सलाम नेपाल प्रहरी !

चौतारा, १६ चैत ।
अहिले तपाईं सिन्धुपाल्चोकको सदरमुकाम चौतारा या अन्य कुनै व्यापारिक बजारमा खुलेआम हिँड्नुस् । तपाईंलाई सोधखोज गर्न ड्युटीमा रहेका प्रहरी आइपुग्छन् अनि भन्छन्, ‘तपाई कहाँ जान लाग्नु भएको ?, यसरी बाहिर नहिँड्नुस्, घरमै बस्नुस् ।’
त्यतिबेला तपाईंलाई लाग्नसक्छ ‘यो पुलिसलाई म जहाँ हिँडे पनि के मतलब !, आफ्नै बजारमा हिँड्न पनि नपाउने ।’ प्रहरीले अहिले जताततै स्थानीयलाई बजारमा हिँड्न दिएको छैन । स्थानीयलाई घरमै बस्न आग्रह उनीहरुले त्यत्तिकै गरेका होइनन् । उनीहरुको आग्रह प्रहरीका लागि नभई आम सर्वसाधारणको सुरक्षाको लागि हो । अहिले लकडाउनको अवस्था भएकाले प्रहरीले सर्वसाधारणलाई बाहिर ननिस्कन अनुरोध गरेको छ ।
विश्वभर संक्रमण भइरहेको कोरोना भाइरस (कोभिड १९) फैलन नदिन प्रहरीहरु चैतको प्रचण्ड गर्मी नभनी जनताकै सुरक्षाका लागि अहिले खटिरहेका छन् । प्रहरीको बढ्दो सक्रियताप्रति अहिले जिल्लैभर स्थानीय खुशीसमेत छन् । त्यसैले जनताहरु प्रहरीको ड्युटीलाई सहयोग पनि गरिरहेका छन् । चैत्को धुपमा जनताको सेवामा खटिएका प्रहरीलाई विभिन्न बजारमा जुस, पानी, खाजा दिएर हौसला पनि दिइरहेको उदाहरण धेरै छ ।
कोरोना भाइरसको संक्रमण फैलन नदिनकै लागि सडकमा खटिएका प्रहरीलाई सहयोग गर्दै उनीहरुलाई गर्मीमा केही सहज होसु भन्ने हेतुले चिसो पानी, जुस, खाजा दिएर सहयोग गरेको चौताराका स्थानीयवासी बताउँछन् । जनताको सुरक्षाका लागि आफ्नो ज्यानकै माया मारेर प्रह्री सक्रियता बढेकाले मानवीय रुपमा सहयोग गरिएको स्थानीय बताउँछन् । प्रहरीलाई चौतारास्थित प्रेस चोकमा रहेका व्यापारीहरुले पानी, मास्कलगायत सामग्री दिएका थिए । त्यस्तै जिल्लामा रहेको तोप २१ समूहले पनि प्रहरीलाई आवश्यक सामग्री प्रदान गरेको थियो ।
अहिले जिल्लाका प्रमुख बजार मात्रै नभई गाउँमा पनि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्ले बताउँछन् । ‘कोरोना भाइरसको संक्रमण फैलन नदिन हामीले सर्वसाधारणलाई घरमै सुरक्षित रुपमा बस्न आग्रह गरेका छौं,’ डिएसपी काफ्लेले सिन्धुखबरलाई भने, ‘सडकमा हामी छौं, हामी तपाईहरुको सेवा गर्छाै तपाईंहरु घरमै बसिदिनुहोस् भन्ने गरेका छौं ।’
प्रहरीले अहिले सुरक्षाका लागि माइकिड, चेतनामूलक पर्चा वितरण गरिरहेको छ ।
तस्वीर फेसबुकबाट साभार गरिएको हो । (सं)
क्याटेगोरी : समाचार, समाज
तपाईको प्रतिक्रिया दिनुहोस