मेटिन थाले पर्यटकीय पदमार्ग

चौतारा, २७ माघ ।
जिल्लाका उच्च हिमाली भेगमा रहेका पर्यटकीयस्थल पुग्ने पदमार्ग मेटिदै गएका छन् । पर्यटकीय गन्तब्यमा पुगिने मार्गमा सुरक्षा निकाय नहुँदा पर्यटक घटेपछि पदमार्ग मेटिन थालेको हो । प्रमुख पर्यटकीयस्थल पाँचपोखरी, भैरवकुण्डलगायतका स्थान जाने पदमार्ग असुरक्षाकै कारण प्रयोगविहीन बनेको छ ।
जिल्लाका उच्च हिमाली भेगमा रहेका पर्यटकीयस्थल पुग्ने रुटमा सुरक्षा निकाय नहुँदा पर्यटक घटेका छन् । मध्य पहाडी मार्ग हुँदै पुगिने पर्यटकीय स्थलमा सुरक्षाको प्रत्याभूति नहुँदा गन्तब्यसम्म आन्तरिक तथा बाह्य पर्यटक पुग्न नसकेका हुन् ।
जिल्लाको प्रख्यात पाँचपोखरी, भैरवकुण्डलगायतका ठाउँमा जाने पदमार्गमा सुरक्षा पुगेको छैन । पहिलाको तुलनामा सिजनबाहेक पाँचपोखरी, भैरवकुण्डलगायत हिमाली क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या ह्वात्तै घटेको स्थानीयको भनाई छ ।
प्रसिद्ध पाँचपोखरी जानका लागि मेलम्चीबाट थाङ्पालकोट–धाप हुँदै भोताङ पुगिने पदमार्ग छ । भोताङ गाउँबाट माथि लागेपछि कुनै पनि स्थानमा प्रहरीको पहुँच पुग्न सकेको छैन । भोताङका काले लामाका अनुसार सशस्त्र द्वन्द्वपछि यो मार्ग हुँदै पाँचपोखरी पुग्ने पर्यटकहरु झण्डै शतप्रतिशतले घटेका छन् । उनकाअनुसार गुराँस फुल्ने र हिमाल खुल्ने मौसममा दिनहुँजसो यो मार्ग भई पाँचपोखरी जाने पर्यटकहरु ५÷७ वटाको समूह हुने गर्दथ्यो । अहिले एउटा समूह पनि नहुने गरेको उनको भनाई छ ।
हिमाली मार्ग भई पर्यटकीय गन्तब्यसम्म पुग्ने स्थानमा सुरक्षा नहुने भएकाले पर्यटक नआएको स्थानीय कालेको अनुमान छ । ‘गाउँ सकिएपछि आपराधिक गतिविधिमा संलग्नहरुको समूह बसेका हुन सक्छन्,’ उनले भने, ‘आफू असुरक्षित हुने भएपछि यो मार्गमा अहिले पर्यटकको संख्या लगभग शून्य जस्तै छ ।’ लामाकाअनुसार पहिला यो मार्गमा रहेका होटलहरुसमेत भरिभराउ हुने गर्दथे ।
मध्य पहाडी मार्गमा प्रहरी चौकी नहुँदा यो भेगमात्र नभई जिल्लाभर समस्या उस्तै छ । सदरमुकाम चौताराबाट पाँचपोखरी जाने रुटमा कतै पनि सुरक्षा निकायको पहुँच पुग्न सकेको छैन । स्याउले–ओखरेनी–फुस्रे–च्योच्यो डाँडा यो मार्गका प्रमुख पर्यटकीयस्थल हुन् । सुरक्षाकै कारण यो ठाउँमासमेत पर्यटकको संख्या घट्दो क्रममा रहेको स्थानीय बताउँछन् । च्योच्यो डाँडाबाट रातिको समयमा राजधानीको झिलीमिलीको दृष्यसमेत स्पष्ट देख्न सकिन्छ । यो मार्गमा आपराधिक घटना हुने सम्भावना बढि भएकाले पदयात्रामा आउने पर्यटकको संख्यामा कमी आएको स्थानीय कर्साङ लामाले बताए ।
उता जलवीर हुँदै भैरवकुण्ड जाने पदमार्गसमेत धमिल्लिएको छ । यो बाटोमा पर्यटकको संख्या अहिले शून्य छ । ‘पहिला–पहिला विदेशी पर्यटकसमेत यो बाटोबाट बाक्लै भैरवकुण्ड जान्थे,’ जलवीरका हरि श्रेष्ठले भने, ‘अहिले विदेशीको अनुहार देखिदैन, उनीहरु यो मार्गबाट भैरवकुण्ड जानै छाडेका छन् ।’ उनकाअनुसार जलवीर हुँदै भैरवकुण्ड पुगिएने बाटो अहिले पाखोजस्तो बनेको छ । ‘अब यो बाटो हुँदै भैरवकुण्ड जान चाहे बाटो हराउन सक्छ ।’ उनले भने ।
क्याटेगोरी : पर्यटन, समाचार
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस