योल्मो ठूलोढुगां बिमारी चेकअफको लागि स्वास्थ्यकर्मीको टोली सहित पुगे । गाउँमा फ्लु ( रुघाखोकी, ज्वरो) एकदम बढेको छ । ‘ल अध्यक्ष ज्यु आउनुपर्यो भन्छन’ उनले हाँस्दै भने । त्यहाँ केही बिमारीलाई चेकअप पछि उनी हेलम्बु स्थित आफ्नो घर तरतोङ्ग पुगे । घर पुग्दा साँझको ७ बजिसकेको थियो । त्यहाँ स्वास्थ्यकर्मीसहित उनले खाना खाए । एक घण्टा जति बसेपछि साँझ ८ बजे उनी गाउँपालिका कार्यालय किउल फर्किए ।

कार्यालयमा पुग्दा रातिको नौ बजिसकेको थियो । आएपछि दिनभर के भयो यसो समाचार हेर्दै भोलिपल्टको कार्यक्रमहरुबारे पुर्व तयारी गर्दै राति १० बजे उनी सुते । उनलाई आजकाल धेरै थाकेको अनुभव हुन्छ । निद्रा नपुगेको जस्तोपनि लाग्छ । त्यसैले राति जतिसक्दोे चाँडै सुत्छु उनले भने । पालिकाबाट घर आउन जान १ देखि डेढघण्टा लाग्छ । त्यसैले उनी सधै गाउँपालिकामा नै बस्छन् ।

कुराकानीको अन्तमा मैले गाउँपालिकाको के तयारी छ नियन्त्रणका लागि भनेर सोधे ? गाउँपालिकामा तीन सय ५ वटा क्वारेन्टाइन छ । क्वारेन्टाइन प्रत्येक गाउँपालिकामा बनाएको उनले बताए । क्वारेन्टाइन टाढा हुँदा एउटा गाउँबाट अर्को गाउँ पुग्दा कोरोना भाइरसको संक्रमण सर्ने डर हुन्छ त्यसैले प्रत्येक गाउँमा क्वारेन्टाइन स्थापना गरेको उनको तर्क छ ।

क्वारेन्टाइन निर्माणमा भन्दा पनि आइशोलेशन निर्माणमा खाश जोड दिनुपर्ने उनी बताउँछन् । संक्रमण भइहाले क्वारेन्टाइनमा राखेर हुन्न आइशोलेशन नै चाहिन्छ । जिल्लामा निर्माण हुने सिमित आइशोलेशनले संक्रमण भएमा थेग्न गाहृो हुने उनको बुझाइ छ । उनले गाउँपालिकामै निर्माण गरेका माक्स र साबुनहरु गाउँ गाउँ पुर्‍याइसकेका छन् । जनचेतना जोगाउन उनी प्राय गाउँमा नै पुगिरहेका हुन्छन् ।

विदेशबाट आएका १८ जना सेल्फ क्वारेन्टाइनमा छन् । उनीहरुलाई स्वास्थ्यकर्मी र स्थानीय जनप्रतिनिधिको निगरानीमा राखिएको उनले बताए । बिदा हुँदै कोरोनाको खतरा तँपाइलाइ नि होला नि दाई ख्याल गर्नु भन्ने प्रश्नमा एकछिन चुप लागेर उनी बोले ‘एकदिन पालिका छाडेर कतै गए कहाँ गयो अध्यक्षज्यू भन्दै खोज्न आउँछन्’ मेरो जीवन यहाँकै जनताको लागि हो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस