भोटेकोशी गाउँपालिकाले नौ वटा आइशोलेशन बेड निर्माण गर्ने

सिन्धुपाल्चोक । भोटेकोशी गाउँपालिकामा नौ वटा आइशोलेशन बेड निर्माण गर्ने जनाएको छ । भोटेकोशी गाउँपालिकाको आज बसेको बैठकले गाउँपालिकामा कोरोना संक्रमित शंकास्पद व्यक्तिहरुको लागि नौ वटा आइशोलेशन बेड निर्माण गर्ने गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।
आइशोलेशन बेड निर्माणका लागि सम्पुर्ण सामाग्री तयारी अवस्थामा छ भोलि (आइतबार) सम्म त्यसलाई व्यवस्थित गर्ने उनले बताए । पालिकाले पालिका छिर्ने सखुवा बजार र लिपिङ बजारमा अन्तराष्ट्रिय मापदण्डको हेल्थ डेस्क राख्ने जनाएको छ ।
पालिकाले लिपिङ र सखुवामा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्ड अनुसारको हेल्थ डेस्क आइतबारबाट सञ्चालनमा ल्याउन लागेको हो । आइशोलेशन वेड निर्माण र चेकजाँचका लागि आवश्यक सामाग्री पालिका आफैले जोहो गरेको हो ।
पालिका छिर्ने जो कोहीको चेकजाँजका क्रममा स्वास्थ्यमा कुनै समस्या देखिए आइशोलेशनमा राख्ने र सुधार नदेखिए तत्काल धुलिखेल रिफर गर्ने अध्यक्ष पौडेलले बताए । साथै पालिकामा विदेशबाट आएका व्यक्तिहरुको लगत संकलन गर्ने काम पनि भईरहेको उनले जानकारी दिए ।
वडा अध्यक्षहरुलाई प्रत्येक वडामा को विदेशबाट आएको छ त्यसको लगत संकलन गर्न भनेको छौ छिट्टै त्यसको पुर्ण विवरण आउछ, उनले भने । वडा अध्यक्ष, सदस्यहरु र सचिवहरुलाई परिचालन गरी गाउँ गाउँमा जनचेतना फैलाउने काम भइरहेको पनि अध्यक्ष पौडेलले जानकारी दिए ।
यसैगरी तातोपानी नाका तत्काल सञ्चालनमा नआउने अध्यक्ष पौडेलले बताएका छन् । मेडिकल सामाग्रीहरुलाई आयात गर्न नरोकिने तर अन्य सामाग्री आयात निर्यात नगर्ने उनले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस