Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठराजनीतिबाह्रविसे घटना : पीडित र नगरपालिकाको आ–आफ्नै दावी

बाह्रविसे घटना : पीडित र नगरपालिकाको आ–आफ्नै दावी


बाह्रविसे । ५ पुस ।
बाह्रविसे नगरपालिका वडा नं ४ स्थित बजारमा सडक अतिक्रमण गरी निर्माण गरिएका घर टहराहरु भत्काउन सुरु गरेपछि भएको विरोधमा पीडित पक्ष र नगरपालिकाको आफ्नै दाबी प्रस्तुत गरेका छन् । दुवै पक्षले आज छुट्टाछ्ट्टै पत्रकार सम्मेलन गरेका दाबी प्रस्तुत गरेका हुन् ।
शनिबार बजार क्षेत्रमा नारा जुलुस गरी नगरपालिकाको कार्यालयमा तालाबन्दी एवं केही गमला समेत तोडफोड भएको थियो ।
नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा मेयर निमफुन्जो शेर्पाले २०३४ सालमै कायम गरीएको सडक मापदण्ड मिच्दै बनाइएका टहराहरु भत्काइएको बताए । पटकपटक सुचना गर्दा समेत स्थानीयले बेवास्ता गरेको कारण आफुहरु बाध्य भएर भत्काउनु परेको उनले बताए । नगर कार्यपालिकाको निर्णय अनुसार नै यस्तो कदम लिइएको उनले बताए । बाह्रविसे बजारलाई सुन्दर र व्यवस्थीत पार्न आफुहरु कुनै पनि सम्झौता नगर्ने र बजार व्यवस्थीत बनाइछाड्ने उनले बताए ।
उता असन्तुष्ठ पक्षले पनि पत्रकार सम्मेलन गर्र्दै नगरपालिकाले स्थानीयसँग कुनै छलफल नै नगरी टहरा भत्काउन थालेको आरोप लगाएको छ । स्थानीय सरोकार समितिका संयोजक समेत रहेका बाह्रविसे –४ का वडाध्यक्ष ज्ञानेन्द्र प्रसाद श्रेष्ठले टहराको कुनै परिभाषा नै नगरी मनलाग्दी ढंगले राजनितीक पुर्वाग्रहको आरोपमा गरिबको टहरो भत्काइएको बताए । नेपाली काँग्रेसका नेता हरिशरण श्रेष्ठले काँग्रेसको टहरो मात्रै छानेर भत्काएको आरोप लगाए । सडकबाट निश्चत मापदण्ड नतोकी कसैको धेरै र कसैको थोरै क्षती हुनेगरी टहरा भत्काइएको आरोप उनले लगाए ।
आज हुलदङ्गा र अशान्ति हुन सक्ने सम्भावना देखिएकोले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को (३.क) बमोजिम निशेधाज्ञा जारी गरिएको जिल्ला प्रहरी प्रमुख एसपी प्रज्ववल महर्जनले जानकारी दिए । उनकाअनुसार आज विहान ८ बजेबाट बेलुकी ५ बजेसम्मका लागि अर्को व्यवस्था नभए सम्मका लागि देहायका चार किल्ला भित्र हुलदङ्गा वा अशान्ति गर्ने उदेश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस भेला जम्मा हुन नपाउने गरी आदेश जारी गरिएको थियो । बाह्रविसे बजारमा सयौं सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
बाह्रविसे बजारबाट पूर्वमा ३०० मिट, पश्चिममा, भोटेकोशी खोला, उत्तरमा ईलाका प्रहरी कार्यालय, बाह्रविसे न.पा. ४ र दक्षिणमा बाह्रविसे बजारबाट पिस्कररक्षमादेवी जानेबाटोको सुनकोशी चोक सम्म निशेधाज्ञा जारी गरिएको थियो ।


क्याटेगोरी : राजनीति, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!