कार्यालय छाडेर घर हिँडेका १५ सरकारी कर्मचारी छड्केमा

चौतारा, ७ चैत ।
शुक्रबार कार्यालयको नियमित काम छाडेर राजधानी अथवा घर हिँडेका सिन्धुपाल्चोकका १५ सरकारी कर्मचारी छड्केमा परेका छन् । काम नगरी कार्यालय समयमै घर हिँडेका कर्मचारीहरु काभ्रे र सिन्धुपाल्चोकको सीमा गाउँ बनदेउमा छड्केमा परेका हुन् ।
शुक्रबार कार्यालयमा कर्मचारी नबस्ने हुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको गुनासो बढेपछि काम छाडेर हिडेका कर्मचारीमाथि छड्के अनुगमन गरिएको हो । आज जिल्ला समन्वय समिति र चौतारा साँगाचोकगढी नगरपालिकाले गरेको छड्के अनुगमनमा कार्यालय प्रमुखसहित १५ कर्मचारी छड्केमा परेका हुन् ।
बन्देउमा अनुगमनका क्रममा पुगेको टोलीले सरकारी नम्बर प्लेट प्रयोग भएका साधनलाई रोक्दै सोधपुछ गरेको थियो । विहान ११ बजेबाट ३ बजेसम्म १० कार्यालयका साधनमा समय अगावै कर्मचारी कार्यालय छोडेर हिडेको पाईएको नगर प्रमुख अमान सिं तामाङले जानकारी दिए ।
छड्के अनुगमन गर्दा कार्यालय समय अघि खाद्य तथा पोषण आयोजना कार्यान्वयन ईकाइका प्रमुख राजेसकुमार केसी सहित चार जना कर्मचारी विहान ११ बजे बन्देउमा छड्केमा परेका हुन् । सोधपुछका क्रममा अनुगमन टोलीलाई बैठकको लागि हरिहरभवन जान लागेको कर्मचारीले बताएका थिए ।
यस्तै आलु बाली विकास केन्द्र निगालेका प्रमुख हरिन्द्रप्रसाद भगतलाई १२ बजेर ४० मिनेट जाँदा बन्देउमा भेटिए । किर्तिपुरको केन्द्रिय कार्यालय बैठकमा जान लागेको बताएको नगरप्रमुख अमानसिंले बताए ।
खानेपानी डिभिजन कार्यालयका ओमहरी तामाङ सहित २ जना कर्मचारीलाई १२ः५० को समयमा छड्केमा परे । उनीहरुले पनि डिभिजन कार्यालयकै काममा हिडेको प्रतिक्रिया दिए । उनीहरुसहित चौतारा साँगाचोकगढी नगरपालिकाका ८ वडा कार्यालय, सुनकोशी गाउँपालिका, दक्षिणकाली नगरपालिकाकी उप मेयर बसन्ती डंगोलसहितका कर्मचारीहरु छड्के अनुगमनमा परेका हुन् ।
सार्वजनिक विदा बाहेक अरु दिन विहान १० बजेदेखि ५ बजेसम्म र सुक्रबार ३ बजेसम्म कर्मचारी कार्यालयमा बस्नुपर्ने हुन्छ । तर शुक्रबार आउना साथ कर्मचारी हाजिर गर्दै हिड्दै गर्दा कर्मचारीका कुर्सी खाली देखिन्छ । शुक्रबार हिँडेका कर्मचारी आइतबारसमेत ढिला आउने गरेपछि कार्यालयमा सेवाप्रवाह खस्किने गरेको छ ।
क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस