Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठसमाचार५ वर्षमा पनि बनेन लामोसाँघु–जिरी सडक

५ वर्षमा पनि बनेन लामोसाँघु–जिरी सडक


किशोर बुढाथोकी
चौतारा, १४ फागुन
दुई वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखेर पाँच वर्ष अघि सम्झौता गर्दै सुरु गरिएको लामोसाँघु–जिरी सडकखण्ड स्तरोन्नतिको कार्य प्रगति बल्ल ६० प्रतिशत पुुगेको छ । सिन्धुपाल्चोक, दोलखा, रामेछापको महत्वपूर्ण लाइफलाइन मानिएको यो सडक खण्ड ठेकेदार कम्पनीको लापरवाहीका कारण पाँच वर्षदेखि अलपत्र परेको हो ।
भारतीय एक्जिम बैंकको झण्डै एक अर्ब २४ करोड ऋण लगानीमा स्तरोन्नति भइरहेको लामोसाँघु जिरी सडक खण्डको खाडीचौरदेखि चरीकोटसम्म दुई खण्डमा विभाजन गरी ठेक्का सम्झौता भएको थियो । ३० किलोमिटर दुरी रहेको सिन्धुपाल्चोकको मुडेदेखि जिरीसम्म १६ किलोमिटर कालोपत्रे भइसकेको छ । उता ३० किलोमिटर लामो दुरी रहेको मुडेबाट जिरीसम्मको सडक अझै ग्राभेलमै अल्झिएको लामोसाँघु–तामाकोशी जिरी सडक योजनाका योजना प्रमुख दिप बाराहीले जानकारी दिए । बल्ल १५ किलोमिटर ग्राभेल गरिएको यो सडकको कार्य प्रगति ६० प्रतिशत र खाडीचौर–मुडे खण्डको ८० प्रतिशत बढी कार्यप्रगति रहेको उनले दाबी गरे ।
खाडीचौर–मुडे सडकको काम अहिले गौरी पार्वती निर्माण सेवाले गरिरहेको छ । त्यस्तै मुडे–जिरी खण्ड अन्तर्गतको काम सुनौलो खिम्तीले गरिरहेके छ । केही दिनदेखि काम ठप्प भएपछि मुडे–जिरी खण्डको काम दुई दिनअघिदेखि सूचारु भएको कार्यालयका योजना प्रमुख बाराही बताउँछन् । ‘पहिलो खण्डको काम आउँदो असारमै सम्पन्न हुनेछ,’ उनको दाबी छ, ‘काम तीव्र रुपमा गराउन हामीले निर्देशन दिएका छौं, प्राविधिक रुपमा अवलोकनसमेत भइरहेको छ ।’ मुडेदेखि जिरीसम्मको कामका ढिलाई भएको उनले स्वीकार गरे । यो सडकखण्डको कामका लागि एक वर्ष समयसीमा तोकिएको छ । काम समयमै सम्पन्न गर्न नसकेर पेनाल्टी तिरेको ठेकेदार कम्पनीले अबको वर्षदिनमा नसके ठेक्का तोड्नुको अर्काे विकल्प नहुने योजना प्रमुख दिपको भनाई छ ।
एक्जिम बैंकको आर्थिक सहयोगमा लामोसाँघु जिरी सडकको ठेक्का सम्झौता गरेको पाँच वर्ष बितिसक्दा पनि ठेकेदार कम्पनीले सडक निर्माणमा चासो दिएको छैन । सडक निर्माणाधिन हुँदा बर्खामा हिलो र हिउँदमा धुलो खेप्न स्थानीय र यात्रु बाध्य बनेका छन् । पहिलो खण्डको जिम्मा भारतीय कम्पनी सिमाञ्चल र नेपाली कम्पनीहरु सुनौला खिम्ती र गौरी पार्वती निर्माण सेवाले संयुक्त उपक्रममा ठेक्का पाएका थिए । तर सुनौला खिम्तीका सञ्चालक कर छली सम्बन्धी मुद्दामा तानिएपछि अलपत्र परेको यो सडकमा अर्को साझेदार गौरीपार्वती निर्माण सेवाले काम गरिरहेको छ ।
सडक निर्माणको काम सम्पन्न गर्न दोलखा जिल्लाका स्थानीय, नागरिक समाजका अगुवा, व्यवसायीहरुले निरन्तर दबाबमूलक कार्यक्रम गरिरहेका छन् । काममा ढिलासुस्ती भएको भन्दै सामाजिक अगुवाको अभियन्तामा विभिन्न दबाबमूलक कार्यक्रम गरिए पनि सडकको कामले गति लिन सकेको छैन । चाँडै काम सम्पन्न गराउनका लागि स्थानीय अगुवाको संयोजकत्वमा संघर्ष समिति निर्माण गरि दबाबमूलक कार्यक्रम पनि समितिले सार्वजनिक गरेको छ । यसअघि चरिकोट–खाडीचौर सडकमा ढिलाई गर्ने ठेकेदार कम्पनीले दुई तर्फी काम सुरु गरेर पुस महिना भित्र ग्राभेल बिच्छ्याई सक्ने सहमति भएपनि सो काम पूरा हुन नसकेको संघर्ष समितिको भनाई छ ।
५ बर्षदेखि अलपत्र परेको चरिकोट–खाडीचौर सडकमा ठेकेदारको ढिलासुस्ती र लापरवाहीविरुद्ध जिल्लामा नागरिक आन्दोलन चर्किएपछि ठेकेदार कम्पनी, सडक विस्तार आयोजना र नागरिक आन्दोलनका अभियान्ताबीच सिन्धुपाल्चोकको मुडेमा बार्ता भएको थियो । वार्तामा दुवै तर्फबाट काम सुरु गरेर पुस महिना भित्र ग्राभेल बिच्छ्याई सक्ने र जाडोयाम सकिएलगतै फागुनबाट कालोपत्रे सुरु गर्ने सहमति भएको संघर्ष समितिका सचिव गोकर्ण भण्डारीले जानकारी दिए । सहमति अनुसारका काम नभएको हुँदा आन्दोलनका कार्यक्रम राखिएको उनको भनई छ । ठेकेदारको ढिलासुस्ती र लापरवाहीका कारण सडक अलपत्र परेपछि दोलखावासीले कात्तिकदेखि आन्दोलन चर्काउदै आएका छन् ।
कारोबार दैनिकबाट


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस